पोखरा — ८ तालको शहर भनिने पर्यटकीय राजधानी पोखरा आफैमा डाँडाहरुको पनि सहर हो । अहिले आन्तरिक बाह्य पर्यटकहरुको भिड पोखराका डाँडाहरुमा बढ्दो छ । साराङकोट, कास्कीकोट, पुम्दीकोट, काहु डाँडा लगायतका डाँडाका होटल र रिसोर्टहरु पर्यटकले भरिन्छन् नै । त्यसैले पनि होला कास्कीका डाँडाहरु भूमाफियाहरुले कब्जा गरिसकेका छन् । अधिकांश डाँडाहरुमा विभिन्न तहका भूमाफियाहरुले किर्ते कागजात बनाउनेदेखि नक्सापास विपरितका संरचना बनाउनेसम्मका कार्य गरिरहेका छन् ।

पर्यटकीय दृष्टिले निकै संभावना भएको फोक्सिङकोटबाट अधिकांश हिमश्रङ्खला देखिन्छन् । पोखरा महानगरपालिका २१ फोक्सिङकोटस्थित यो मनोरम डाँडाको सम्पूर्ण जमिन एउटा भूमाफियाहरुको समुहले कब्जा गरेको छ । स्थानियहरु जनताको नाममा रहेको ९६ रोपनी र भोगचलन गरिरहेको २४ रोपनीसहित एकसय २० रोपनी जग्गा भूमाफियाहरुले जालसाँझी गरेर हत्याएको आरोप छ ।
काठमाडौंको बानेश्वरमा कृष्ण सदन नामक भवनका मालिक समेत रहेका कृष्ण आचार्य र उनका छोरा सुदिप आचार्यको नेतृत्वमा स्थानियको एक सय रोपनी भन्दा बढी जग्गा जालसाँझी पूर्वक कब्जा गरिएको हो ।

२०५७ साल साउन २६ गते सो जग्गामा जापानी नागरिक हिरोसी हिदाईद्वारा संचालित विन प्रा.लीले मण्पिाल शिक्षण अस्पतालस्तरको हस्पिटल निर्माण, कृषि विश्व विद्यालयको स्थापना गर्ने, जग्गादाताहरुलाई नै आरक्षण कोटा दिने, दक्षता अनुसारको रोजथार दिने, पानी, बाटो, टेलिफोन आदी समेत दिने भनि त्रिपक्षिय सम्झौताका आधारमा स्थानीयको जग्गा लिएका थिए ।
त्यतिबेला प्रतिरोपनी ६० हजारका दरले स्थानियबासीले उक्त जग्गा विन प्रा.लीलाई दिएका थिए ।

पाँच वर्षभित्र परियोजना सञ्चालन नभए सम्बन्धित जग्गाधनीलाई उक्त मूल्यमै जग्गा फिर्ता गर्ने सम्झौता थियो ।
साविकको निर्मलपोखरी गाविस–६ फोक्सिङकोट पोख्रेलथोकमा प्रालिले ४६ बढी सर्वसाधारणबाट जग्गा खरिद गरेको थियो । सम्झौतामा निर्मलपोखरी गाविसको तर्फबाट तत्कालीन अध्यक्ष कमलमोहन पौडेल, प्रालिका तर्फबाट हिरोशी हिदाइले हस्ताक्षर गरेका थिए । गाविस उपाध्यक्ष मुक्तिनाथ पौडेल, वडाध्यक्ष तीर्थराज पौडेल, वडासदस्य भोलानाथ आचार्यलगायतले पनि उक्त सम्झौतामा सहीछाप गरेको कागजातमा देखिन्छ ।

