काठमाडौं । आफूलाई ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र प्रसाद नेपाललाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि काठमाडौंको चावेलस्थित नरेश न्यौपानेको स्वामित्वमा रहेको घर जग्गा भाडामा लिएर विद्यालय संचालन गरेका नेपालले भाडा नदिएपछि अदालतमा मुद्दा परेको थियो । उच्च अदालत पाटनको फैसला अनुसार ३ दिन कैद र ६ लाख रुपैयाँ जरिवाना फैसला भएपछि सोही फैसलाको आधारमा नेपाल पक्राउ परेका हुन् ।
उनलाई ललितपुर प्रहरीले पाटनबाट गत चैत्र २३ गते पक्राउ गरि कैद तथा जरिवानाका लागि अदालतमा पेश गरेको हो । पक्राउ परेका उनलाई अदालतमा दाखिला गरेको पत्र समेत फेला परेको छ । घरबेटी न्यौपानेलाई दिनुपर्ने रकम चेक नसाटिएपछि उनले बैंकिङ कसुरमा कारबाहीका लागि निवेदन दिएका थिए । उनकै निवेदनको आधारमा उच्च अदालत पाटनबाट गत पुस ६ गते नेपाललाई ३ दिन कैद र ६ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।
नेपाल र उनकी श्रीमती रोहिका नेपाल मिलेर चावेलस्थित न्यौपानेको जग्गा र घर भाडामा लिएर इडेन पब्लिक स्कुल संचालन गरेका थिए । लामो समयदेखि जग्गा र स्कुल भवनको भाडा नदिएपछि केही वर्षअघि वडा कार्यालयको समेत रोहभरमा डोजर लगाएरै हटाइएको थियो । घरबेटी न्यौपानेका अनुसार २०७३ सालदेखि भाडा नतिरेपछि मुद्दा मामिला चलेको थियो ।