नेपालगन्ज, २ वैशाख । सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा ‘वेटलिफ्टिङ फिटनेस एकेडेमी’ निर्माण हुने भएको छ ।
विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका विद्यालय उमेरका बालबालिकाको छनोट गरी सबै सुविधासहित एकेडेमीमा तालिम दिइनेछ ।
नेपाल भारोत्तोलन सङ्घका केन्द्रीय अध्यक्ष रतन टण्डनका अनुसार केटा र केटी गरी करिब ५० जना प्रशिक्षार्थी अट्न सक्ने क्षमताको एकेडेमी निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
करिब रु ८५ लाखको लागतमा निर्माण हुने एकेडेमी भवनमा भारोत्तोलन प्रशिक्षणका लागि आवश्यक पर्ने करिब रु २५ लाख बराबरको उपकरणसमेत जडान गरिने जनाइएको छ ।
तीन तलाको निर्माण हुने एकेडेमी भवनमा तालिम कक्ष, प्रतीक्षालय कक्ष, चेन्जिङ कोठा, सुत्ने कोठा, पुस्तकालय, भान्साघर, सोनाबाथलगायत सुविधा सम्पन्न संरचनाको व्यवस्था गरिएको कन्सल्टेन्ट इन्जिनियर महेश थापाले बताए ।
आगामी जेठ महिनादेखि निर्माण सुरु गरी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको सो एकेडेमी भवन निर्माणका लागि नेपाल सरकारका सम्बद्ध मन्त्रालयबाट आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले अन्य सङ्घका लागि छुट्याएको, तर फ्रिज हुन लागेको करिब रु २० लाख तत्काल उपलब्ध गराउने अध्यक्ष टण्डनको भनाइ छ ।
दक्षिण एसियाली भारोत्तोलन सङ्घका संयोजकसमेत रहनुभएका टण्डनका अनुसार नेपालगन्ज रङ्गशाला क्षेत्रको कुल चार हजार वर्ग फिट जग्गा एकेडेमीअन्तर्गत रहने र कुल जग्गामध्ये दुई हजार ८०० वर्ग फिटमा भवन निर्माण हुनेछ ।
एकेडेमीमा तालिम दिइने विद्यार्थीको अध्ययनलगायतका सबै खर्च संस्थागत हुनेछ भने एकेडेमीको प्रशासन र अन्य प्राविधिक खर्चका लागि सहयोगी हातहरु खोजिने पनि अध्यक्ष टण्डनले बताए ।