काठमाडौं । काठमाडौंको सिनामंगलमा कार्यालय रहेको रेडिएन्ट ओभरसिज सहित केही म्यानपावर कम्पनिले रोजगारीका लागि मलेशिया जाने युवालाई चरम ठगी गरेको पाइएको छ ।
ठगीको सुचना पाएपछि वैदेशिक रोजगार विभागले शुक्रबार छापा मारेको छ । विभागका अधिकारीले छापा मार्दा २ लाख नगदसहित केही कागजात नियन्त्रणमा लिएको छ ।
शुक्रबार नै २३ जना नेपाली युवालाई रोजगारीका लागि मलेशिया पठाउन लागेको थियो । फ्रि भिषा र फ्रि टिकट भनिएपछि प्रति व्यक्ति ३ लाख रुपैयाँ असुली गरेको थाहा पाएपछि विभागमा उजुरी परेको थियो । पीडित युवाहरुले विभागका कर्मचारी नै लिएर म्यानपावरमा पुगेका थिए । संचार माध्यमलाई समेत खबर गरेपछि दियोपोस्ट पनि उक्त स्थानमा पुगेको थियो ।
समाचार संकलनका लागि दियोपोस्ट उक्त म्यानपावरमा पुग्दा विभागका अधिकारीहरु मुचुल्का उठाउँदै थिए । तर, संचार माध्यमलाई भने दृष्य खिच्न समेत प्रतिबन्ध लगाइएको थियो । विभागका अधिकारी र उक्त म्यानपावर कम्पनिले करिब आधा घण्टासम्म गोप्य छलफल गरेपछि मात्रै संचारमाध्यमलाई भित्र बोलाइएको थियो ।
वैदेशिक रोजगार विभागका अधिकृत विकास कँुवरसँग छापाबारे प्रश्न गर्दा उजुरी पर्नासाथ आफूहरुले छापा मारेको बताए । छापा मार्दा २ लाख नगदसहित केही कागजात नियन्त्रणमा लिएको र अनुसन्धानबाट थप विषय बाहिर आउने उनले बताए ।
समाचार संकलनका क्रममा दियोपोस्टकर्मीलाई पैसा र विज्ञापनको प्रलोभन समेत दिइएको थियो । कालीकोट घर भएका अनिल बोगटीले विज्ञापन लिएर समाचार रोक्न अनुनय गरेका थिए । आफूलाई नेकपा एकीकृत समाजवादी निकट युवा संघको कर्णाली प्रदेश अध्यक्ष बताउने उनी कफिडेन्ट इन्टरनेश्नल म्यनपावरका मालिक समेत रहेछन् । उनले समाचार नलेख्न र विज्ञापन लिन अनुरोध गरेका थिए । त्यसको केही समयपछि रेडियन्ट म्यानपावरका अध्यक्ष शिव कुमार कार्की समेत रकम र विज्ञापनको प्रलोभन दिन आएका थिए । उक्त म्यानपावरका एक कर्मचारी भने हातमा खाम बोकेर आएका थिए ।
विभागले म्यनपावरमा छापामार्दा नगद कारोबारको कुनै स्रोत नखुलेको पाइएको भएपनि त्यसलाई सामान्य रुपमा लिएको छ । त्यतिमात्रै होइन उक्त म्यानपावरमा छापा मार्दा ग्रीनल्याण्ड सर्भिसेस प्रा.ली नामक म्यानपावरको कागजात समेत भेटिएको छ । यसबारे विभागका अधिकारीहरुले केही नखुलाएपनि उक्त ठगीधन्दामा यो म्यानपावर समेत संलग्न रहेको खुलेको छ ।
याे पनि
शिव कुमार कार्की भन्छन्,‘मैले मेरै खर्चमा दुई युवालाई मलेशिया पठाएर उद्दार गरेँ’