पर्यटकको पखाईमा ‘डल्ला’ होमस्टे !

- प्रियंका दुतराज  

काठमाडौँ । बर्दिया जिल्ला, मधुवन नगरपालिका–१, डल्ला गाउँकी शर्मिला थारु केही वर्ष अघिसम्म निकै ब्यस्त हुन्थिन् । दैनिक १५ देखि २० जनासम्म पर्यटकको स्वागत–सत्कारमा उनलाई भ्याइ–नभ्याइ हुन्थ्यो । तर पछिल्लो समय उनी फुर्सदिली बनेकी छिन् । कारण हो, उनको होमस्टेमा पर्यटक आउन छाड्नु ।

सर्मिला मात्रै होइन पर्यटकको अभावमा ‘डल्ला’ होमस्टेका २० जना भन्दा बढी महिलाहरु बेरोजगार बनेका छन् । पन्ध्र वर्षअघि ११ जना थारु समुदायका महिलाहरु मिलेर संचालनमा ल्याएको उक्त होमस्टे पर्यटकको अभावमा बन्द हुने अवस्थामा छ ।


होमस्टेमा पर्यटक आउन छाडेपछि आफ्नो व्यवसाय ठप्प भएको शर्मिलाको भनाई छ । केही वर्ष अघिसम्म होमस्टेबाट राम्रो आम्दानी हुने गरेको उनी सम्झिन्छिन् । भन्छिन्, ‘त्यतिबेला होमस्टेबाट कमाई राम्रो हुन्थ्यो । बालबच्चालाई बोर्डिङ स्कुलमा पढाएकी थिएँ । तर, अहिले सरकारी स्कुलमा पढाउन समेत मुस्किल भइसक्यो ।’

शर्मिलाको होमस्टे नं ६

होमस्टेमा पर्यटक आउन छाडे यता शर्मिलाको ओठमा हाँसो हराउँदै गएको छ । होमस्टे बन्द हुने अवस्थामा पुगेपछि निकै ठुलो आर्थिक संकटबाट गुज्रिनु परेको उनी बताउँछिन् ।

होमस्टेमा एकाएक पर्यटक आउन छाडेपछि अर्की होमस्टे संचालक मिनु खादुको पनि दिनचर्या बदलिएको छ । सुरुवाती दिनमा होमस्टेबाट राम्रो आम्दानी गरेकी उनले पछिल्लो समय चरम आर्थिक अभाव झेल्नु पर्यो । ‘त्यतिबेला हरेक दिनजसो पर्यटकको चहलपहल राम्रै हुन्थ्यो । सिजनमा दिनमा १५ जना भन्दा बढी पाहुना आउँथे । तर अहिले त हप्तामा एक/दुई जना समेत आउदैनन् । पाहुना नआएपछि कमाई पनि छैन ।’ उनले भनिन् ।
मिनुका श्रीमान नेपाल प्रहरीको जागिरेका रुपमा दाङ्गमा कार्यरत छन् । घरमा बिरामी सासु–ससुराको स्याहारसुसारमा उनको दिन बित्ने गर्छ ।
त्यसो त उनी आफै पनि जोर्नी दुख्ने समस्याका कारण पीडित बनेकी छन् । उपचारका लागि आर्थिक संकट भएको उनी बताउँछिन् । ‘सबै कुरा पैसा रहेछ । दैनिक गुजरा चलाउन समेत मुस्किल भइरहेका बेला उपचार कसरी गर्नु?’ उनी प्रश्न गर्छिन् ।

त्यसो त, होमस्टेको प्रचारप्रसार नभएका कारण पर्यटकहरु नआएकोमा उनी शंका ब्यक्त गर्छिन् । भन्छिन्, ‘हाम्रो होमस्टेको प्रचार–प्रसार नै छैन । यदी प्रचार–प्रसार भइदिएको भए पर्यटक पनि आउथे होला । होमस्टे पनि राम्रोसंग चल्थ्यो कि?’
मिनुले आफुहरुमा अनुभवको कमी भएको कारण होमस्टे प्रभावकारी नभएको बताइन् । स्थानीय सरकारले होमस्टेसंग सम्बधित तालिमको ब्यवस्था गरिदिए महिलाहरु सबल हुनेमा उनले बिश्वास ब्यक्त गर्छिन ।

हाेमस्टेकाे बेड

यता, डल्ला होमस्टेकी अर्की संचालक सुमा थारु पनि होमस्टेमा पर्यटक नआउँदा चिन्तामा छिन् । व्यवसाय ठप्प हुँदा आफु चरम आर्थिक संकटबाट गुज्रिुनु परेको उनी बताउँछिन् ।

