काठमाडौँ, २ जेठ । व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली बनाउने विषयमा आज बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको बैठक पनि बिनानिष्कर्ष सकिएको छ ।
बैठकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच आआफ्नै अडान कायम रहेपछि बैठक निष्कर्षविहीन भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा सत्तारुढ दलले संविधानको प्रावधानअनुसार नै संसदीय सुनुवाइ समितिमा १५ सदस्य मात्रै व्यवस्था गरेर जान आग्रह गरेको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्क्रमणकालीन व्यवस्थाअनुसार नै समितिमा पुरानै प्रणालीअनुसार जान आग्रह गरेको थियो ।
यही जेठ १३ गतेसम्म प्रमुख प्रतिपक्षी दलसँग नियमावलीका विषयमा सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग वार्ता गर्नसमेत बैठकले आग्रह गरेको छ ।
वार्ताको क्रममा सहमति भएको खण्डमा सहमतिका आधारमा नै नियमावली लेखन प्रक्रियालाई अन्तिम रुप दिने र सो नभएमा मात्रै प्रक्रियाका आधारमा नियमावलीलाई टुङ्गो लगाउने सहमति समेत आजको बैठकमा भएको छ ।