विप्लव माओवादीले विद्यालयमा अनिश्चित तालाबन्दी गर्ने, के–के छन् कार्यक्रम ?

दियो पोस्ट  

काठमाडौ, १८ वैशाख । विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय सदस्य प्रकाश अधिकारी र काठमाडौ जिल्ला सदस्य विकास अधिकारीको रिहाईको माग गर्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन् ।
अखिल क्रान्तिकारी उपत्यका विशेष समन्वय समितिले शनिबार पत्रकार सम्मेलन गरेर उनीहरुको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।
घोषित आन्दोलनको कार्यक्रमहरुमा अनिश्चितकालिन शैक्षिक सस्थामा तालाबन्दी सम्मका रहेका छन । अन्य कार्यक्रमहरुमा वैशाख १९ गते प्रचार प्रसार, वैशाख २० गते जिल्ला शिक्षा कार्यालय घेराउ, २१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा ज्ञापनपत्र बुझाउने र कलेज अगाडि प्रर्दशन गर्ने, वैशाख २२ गतेदेखि जिल्ला शिक्षा कार्यालयमा कर्मचारी प्रवेशमा रोक लगाउने, वैशाख २३ र २४ गते शैक्षिक संस्थाको प्रशासनमा तालाबन्दी गर्ने र बैशाख २५ गतेदेखि अनिश्चितकालिन रुपमा शैक्षिक सस्थामा तालाबन्दी गर्ने रहेको छ ।
पत्रकार सम्मेलनमा संयोजक लोकेश विश्वकर्माले वैशाख १७ गते काठमाडौका जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतममाथि कालोमोसो दलेको घटनामा संलग्न भएको आशंकामा पक्राउ गरिएका अधिकारी द्वयलाई तत्काल रिहा नगरे राज्यले त्यसको गंभिर परिणाम भोग्नु पर्ने चेतावनी दिए । उनले केन्द्रीय सदस्य अधिकारी पक्राउ परेदेखि भोक हडतालमा रहेकोले उनको जीवनको रक्षाको माग गर्दै आफुहरुलाई राज्यले नै आन्दोलनमा जान बाध्य पारेको बताए ।