पोखराका मेयर धनराजकै संरक्षणमा बेगनाश ताल अतिक्रमण, तालघरभित्रै रिसोर्ट

दियोपोस्ट संवाददाता

कास्की । पोखरा महानगरलाई ८ तालको शहर भनिन्छ । रुपा, बेगनाश, दिपाङ, मैदी, न्युरेनी, गुदे र फेवातालको वैगैचाको रुपमा परिचित पोखरा शहर पर्यटनको राजधानी समेत हो । तर, स्थानिय जनप्रतिनिधि र व्यापारीहरुको मिलेमतोमा ठूला ताल अतिक्रमण भएर सक्दै गएको छ । फेवाताल क्षेत्रमा रहेको ६५ मिटर क्षेत्र भित्रको संरचना हटाउने भन्दै प्रधानमन्त्री बालेन शाहको निर्देशन आएपछि शनिबार विहानै सो क्षेत्रको अतिक्रमण भत्काउन शुरु भएको छ ।


कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टदेखि केही संरचना भत्काएको छ । स्थानियवासीले आफ्नो लालपुर्जा भएको टहरा विना जानकारी भत्काइएको भन्दै विरोध समेत गरिरहेका छन् । पोखरा नगर योजनाले तयार पारेको फेवातालको मापदण्ड २०३० मंसिर १५ गते तत्कालिन सरकारले स्वीकृत गरेर लागु गरेको थियो । उक्त मापदण्डमा फेवातालको किनारदेखि दुई सय फिटसम्म कुनै संरचना निर्माण गर्न नपाउने उल्लेख छ । २०६५ सालमा पोखरा उपत्यका नगर विकास समितिले फेवातालको मापदण्ड ६५ मिटर कायम गर्ने निर्णय गरेको थियो । यसको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा समेत परेपछि सर्वोच्च अदालतले २०७५ वैशाख १६ गते फैसला गर्दै ६ महिनाभित्र मापदण्ड तोक्न आदेश समेत गरेको थियो ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले तालको मापदण्डमा खेल्नका लागि २०७८ चैत्र १६ गते ५५ औँ कार्यापालिका बैठकबाट फेवाताल लगायत अन्य तालको मापदण्ड समेत पहिलेको भन्दा ५० प्रतिशत घटाएर नयाँ मापदण्ड कायम गरेपछि यो मुद्दा फेरी अदालत पुगेको थियो । सर्वोच्च अदालतले फेरी ६५ मिटरकै मापदण्डलाई कायम गर्दै फैसला गरेपनि तत्कालिन सरकारले यो मुद्दालाई बेवास्ता गर्दै आएको थियो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले त आफ्ना निकट व्यक्तिहरुलाई फेवातालको तालघर भित्रै संरचना बनाउँदा समेत संरक्षण गर्दै आएका थिए । गरिवका टहरामा डोजर लगाउने तर, फेवातालको तालघर भित्रै क्याफे क्यालिफोर्निया लगायतले संरचना बनाउँदा मेयर धनराज आचार्यले संरक्षण गरेको विषयमा दियोपोस्टले पटक पटक खबर संप्रेषण गरेको थियो । तर, नयाँ राजनीतिक परिवर्तनसँगै बालेन्द्र शाहले नेपाल सरकारको नेतृत्व गरेपछि शनिबार विहानै फेवाताल क्षेत्रमा डोजर चलेको छ । फेवाताल जस्तै अन्य ठूला तालमाथि भने तालघर भित्रै संरचना बनिरहँदा समेत स्थानिय सरकार बेखबर छ ।

पोखराको बेगनाश ताल घर भित्रै तत्कालिन एमाले निकट नेता कार्यकर्ताहरुले ठूला संरचना बनाएर अतिक्रमण गरिरहेका छन् । तर, त्यहाँ भने सरकारको नजर पुगेको छैन । मेयर धनराज आचार्यकै संरक्षणमा तालघर भित्रै संरचना बनिरहेको स्थानियबासीको गुनासो छ । मेयर आचार्यकै मिलेमतोमा रिठ्ठेपानी डाँडाको माटो कटान गरी धमाधम मैदी ताल, दिपाङ ताल र बेगनाश ताल पुरिएको छ । ताल पुर्ने र संरचना बनाउने कार्यमा मेयर निकट समाजवादीकै नेता कार्यकर्ता संलग्न रहेका छन् । तर, तालको संरक्षण गर्ने समेत जिम्मा पाएको महानगर यतिका वर्षसम्म बेखबर छ ।


३ दशमलव दुई ८ वर्गकिलोमिटर फैलिएको पोखराकै दोस्रो ठूलो ताल मानव अतिक्रमणले खुम्चिन थालेको छ । तालभित्रै जग हालेर अवैध संरचना बनाइरहँदा समेत महानगरले देखेको छैन । बेगनासको पिप्ले, माझिकुना, लगायत क्षेत्रमा व्यावसाय गर्ने नाममा तालमै केही स्थायीसहित अस्थायी संरचना बनाएर तिब्रता पाइरहेको छ ।

महालेखा परिक्षकको कार्यालयले होटलहरुको तस्विरसहित तालघर मिचेको संरचना हटाउन पटक पटक सचेत गराउँदा पनि महानगरपालिकाको मेयर धनराज आचार्यले थाहा नपाएजस्तो गरी बसेका छन् ।

सम्बन्धित खबर