भक्तपुर, ७ जेठ । भक्तपुरमा सञ्चालित इँटा भट्टामा हजारौँ बालश्रमिकको प्रयोग भएको पाइएको छ ।
जिल्लामा सञ्चालित ६२ वटा इँटा भट्टामध्ये अधिकांश इँटा भट्टामा बाल श्रमिकको प्रयोग गरिएको पाइएको छ । चैत, वैशाख र जेठ महिनामा जिल्ला बाल कल्याण समिति र विभिन्न गैरसरकारी संस्थाले पटकपटक गरेको अनुगमनमा यस्तो पाइएको हो ।
भक्तपुर जिल्लालाई सन् २०१७ भित्र बाल श्रम मुक्त जिल्ला घोषणा गर्ने अभियान सञ्चालन भइरहेको भए पनि इँटा भट्टामा काम गर्ने बाल श्रमिकमा भने कमी आउन सकेको छैन ।
रामेछाप फर्कश्वारबाट जिल्लाको नगरकोट नगरपालिका सुडालमा सञ्चालित सरस्वती माता इँटा भट्टामा काम गर्न आएका १४ वर्षका इनोद तामाङले गत पुसदेखि काम गर्न थालेका हुन् ।
इँटा भट्टामा इँटा पल्टाउने, चाङ लगाउने र माटो ओसार्ने काम गर्ने गरेको बताउँदै उनले बाबुआमासँगै इँटा बनाउने कामसमेत गर्ने गरेको बताए ।
सोही भट्टामा काम गर्ने आठ वर्षीया पूजा खत्रीले बिहान इँटा फर्काउने र सुकाउने काम गर्ने गरेको बताइन् । उनले भनिन् ˗ “पैसा कति पाइन्छ, मलाई थाहा छैन, म काम गर्छु, बुबाले पैसाको हिसाब गर्नुहुन्छ ।”
सिन्धुली झागाझोली रातामाटैबाट सुडालकै महामञ्जुश्री इँटा भट्टामा काम गर्न आएका ११ वर्षका मनिष तामाङ र आठ वर्षका अनिल तामाङको दैनिकी पनि इँटा पल्टाएरै बित्ने गरेको छ ।
हातमा किताब, कापी च्याप्नुपर्ने इँटा भट्टाका अधिकांश बालबालिकाको हातले इँटा च्याप्ने गरेको छ । इँटा भट्टामै काम गर्ने सन्तलाल तामाङले बालबालिकाले आमाबाबुलाई सघाउने काम गर्ने गरेको बताउछन् ।
उनले भने ˗ “अधिकांश बालबालिका बाबुआमासँगै आउँछन्, सक्नेले इँटा बनाउन सघाउँछन्, नसक्नेले इँटा पल्टाउने र चाङ लगाउने काम गर्छन् ।”
बाबुआमासँग आउनेबाहेक ११ वर्षदेखि १६ वर्षसम्मका कतिपय बालबालिकालाई इँटा भट्टाका नाइकेले ललाइफकाइ गर्ने गरेको समेत पाइएको छ ।
नाइकेले इँटा भट्टामा कामदार ल्याएबापत मासिक कमिसन पाउने भएकाले कतिपय नाइकेले इँटा भट्टामा बालबालिका ल्याएर काममा लगाउने र बढी कमिसन लिने गरेको समेत अनुगमनमा पाइएको छ ।
नाइके र इँटा भट्टा सञ्चालकले बालबालिकालाई उमेर ढाँट्न सिकाएको समेत पाइएको छ । नाइकेसँग भट्टामा आउने अधिकांश बालबालिकाले आफ्नो उमेर ढाँटेर १६ वर्षभन्दा माथिको बताउने गरेका छन् ।
महामञ्जुश्री इँटा भट्टाका लेखा अधिकृत सहदेव वाटीले इँटा भट्टा सञ्चालकले बालबालिकालाई काममा नलगाउन भने पनि बाबुआमाले लगाउने गरेको बताउनुभयो । नाइकले ल्याउने बालबालिका भने सानै देखिए पनि १६ वर्ष नाघेको बताउने गरेको उनको दाबी छ ।
महिला विकास अधिकृत नीला घिमिरेले इँटा भट्टामा १६ वर्षमुनिका बालबालिकालाई काममा लगाएमा कारबाही गर्ने बताइन् ।
उनले केही दिनअघि गरेको अनुगमनमा महामञ्जुश्री इँटा भट्टामा काम गर्ने तीनजना बालकको उद्धार गरी घर फर्काएको बताइन् । श्रम कार्यालय टेकुका बाल शाखा प्रमुख जालन्धर भुसालले इँटा भट्टामा बालश्रम प्रयोग भएको उजुरी परेमा कारबाही गर्न सजिलो हुने गरेको बताइन् ।
बालश्रम प्रयोग गर्नेलाई रु एक हजारदेखि ५० हजारसम्म जरिवाना र थप क्षतिपूर्ति भराउने कानुनी व्यवस्था भएको बताउँदै गतवर्ष श्रम कार्यालयले यस्ता ७५ वटालाई कारबाही गरेको बताइन् ।
जिल्ला बाल कल्याण समितिले भक्तपुरका साटवटा इँटा भट्टालाई बालश्रम मुक्त घोषणा गरे पनि अझै यहाँका इँटा भट्टामा १० हजारभन्दा बढी बाल श्रमिक रहेको बताइएको छ ।