इलाम, ३० चैत । जिल्ला विकास समिति इलामले जिल्लाका १० हजारभन्दा बढी ज्येष्ठ नागरिकको उपचारका लागि रु दुई करोड निकासा दिएको छ ।
जिविसले ज्येष्ठ नागरिकको उपचारका लागि तीन नगरपालिका र ४३ गाविसलाई निकासा दिएको हो । यहाँका १० हजार ६८८ ज्येष्ठ नागरिकको उपचारका लागि जिविसले रु दुई करोड १३ लाख ६७ हजार निकासा दिएको सामाजिक सुरक्षा शाखाका प्रमुख रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
सत्तरी वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई अघिल्लो वर्ष एकमुष्ठ रु दुई हजार उपचार खर्च दिइएको थियो । चालु आर्थिक वर्षमा भने मासिक रु ५०० का दरले रु छ हजार दिनका लागि निकासा दिइएको हो । ज्येष्ठ नागरिकले प्रत्येक चार÷चार महिनामा दुई÷दुई हजारका दरले उपचार खर्च पाउने सामाजिक सुरक्षा शाखाका श्रेष्ठले जानकारी दिए ।
दोस्रो चौमासिकको रकम यहि चैत महिनाभित्रमै वितरण गरिसक्ने जिविसले बताएको छ । वर्षको अन्तिमसम्ममा ज्येष्ठ नागरिकले पुनः अन्तिम किस्ताबापतको रु दुई हजार उपचार खर्च पाउने छन् । ‘वृद्धभत्ता’ का रूपमा दिइँदै आएको मासिक रु ५०० बाहेकै जेष्ठ नागरिकलाई ‘उपचार खर्च’ बापत रु दुई हजार दिइएको हो । उपचार खर्च अन्य सामाजिक सुरक्षा भत्तासँगै वितरण हुँदैछ । सरकारले अघिल्लो वर्षको भन्दा उपचार खर्चमा केही रकम वृद्धि गरेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् ।
त्यसैगरी साठी वर्षमाथिका ज्येष्ठ दलितलाई मासिक रु ५०० का दरले एक हजार १५१ जनालाई रकम प्रदान गर्न रु २३ लाख दुई हजार निकासा गरिएको जिविसले जनाएको छ । त्यस्तै १३३ जना एकल महिलालाई मासिक रु ५०० का दरले, चार हजार ८८२ जना विधुवालाई मासिक रु ५०० का दरले रकम वितरण भइरहेको छ ।
लोपोन्मुख लेप्चा समुदायका तीन हजार २५१ जनालाई मासिक रु एक हजारका दरले रकम निकासा दिइएको छ ।