विकट गाउँका भूकम्पपीडित पुनःनिर्माणको आशमा

दियो पोस्ट  

मेलम्ची, ११ जेठ । भूकम्पबाट सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको सिन्धुपाल्चोकका भूकम्पपीडित अहिलेसम्म टहरोमा कठिन जीवन बिताउन बाध्य छन् ।

भूकम्प गएको लामो समयसम्म पनि पुनःनिर्माणको काम अगाडि नबढ्दा जिल्लाको हेलम्बु, गुन्सा, गुम्बा, सेलाङलगायतका अति विकट गाउँका भूकम्पपीडितले कष्टकर दैनिकी काट्नु परेको हो ।

हिउँको चिसो, बर्खायाम, पहिरोको समस्या झेल्दै आएको एक वर्ष बितिसक्दा पनि अझै पुनःनिर्माणले गति नलिँदा पीडितले यो बर्खामा पनि टहरामै गुजार्नुपर्ने देखिएको गुन्सा गाविसका स्थानीय काले गोलेले बताए ।

वर्षामा यहाँ सवारीसाधन नचल्ने भएकाले स्थायी आवास निर्माणका लागि दिने रकम छिटो वितरण भए पीडितले वर्षाका लागि आवश्यक सामग्री जोहो गर्न पाउने थिए ।

त्यस्तै किउल गाविसको शेर्माथाङमा पनि यस्तै समस्या छ । भूकम्पपछि कष्टकर जीवन गुर्जादै आएका ह्यल्मोवासीको बाहूल्यता रहेको उक्त गाउँका बासिन्दा अहिले पनि पालमै छन् ।

ह्यल्मो समुदायका कर्मतोप्के लामा ह्यल्मो भन्छन्,– “हाम्रोजस्तो विकट क्षेत्रमा सरकारको नजर कहिले पर्ला । भूकम्पले तहसनहस बनाएको यत्रो समय बितिसक्दा समेत स्थायी आवासको निर्माणको टुङ्गो नलाग्दा निकै समस्या झेल्नुपरेको छ ।”

लामो समयदेखि सरकारको आशमा बसेका सिन्धुपाल्चोक जिल्लाको भूकम्पपीडितले अहिले सरकारको पुनःनिर्माणको गति अगाडि नबढेकाले भन्दै सरकारले भूकम्पपीडितको वास्तविक समस्या बुझ्न नसकेको गुनासो गरेका छन् ।