भारत–नेपाल आख्यान विमर्श

भारत–नेपाल आख्यान विमर्श

काठमाडौँ, ३ वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठान र जरा फाउन्डेसनको पहलमा भारतको मणिपुर प्रान्तमा बिहीबार भारत–नेपाल आख्यान विमर्श सम्पन्न भएको छ ।

नेपाली संस्कृति सुरक्षा परिषद् मणिपुर स्थानीय आयोजक रहेको उक्त कार्यक्रममा समालोचक रामप्रसाद पौड्यालले ‘भारतीय नेपाली कथा परम्परा र मणिपुर’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै भारतमा सवाइ साहित्यको जन्मभूमि मणिपुरले आशारानी राई, पदमबहादुर राई, देवीप्रसाद थापा मामा, राहुर राई बोगिको जस्ता कथाकारले नेपाली आख्यान साहित्यमा कथाको परम्परालाई दर्बिलो बनाएको जिकिर गरे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाली साहित्यकार एलबी क्षेत्रीले नेपाली साहित्यको श्रीवृद्धिमा मणिपुरको योगदान सदैव स्मरणीय रहँदै आएको बताए ।
द्विदेशीय साहित्यक अनुष्ठानका अवसरमा नेपालका मातृका पोखरेल, कृष्ण प्रसाईं र विवश पोखरेलसँगै स्थानीय साहित्यकार भवानी अधिकारी, टङ्कनाथ खतिवडा, खुमप्रसाद पौड्याल, कीर्तिमणि खतिवडा, दीपक पन्थ, हरि बस्नेत आदिले आ–आफ्ना रचना सुनाए । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान र जरा फाउन्डेसनका तर्फबाट मणिपुरेली साहित्यकारलाई सम्मान गरिएको थियो ।
शुक्रबार गोर्खा ज्योति प्रकाशनको सहकार्यमा असमबाट मणिपुर पुगेको इतिहास सङ्कलन टोलीसँग नेपाली प्रतिनिधिमण्डलले संयुक्त साहित्य गोष्ठी गरेको छ । त्यस अवसरमा प्राज्ञ पोखरेलले स्थानीय समालोचक डा गोमा शर्मा अधिकारीद्वारा लिखित ‘मणिपुरमा नेपाली साहित्यः एक अध्ययन’ शीर्षकको पुस्तकको पनि लोकार्पण गरेको नेपाली प्रतिनिधिमण्डलका सदस्य महेश पौड्यालले बताए।

Trending News