पाल्पा, १८ चैत । बुटवलबाट पाल्पाको कचल जाँदै गरेको चुनढुङ्गा बोक्ने टिप्पर बुधबार राति दोभान–८ खुर्सानेमा दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
दुर्घटनामा परी कचल–१ का ३५ वर्षीय लेखबहादुर उचैमगरको मृत्यु भएको हो । दुर्घटनामा परी चालक, रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ का श्रवण चौधरी, दोभान–९ की मीना गाहा र उनकै ६ वर्षीय छोरा दीपेश गाहा घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले बताए।
दोभानका चुनढुङ्गा ओसारपसार गर्ने टिप्पर दुर्घटना बढे पनि यसतर्फ ट्राफिक प्रहरीको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । कचलमा सर्वोत्तम सिमेन्ट, दोभानमा बुटवल सिमेन्ट र सिद्धार्थ सिमेन्टका लागि दैनिक ३०० बढी टिप्पर दोभान–सिद्धबाबाखण्डमा सञ्चालन हुन्छन ।
यसैबीच पाल्पाको अर्चले–८ धोबलामा डोजरबाट खसेर ४५ वर्षीय लेखबहादुर रानाको बुधबार मृत्यु भएको छ । मृतक रानाको रामपुर अस्पतालमा शवपरीक्षण गरी आफन्तलाई बुझाइएको स्थानीयवासी होम राईमगरले बताए।