काठमाडौं, २१ फागुन । चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर त्रास छ । कोरोनाकै त्रासका कारण काठमाडौंमा समेत सर्वसाधरण घर बाहिर निष्कन मुस्किल मान्न थालेका छन् । कोरोनाबाट बाँच्नका लागि मास्क अनिवार्य लगाउनु पर्ने भएपछि सर्वसाधरणले बजारमा बजारमा चौतर्फी मास्क खोजे । तर, बजारमा कृतिम अभाव श्रजना गरी मौकाको फाइदा उठाउन पल्केका केही व्यापारीले कालो बजारी नै गरेको पाइएको छ ।
मास्कमा कालोबजारी भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परे पनि विभागले सोमबारदेखि नै अनुगमन थालेको हो । कोरोना भाइरसको त्रासले औषधि पसलहरु तथा सर्जिकल फर्महरुले मास्क लुकाउन थालेको र मूल्यसमेत बढी लिइएको पाइएपछि केही सर्जिकल हाउसहरु कारबाहीमा समेत परेका छन् ।
विभागका अनुसार क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सले कोरोना भाइरसको त्रासमा कालोबजारी गरेको खुलेको छ । उक्त सप्लायर्सलाई विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त सर्जिकलमाथि उपभोक्ता संरक्षण ऐनको दफा ३८ को उपदफा १ को (ख) अनुसारको कसुर गरेकाले गरेको विभागले जनाएको छ । सर्जिकल सामानमा कालोबजारी गरेको विभागको ठहर छ ।
नेपाल केयर सर्जिकल सप्लायर्सका प्रबन्ध निर्देशक धिरेन्द्र कुमार यादवले भने आफूहरुले एयर मेटर्समा २० प्रतिशत भन्दा बढी मूल्य लिएको बिलका कारण मंगलबार कारबाही परेको स्विकारे । ‘हामीलाई एक हप्ता भित्र २ लाख जरिवाना तिर्न भनिएको छ । मार्क्सको कालोबजारी गरेको होइन,’ उनले भने ।
त्यस्तै विभागले क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्न सर्जिकल पसलललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त पसलले पनि खरिद बिल देखाउन नसकेको पाइएको छ । विभागले त्रिपुरेश्वर क्षेत्रका सर्जिकल पसलहरुमा समेत अनुगमन गरेको छ । त्रिपुरेश्वर क्षेत्रका अधिकांश व्यापारीले सर्जिकल सामाग्रीमा कालोबजारी गरेको बताइएको छ ।
विभागले त्रिपुरेश्वरस्थित खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल सप्लायर्स र फिसटेल सर्जिकल सप्लायर्सलाई विभागले पाँच हजार रुपैयाँका दरले जरिवाना गरेको बताइएको छ ।