स्थानियहरुको जग्गामा तोकिएको संरचना बन्न सकेन । कम्पनिका संचालक जापानी नागरिक जापानमै मृत्यु भएको खबर आएपछि यो परियोजना रोकियो । यता भने जग्गा हत्याउने खेल शुरु भयो । स्थानियहरुले जग्गा फिर्ता ल्याउने सम्झौता अनुसार कोशिष गरे । उनीहरुले अदालतमा मुद्दा समेत दायर गरेका थिए । हदबन्दी सम्बन्धी विद्यमान कानुन र ५ वर्षे हदम्यादले अदालतबाटै जग्गा फिर्ता आउन सक्ने संभावना भने थिएन ।
यद्धपी अदालतले कम्पनिनै पीडित जनताका नाममा ल्याउन मिल्ने गरि बाटो खोलिदिएपछि स्थानियहरुले जनही प्रतिरोपनी १ हजार रुपैयाँका दरले रकम संकलन गरि जान्ने बुझ्ने मानिएका तत्कालिन सांसद स्वर्गिय रविन्द्र अधिकारीको स्वकिय सचिव राजेन्द्र प्रसाद आचार्य, इन्द्रमणी आचार्य र भूपराज पोखरेललाई जग्गाधनीहरुको प्रतिनिधिको रुपमा कम्पनि रजिष्टारको कार्यालयमा पठाएको पीडित जग्गाधनीहरुले बताएका छन् । त्यहाँ पुगेपछि अधिकारीका स्वकिय सचिव आर्चासहितको समुहले पीडित किसानलाई विश्वासघात गरि जग्गादातालाई थाहा समेत नदिई आफ्नो स्वार्थ पुरा गरेको आरोप उनीहरुमाथि छ ।

मृत्युपछि कम्पनिको अध्यक्ष पृथ्वी श्रेष्ठको नाममा २ लाख कित्ता सेयर कायम गरिएको सम्झौतामा देखिन्छ ।
तीनै पृथ्वी श्रेष्ठसँग भूमाफियाको आरोपी कृष्ण आचार्यले वानेश्वरस्थित उनकै भवन कृष्ण सदनको छैटौँ तलामा जालझेल र षडयन्त्रको सम्झौता कागजात तयार पारेको स्थानिय पीडितहरुको भनाई छ । पृथ्वी श्रेष्ठको नाममा रहेको २ लाख कित्ताको २ करोड र परियोजनाकालागि भनि ५० लाख रुपैयाँ गरि जम्मा २ करोड ५० लाखमा कम्पनि नै खरिद गर्ने सम्झौता भएको देखिन्छ ।
सम्झौता लेखिए अनुसार कृष्ण आचार्यले एक करोड २५ लाख रुपैयाँ बराबरको सेयर कायम भएको उल्लेख छ । यता पीडितका प्रतिनिधि बनेर पुगेका इन्द्रमणी, राजेन्द्र आचार्य र भूपराज पोखरेलको नाममा जनही २५ लाख रुपैयाँको शेयर कायम गर्ने उल्लेख गरेको देखिन्छ । यता पृथ्वी श्रेष्ठले भने पीडितहरुलाई जग्गा फिर्ता गर्ने सर्तमा आफूले सम्पूर्ण शेयर कृष्ण प्रसाद आचार्यको समुहलाई दिएको बताउँदै आएका छन् ।

‘उनीहरुले अरु जग्गादातालाई समेत थाहै नदिई स्वर्गीय रविन्द्र प्रसाद अधिकारी र उद्योगपति कृष्ण प्रसाद आचार्यलाई पकड बनाई शक्तिको आडमा ८।१० जना कथित, किर्ते, अमुक काल्पिनिक जग्गादाता सृजना गरी बाँकी जग्गादातालाई हामी मिलाउँछौँ भनी विन प्रा.लीका मालिकलाई दबाव दिई कथित किर्ते विश्वास पारिएछ,’ पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ,‘जग्गादाता भन्दा बाहिरको अमुक व्यक्ति उद्योगपति कृष्णप्रसाद आचार्यलाई कम्पनीको मालिक बनाएर राजेन्द्र प्रसाद आचार्य, ईन्द्रमणी आचार्य, भूपराज पोखरेल र टुकलाल अधिकारीसमेत ४ जनाले ४५ प्रतिशत र बाँकी ५५ प्रतिशत शेयर स्वामित्व कृष्ण प्रसाद आचार्यलाई मिलाएर बाँकी किसानलाई गुमराहमा पारी राजनीतिक दम्भ र पैसाको आडमा जालझेल तथा छलकपट गरी ४० जनाभन्दा बढी किसानको जग्गा उनीहरुले अन्यायपूर्ण तरिकाले झुक्याई आफ्नो नाममा एकलौटी रुपमा स्वामित्व पास गरेछन् । पीडित किसानहरुले यो जालझेल र छलकपटपूर्ण कार्यको पत्तो पाएपछि सम्झौता अनुसारको आफ्नो जग्गा फिर्ता ल्याउन न्यायको लागि आवाज उठाएको कुरा सत्य हो ।’
पीडितहरुले तत्कालिन सो क्षेत्रको सांसद विद्या भट्टराईसँग गुनासो गर्दा पनि सुनुवाई नभएको बताए ।
माओवादी केन्द्र निकट उद्योगपति आचार्य र उनका पुत्र सुदिप आचार्यको नाममा छलकपटपूर्ण रुपमा हत्याइएको भनिएको विन प्रा.लीको सेयर लगत समेत भेटिएको छ । हाल प्रति रोपनी २ करोड रुपैयाँ भन्दा बढि मुल्य पर्ने सो क्षेत्रको जग्गा आचार्य परिवारले कौडीको भाउमा हत्याएको आरोप छ ।