जिल्लामा ठुलो लगानीमा सुबिधा सम्पन्न दर्जनौँ होटल र अन्य होमस्टे समेत खुलेका छन् । त्यसैले पनि आफ्नो होमस्टे पहिलेकै लयमा फर्किने कुरामा उनी बिस्वस्थ छैनन् । भन्छिन्, ‘हामीले कम लगानीमा स्थानीय स्रोत–साधनको प्रयोग गरेर होमस्टे संचालनमा ल्याएका थियौँ । त्यतिले मात्र नपुग्ने रहेछ । हाम्रो कमी कमजोरीका कारण पर्यटक तान्न सकेनौँ ।’

पर्यटकहरु सुबिधा सम्पन्न होटलमा बस्न रुचाउने भएकाले पनि आफ्नो होमस्टेमा पर्यटकको आवागमन ठप्प भएको उनी स्वीकार गर्छिन् । ‘हाम्रो होमस्टे सुबिधा सम्पन्न छैन । गर्मीमा पाहुनाहरु एसी खोज्दै ठुला र सुबिधासम्पन्न होटेल जानुहुन्छ । हाम्रोमा पनि एसी भइदिएको भए उहाँहरु हाम्रैमा बस्न आउनु हुन्थ्यो होला ।’
सुमाका २० वर्षीय छोराले काठमाडौंमा सिभिल इन्जिनियर पढिरहेका छन् । छोराको पढाई खर्च जुटाउन सुमालाई हम्मे–हम्मे परेको छ । त्यसकारण उनले केही समययता तरकारी बेच्न थालेकी छिन् । किनकी होमस्टेबाट कमाई भई पुरानै लयमा फर्किनेमा उनको आशा मारिसकेको छ ।

सुमा र उनका छाेरा

वि.स २०६७ सालमा स्थापना भएको जैविक मार्ग अन्तर्गतको डल्ला गाउँमा २० वटा होमस्टे घर छन् । वर्षेनी करिव १२ हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक भित्राउने यो होमस्टे पर्यटकको पर्खाइमा छ ।

होमस्टे संचालक समितिका अध्यक्ष पसुराम चौधरीका अनुसार एक दशक अघिसम्म डल्ला होमस्टे निकै फस्टाएको थियो । तर पछिल्लो समय पर्यटकको अभावमा होमस्टे संकटग्रस्त अवस्थामा छ ।
होमस्टेमा शौचालय, स्नानघर र आरामदायी सुत्ने कोठाहरुको ब्यबस्था गरिएको भए पनि पर्यटकको रोजाईमा आफुहरुको होमस्टे नपरेकोमा उनले दुख ब्यक्त गरे ।

‘हाम्रो होमस्टे अरुको जति ब्यवस्थित हुन नसके पनि सफा र सुन्दर छ । गाउँ प्रवेश गर्नासाथ सडक र वरिपरि फोहोर देखिँदैन । यहाँ दिनहुँँ सरसफाइ हुन्छ । घरबासमा बस्ने पाहुनाका लागि थारु समुदायले हुरदुगुवा नाच, लाठी, पैया नाच, मघौता नाच, बर्कीमारा नाच लगायत सांस्कृतिक कार्यक्रम गरेर पर्यटकको मन जित्छन् । अरु भन्दा हाम्रो फरक छ । तर पनि पर्यटक तान्न सकिएको छैन ।’ उनले भने ।
होमस्टेमा पर्यटकको संख्या कम हुनुमा बजार व्यवस्था नुहुनु अर्को कारण भएको अध्यक्ष चौधरीको भनाई छ । ‘बजार पातलाे छ । बजार बाक्लो भएको भए मानिसहरु खाजा खानसमेत आउँथे होला । तर बजार नभएकाले पनि मानिसहरु टाढा–टाढा मात्र दुइ/चार दिनको लागि आउँछन् । जसले गर्दा डल्ला होमस्टेमा पर्यटकको संख्या खस्किदै गएको छ ।’

त्यसो त, लुम्बिनी प्रदेश अन्र्तगत पर्यटन मन्त्रालयले गत आर्थिक बर्षमा ५ लाख रुपैँया सहयोग पाएको भएता पनि त्यो प्रयाप्त नभएको अध्यक्ष चौधरीको भनाई छ । यसबर्ष पनि आर्थिक सहयोगका लागि मन्त्रालयसंग अपिल गरिएको भएता पनि पर्यटन मन्त्रालयले कुनै प्रतिक्रिया नदिएको उनी बताउँछन् ।

यता, लुम्बिनी प्रदेश सरकारका ‘उद्योग पर्यटन तथा यातायात’ मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले समुदायमा आधारित होमस्टेको प्रवर्धनमा लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने–‘हामीले ‘दायित्व’ नामक संस्थासँग समन्वय गरेर संकटग्रस्त होमस्टेलाई ४० देखि ५० लाख रुपैँयासम्म बजेट उपलब्ध गराउने गरेका छौँ । उहाँहरु पनि आफ्नो पालिकासंग समन्व्य गरी प्रपोजल लिएर आउनु भएको खण्डमा मन्त्रालयबाट आर्थिक लाभ लिन सक्नु हुन्छ ।’

सिफारिस