जनताको खेदाईमा परेका ओली सरकारका दुई मन्त्रीलाई जग्गा दलालले पुर्‍याएका थिए मोतिपुर !

जनताको खेदाईमा परेका ओली सरकारका दुई मन्त्रीलाई जग्गा दलालले पुर्‍याएका थिए मोतिपुर !

काठमाडौं, २३ फागुन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत शुक्रबार साविक मोतिपुर गाविस हाल बुटवल उपमहानगरपालिका वडा नम्बर १९ भाटामा औद्योगिक करिडोर शिल्यान्यासको कार्यक्रम राख्यो ।

तर, स्थानियबासीसँग छलफलबिना नै शिलान्यासको तयारी गरेपछि स्थानीयले बिहीबार नै मञ्च भत्काइदिए । शुक्रबार सयौं सुरक्षाकर्मी परिचालन गरेर ‘जबर्जस्ती’ शिलान्यास गर्न थालिएपछि स्थानीय थप उग्र बने र कार्यक्रम नै बिथोलेका थिए । कार्यक्रम स्थलमै विरोध, नाराबाजी र झडप भयो ।


अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले सुरक्षा घेराकै बीचमा शिलान्यास गरे । शिलान्यास सकेर मन्तव्य व्यक्त गर्ने क्रममा प्रदर्शनकारीले विद्युतको लाइन नै काटिदिएपछि दुवै मन्त्री कार्यक्रम छाडेर भाग्नु पर्यो । उनीहरूले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा पुगेर पत्रकार सम्मेलन गरी स्थानिय जनतालाई विकासविरोधी तत्वको संज्ञा दिए ।


२०१७÷१८ सालदेखि भोगचलनमा रहेको र नदी उकासका रूपमा रहेको जमिनमा बस्ती बनाएर बसोबास गर्दै आएका ३ हजार ६२ घरधुरीलाई विस्थापित गर्दै सरकारले २०७३ वैशाख १४ गते मोतीपुर औद्योगिक क्षेत्र विकास लिमिटेडका नाममा जग्गा उपलब्ध गराइदियो ।


सरकारले मोतीपुरमा लुम्बिनी प्रदेशकै औद्योगिक क्षेत्र स्थापना गर्ने भन्दै २०७३ सालमा मोतीपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नै खोलेर काम सुरु गरेको थियो । करिडोरलाई आवश्यक पर्ने जमिन जोहो गर्ने नाममा साबिक बुटवल नगरपालिका, मोतीपुर, टिकुलीगढ, आनन्दवन, फर्साटिकर गाविसका केही भाग पर्ने गरी ८ सय १३ बिघा जग्गा सरकारले अधिग्रहण गरेको थियो ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पाँच खण्डमा जग्गा विभाजन गरेर १२ अर्ब लागतसहितको डीपीआर तयार गरेको छ । एक ब्लकमा २ सय ६२ र अर्को ब्लकमा १ सय ५२ प्लट तयार गरेर उद्योग स्थापना गर्न दिने सरकारको भनाई छ । त्यही जग्गाभित्र परेको २ सय ५० बिघा क्षेत्रफल ५० वर्ष पहिलेदेखि नै बासोबास र भोगचलन गर्दै आएका व्यक्तिको पर्छ । तीन पुस्तादेखि बसोबास गर्दै आएका जनतालाई एक्कासी औद्योगिक क्षेत्रको नाममा विस्थापन गर्ने नीति लिएपछि सरकारको आलोचना भइरहेको छ ।


रुपन्देहीकै सांसद तथा नेकपाका नेता घनश्याम भुषालले विज्ञप्ति निकालेरै उक्त क्षेत्रमा औद्योगिक करिडोरको हल्ला चलाएर जग्गा दलालीको लागि वातावरण जग्गा दलालीको वातावरण बनाएको खुलाशा गरेका छन् । वातावरणीय प्रभाव मुल्यांकन समेत नगरी उक्त क्षेत्रमा औद्योगिक करिडोर बनाउने भन्दै जग्गा दलाली गर्न लागेको उनको आरोप छ ।


उनको आरोपलाई पुष्टि गर्ने आधार समेत देखिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत स्वयं नामुद जग्गा दलाल हुन् ।

खुंखार भूमाफिया कालु गुरुङ्ग, रामेश्वर थापा लगायतका व्यक्तिसँग मिलेर बस्नेतले राजधानी काठमाडौंकै मिनभवनका गणेश अवालेको ४ रोपनी जग्गा सहिचको करोडौंको घर र जग्गा हत्याएका थिए । बस्नेत सहितको नाम ब्यानरमा टाँगेर पीडित परिवारले गत वर्ष माघमा काठमाडौंको बबरमहलमा अनसन नै बसेको थियो ।


बस्नेतले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड भित्रको जग्गामा समेत जग्गा दलाली धन्दा चलाइरहेका छन् । औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने जग्गामा उनले पेट्रोलपम्पदेखि गाडीका स्वरुमसमेत राख्न अनुमति दिएका छन् ।


उनले देशभर औद्योगिक क्षेत्र बनाउने नाममा जग्गा दलाली धन्दा चलाउँदै आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकै उच्च अधिकारीले दियोपोस्टलाई जानकारी दिए ।


‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ऐन अनुसार कार्यकारी अधिकार महाप्रबन्धकसँग रहन्छ,’ उच्च अधिकारी भन्छन्,‘बस्नेत आफै कार्यकारी अधिकार प्राप्त व्यक्ति जस्तो देशभर शिल्यान्सामा हिँडेका छन् । बालाजुमात्रै होइन देशभरका जग्गामा उसले धन्दा चलाएको छ । हेटौंडामा पनि त्यस्तै काम भएको छ ।’


बस्नेतले केहीदिन अघि कान्तिपुर दैनिकको पहिलो पेजमै औद्योगिक पार्कको शिलान्यासको विज्ञापन छपाएका थिए । उनले उक्त विज्ञापनमा प्रधानमन्त्री केपी ओलीको दुई वटा तस्विर छपाएका थिए । उद्योग मन्त्रीको ३ वटा र अर्थमन्त्रीको २ वटा तस्विर छपाएर चाकडी गरेको आरोप औद्यागिक क्षेत्रमै लाग्ने गरेको छ ।

Trending News