प्राप्त सेयर लगत अनुसार विन प्रालि कम्पनीको २ लाख कित्ता सेयर कायम गरी जग्गाको कुनै पनि स्वामित्व नभएका उद्योगपति कृष्णप्रसाद आचार्यलाई १ लाख सेयर दिइएको छ । उनका छोरा सुदीपलाई १० हजार कित्ता, राजेन्द्रप्रसाद आचार्यलाई ३० हजार कित्ता, इन्द्रमणी आचार्य, भूपराज पोखरेल र टुकलालाई अधिकारीले २०÷२० हजार कित्ता सेयर बाँडफाँट गरेका देखिन्छ ।
संघर्ष समितिका अध्यक्ष ढाकाराम अधिकारीका अनुसार पीडितहरुलाई झुक्याएर पीडितहरुले पाउनुपर्ने कम्पनिको सेयर आचार्य समुहले २०७१ साउन ११ गते नामसारी गरेका थिए । कम्पनिको अध्यक्ष समेत मृत्यु भइसकेको र निजको आधिकारीक हस्ताक्षर र वारेश विना नै आचार्य समुहले किर्ते गरेर सेयर हत्याएको पीडितहरुको आरोप छ ।
कम्पनि रजिष्टार कार्यालयमा यो कम्पनिको विवरणबारे सम्पर्क गर्दा शुरु दर्ता हुँदादेखिका संचालकहरुको विवरण गायब बनाइएको छ । ‘यहाँ स्क्यानिङ कपि समेत भेटिएन । तीन पटक भन्दा बढि सेयर लगत संशोधन भएको देखिन्छ,’ कम्पनि रजिष्टार कार्यालयका एक अधिकारीले भने,‘भेटिएको तीन वटा विवरण तपाइँले हेर्न सक्नुहुन्छ ।’ २०७१ साउन २९ गते अध्यावधि भएको सेयर विवरणमा कृष्ण प्रसाद आचार्य, ईन्द्रमणि आचार्य, राजेन्द्र प्रसाद आचार्य, भुपराज पोखरेल, टुकलाल अधिकारी र सुदिप आचार्यको नाममा सेयर देखिन्छ । स्थानियहरुले आन्दोलन गरेपछि कृष्ण प्रसाद आचार्यले आफ्ना पुत्रको नाम हटाएर ५ जनालाई मात्रै सेयर कायम गरेका छन् । हालसम्म उक्त कम्पनि सुदिप आचार्य बाहेकको नाममा सेयर अध्यावधिक गरिएको छ ।
अहिले स्थानिय पीडितहरुले यो जग्गामा भोगचलन भने आफैले गर्दै आएका छन्, यद्धपी लालपुर्जा भने उनीहरुको नाममा छैन ।
पैसा हालेर कम्पनि जग्गा किनेका हौँ : आचार्य

यस विषयमा प्रतिक्रियाका लागि दियोपोस्टले विन प्रा.लीका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई सम्पर्क गर्दा उनले शुरुमा आफूले पैसा हालेर जग्गा किनेको बताए । दियोपोस्टले तपाईंले जग्गा किनेको कि कम्पनी भनि प्रति प्रश्न गर्दा उनले कम्पनि किनेको बताए । ‘मैले कम्पनि किनेको हो । यो विषयमा अलि अध्ययन गर्नुहोला । म चौथो कि पाँचौ पर्छु । यो विषयमा मलाई भन्दा बढी राजेन्द्र आचार्यलाई सोध्नुहोला,’ उनले भने ।