चितवन, १० जेठ । चितवनमा १७८ वर्षपछि सिम्रिक कामे लियो सिल्ला नामको चरा भेटिएको छ ।
देशमा लोप भएको सूचीमा रहेको यो चरा वर्ड एजुकेसन सोसाइटी र नेपाल पक्षीविद् सङ्घको टोलीले दाहाखानीको चिसापानी टारमा फेला पारेको हो ।
वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु बिडारीका अनुसार १७८ वर्षअघि विदेशीले नेपालमा चरा सङ्कलन गर्ने क्रममा यो जात देखिएको भए पनि त्यसयता नदेखिएपछि लोप भएको सूचीमा राखिएको थियो ।
चाचरे प्रजातिको रातो रङ्गको यो चरा पुनः देखिएसँगै जिल्लामा चराको प्रजाति ६३१ पुगेको उनले बताए। नेपालमा ८७८ प्रजातिका चरा पुगेका छन् ।
खोजीकार्यमा पक्षीविद् डा हेमसागर बराल, नेपाल पक्षीविद् सङ्घका पूर्वी क्षेत्र संयोजक बद्री चौधरीलगायत सहभागी थिए । सोसाइटी र नेपाल पक्षीविद् सङ्घले नयाँ जातको चराको खोजीकार्यलाई तीव्रता दिँदै आएको छ ।
चितवनमा चराको अवलोकनका लागिसमेत विदेशी पर्यटक आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जमा प्रशस्त मात्रामा चरा देख्न पाइन्छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki Editor in Chief: Sudip Bishwakarma