भक्तपुर, ८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार भक्तपुरको तलेजुमा पहिलोपटक पुगेकै दिन विवादमा परेकी छन् ।
उनले फोटो खिच्न मनाही गरिएको तलेजु मूलचोकको प्रवेशद्वारमै फोटो खिचाउने देखि भक्तपुरबाटै राष्ट्रिय ठगको परिचय बनाएका कृष्ण प्रसाद ताम्राकारसँगै हिँडेको तस्विर फेला परेको छ ।

फोटो खिच्न मनाही गरेको ठाउँमा खिचिएको राष्ट्रपति भण्डारीसहितको सामूहिक फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यता भक्तपुरकै कमल विनायकमा रहेको होटल यातुमा शेयर दिन्छु भन्दै एक करोड १५ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पनि राष्ट्रपतिलाई बाटो देखाउँदै हिँडेको तस्विर भेटिएको हो ।

भक्तपुर प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएको व्यक्ति अरु कोही थिएनन् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा भक्तपुर उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कृष्ण प्रसाद ताम्राकार थिए । सामाजिक सञ्जालमा ताम्राकारसँगै राष्ट्रपतिको तस्वीर देखेपछि भक्तपुरवासी अचम्ममा परेका छन् ।

फोटो खिच्न मनाही गरिएको ठाउँमा खिचिएको फोटोमा राष्ट्रपति भण्डारीसँगै भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद एवं नेकपा (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेत, प्रदेश नं. ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसमेत रहेका छन् ।

त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, सचिव राजुमृग्रेन्द्र जोशी, तलेजुका कर्माचार्य नाइके सिद्धिवीर कर्माचार्यलगायतसमेत सामूहिक फोटोमा देखिएका थिए । यता राष्ट्रपतिलाई बाटो देखाउने र सहयोगीको भूमिकामा भने ताम्राकार अग्रपंक्तिमा थिए । सेतो दौरा सुरुवाल, कालो कोट र कालो टोपी लगाएका ताम्राकारले शनिबार दिनभर राष्ट्रपतिलाई छाडेनन् ।

‘राष्ट्रपति सम्मानित संस्था हो । राष्ट्रपतिले नै नियम र कानुन मानेन भने जनताले के गर्ने ?,’ एक सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रश्न छ,‘ठगी आरोप लागेका मान्छेहरु राष्ट्रपतिसँग खुलेआम कुम जोडेर हिँड्न कुन नैतिकताले सकेका होलान् ?’
शनिबार राष्ट्रपतिलाई बाटो देखाउने पात्र ताम्राकारलाई प्रहरीले पटक पटक ठगी आरोपमा पक्राउ गरेको थियो । गत चैत्रमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई ठगी मुद्दा चलाउन पत्र सहित भक्तपुर प्रहरी कार्यालय पठाएको थियो ।

भक्तपुरका सांसद महेश बस्नेतको सेटिङमा छुट्न सफल भएका उनलाई ठगी मुद्दामै पुन: महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखा टेकुले पक्राउ गरेको थियो । २ दिन प्रहरी हिरासतमा रहेका ताम्राकारलाई सांसद बस्नेतकै दबावमा मुद्दा नचलाई छुटाइएको थियो । आश्चर्य त के छ भने तस्विरमा बस्नेत पनि राष्ट्रपतिको बायाँ तर्फ देखिएका छन् भने ताम्राकार दायाँपट्टिबाट राष्ट्रपतिलाई इशारा गरिरहेका छन् ।
ताम्राकारलाई नजिकबाट चिन्नेहरु ‘राष्ट्रिय ठग र नाटवरलाल’को संज्ञा दिन्छन् ।
ताम्राकारको ठगीधन्दाबारे प्रकाशित सामाचार हेर्नुहोस्