दमौली, १४ वैशाख । नेपाल सरकारको जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा चेपाङ र गन्धर्व जातिका ५० वटा घर बनाइने भएको छ ।
चेपाङका ४६ र गन्धर्व जातिका चार घर यसै वर्ष बनाइने भएको हो ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाका प्रमुख श्यामकिशोर सिंहले चेपाङ र गन्धर्व जातिका ५० घर यसै वर्ष बन्ने बताए ।
छनोटमा परेका चेपाङ र गन्धर्व जातिको घर निर्माण कार्य छिट्टै सुरु हुने उनले बताए ।
भानु नगरपालिका, बन्दीपुर नगरपालिका, आँबुखैरेनी नगरपालिका, व्यास नगरपालिका, तनहुँसुर, केशवटार, बरभञ्ज्याङ, चोक चिसापानी र देवघाट गाविसमा रहेका चेपाङ र गन्धर्र्व जातिको घर बन्ने भएको हो ।
घर निर्माणका लागि प्रतिपरिवार रु एक लाख ८३ हजार र शौचालय निर्माणका लागि रु १२ हजार गरी रु एक लाख ९५ हजार उपलब्ध गराइने छ डिभिजन प्रमुख सिंहले बताए ।
पहिचान सर्वेक्षण टोलीले छनोट गरी सिफारिस गरेका लक्षित वर्गका ती घर परिवारलाई घर बनाउन अनुदान दिन लागिएको डिभिजन कार्यालय गोरखाले जनाएको छ ।
आगामी आवका लागि भुजेल, बोटे, माझी, दरै र कुमाल जातिका घर बनाउन सहरी विकास तथा भवन निर्माण विभाग बबरमहल काठमाडौँमा लेखी पठाएको सिंहले बताए ।
गत वर्ष पनि जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा चेपाङ र गन्धर्व जातिका ४०÷४० गरी ८० घर निर्माण गरिएको डिभिजन कार्यालय गोरखाले जनाएको छ ।
यसैबीच सोही कार्यालयले गोरखामा चालु आवमा चेपाङ र गन्धर्व जातिको २०० घर निर्माण गर्ने जनाएको छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki