हवाना, १६ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युबाको ऐतिहासिक भ्रमण गरेर स्वदेश फर्किएको केही दिनपछि सोमबार क्युबाका पूर्वराष्ट्रपति तथा कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोले क्युबालाई अमेरिकाको ‘उपहार’ नचाहिने बताएका छन् ।
करिब १५०० शब्द लामो पत्रमा पूर्वराष्ट्रपति क्यास्ट्रोले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई क्युबा आफैमा एक सक्षम राष्ट्र भएको र उसलाई विकासका लागि अमेरिकाको उपहार नचाहिने बताएका छन् ।
“हामी कुनै शासकबाट उपहार चाहँदैनौ” क्यास्ट्रोले गएको साता क्युबामा अमेरिकी राष्ट्रपति बाराक ओबामाको भ्रमणका बेला दिएका भाषणप्रति इङ्गित गर्दै भने।
करिब छ दशकपछि क्युबा र अमेरिकाबीच रहँदै आएको मतभिन्नता हल गर्ने पहलस्वरुप अमेरिकी राष्ट्रपति ओबामा क्युबा पुग्नु भए पनि ८९ वर्षीय पूर्व नेता फिडेल क्यास्ट्रोसँग भेट भएको थिएन । तर उनका भाइ तथा वर्तमान क्युबाली राष्ट्रपति ८४ वर्षीय राहुल क्यास्ट्रोसँग भने ओबामाको पटकपटक भेट भएको थियो ।
अमेरिकी राष्ट्रपति ओबामाले आधा शताब्दी लामो प्रयासपछि क्युबामा कम्युनिस्ट शासनको अन्त्य भई क्युबाली जनता प्रजातान्त्रिक दिशातिर उन्मुख भएको भ्रमणबाट सन्देश प्रवाह गर्दै क्युबाली जनताले आर्थिक तथा राजनीतिक प्रणालीमा सुधार भएको देख्न आफूले चाहेको बताएका थिए ।
कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोले सन्देशमा भनेका छन्, “म विनम्रतापूर्वक अमेरिकी राष्ट्रपति ओबामालाई क्युबाको राजनीतिक वृत्तबारे कुनै सिद्धान्त विकास नगर्न सल्लाह दिन चाहन्छु ।”
दशकौँ लामो समय क्युबाको नेतृत्व गर्नुभएका फिडेल क्यास्ट्रोले सन् २००८ मा आफ्ना भाइलाई सत्ता हस्तान्तरण गरेपछि सक्रिय राजनीतिबाट विश्राम लिएका हुन् ।
अमेरिकी राष्ट्रपति ओबामाको भाषणका पङ्क्तीपङ्क्तीप्रति कडा आलोचना गरेका क्यास्ट्रोले आफ्नो प्रतिक्रियामा ओबामाका शब्दहरुमाथि प्रहार गरेका छन् ।
अमेरिकी राष्ट्रपति ओबामाले भनेको यो समय विगतलाई भुलेर अघि बढ्नुपर्छ भन्ने पङ्क्तीप्रति टिप्पणी गर्दै लेखेका छन्, ‘कुनै पनि क्युबाली जनताले अमेरिकी राष्ट्रपति ओबामाका यी शब्द सुन्दा मुटुमा चसक्क घोचेको महसुस गर्छन् ।’
आफ्नो पत्रमा करिब आधा शताब्दी अमेरिकी राज्यसत्ताले पुर्याएको शत्रुवतपूर्ण व्यवहारको पनि चर्चा गरेका छन् ।
क्युबामाथिको अमेरिकी आर्थिक नाकाबन्दी, १९६१ मा ‘वे अफ पिग्स’ मा आक्रमण, क्युबाली विमानमाथि १९७६ को बम वर्षालगायतका विषयलाई पत्रमा समावेश गरेका छन् ।
उनको पत्रको अन्त्यतिर राष्ट्रपति ओबामा अमेरिकी व्यापार व्यवसायलाई क्युबामा विस्तार गर्ने उद्देश्यका साथ क्युबासँगको सम्बन्ध सुधार गर्न चाहेको आरोप लगाएका छन् ।
कसैले पनि यो महान् तथा स्वाभिमानी देशको गौरव र जनताका अधिकारलाई बिर्सिन सक्दैन भन्दै नेता क्यास्ट्रोले क्युबाली जनता आफ्नो लागि खाद्यान्न, लत्ताकपडा र भौतिक सम्पत्ति जोहो गर्न स्वदेशभित्रको स्रोत र साधनलाई परिचालन गर्न विवेक पु¥याउन सफल रहने पत्रमा बताए ।
सन् २०१५ मा दशकौँ लामो सम्बन्धमा सुधार ल्याउने प्रयासस्वरुप अहिले दुबै देशले आफ्ना राजदूतावास खोली सम्बन्ध सुधारको प्रयास थालेका छन् ।
पछिल्लो समय ओबामा प्रशासन र वर्तमान क्युबाली राष्ट्रपति राहुल क्यास्ट्रोबीच निरन्तर संवाद रहँदै आएको छ ।