बाजुरा : पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाजुराले गैरकानुनी रुपमा उत्पादित घरेलु मदिरा बरामद गरी नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ।
नयाँ वर्षमा सुरु गरिएको यस अभियानअन्तर्गत ९१२ लिटर अवैध मदिरा नष्ट गरिसकिएको छ। जिल्लाको कोल्टी, पिलुचौर, विच्छ्याँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोली ठाउँठाउँमा परिचालित भएको छ।
जिल्लामा बर्सेनि खाद्य सङ्कट हुने गरेको भए पनि स्थानीय होटल व्यवसायीले चामल, कोदो, जौ जस्ता अन्न प्रयोग गरी घरेलु मदिरा बनाउने जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले यो अभियान थालेको हो । मदिरा सेवनकै कारण झैझगडा हुनुका साथै समाजमा नराम्रो विकृत्ति सिर्जना हुने भएकाले घरेलु मदिरा नष्ट गर्ने अभियान चलाइएको हो।
स्थानीय बजारमा मदिरा खाएर लट्ठ भएका युवा र अधिकांश जँड्याहालाई प्रहरीले गिरफ्तार गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए।
बोगटीका अनुसार जिल्लामा ठूलो मात्रामा मदिरा सेवन गरेर गाडी चलाउने गाडी चालकलगायत युवालाई समेत सार्वजनिक मुद्दा चलाइएको छ। जिल्लामा खुलेआम मदिरा बिक्री वितरण गर्ने व्यापारीलाई समेत प्रहरीले बन्द गर्न अनुरोध गरेको छ भने नियम विपरीत काम गर्नेमाथि कानुनी हुने चेतावनी दिएको छ।