गलबन्दी हिट भएपछि प्रकाश सपुत भन्छन्,‘मैले केही चतुर्‍याइँ अपनाएको मात्रै हो’

दियो पोस्ट  

काठमाडौं, १६ जेठ । गलबन्दी यतिबेला युटुभमा ट्रेन्डिङको दोस्रो नम्बरमा छ । सार्वजनिक भएको ४ दिनमै यो ३० लाखभन्दा बढीले हेरिसकेका छन् । सोही गीतका गायक, कम्पोजर तथा शब्दकार प्रकाश सपुत यतिबेला फेरी चर्चित छन् । उनले आफ्नो नयाँ सृजना गलबन्दीबारे नयाँ पत्रिका दैनिकलाई छोटो अन्तरवार्ता दिएका छन् । उक्त अन्तर्वार्ता यहाँ साभार गरिएको छ ।

गीत संवाद

तपाईंको नयाँ गीत ‘गलबन्दी’ अघिल्लो गीत ‘बोल माया’को थिमसँग मिल्छ । गीतमा पनि ‘सिक्वेल’ गर्नुभएको हो ? 
यो बोल मायाकै सुरुवाती कथा हो । तपाईं ‘सिक्वेल’ भन्न सक्नुहुन्छ । तर, यो गीत बुझ्न ‘बोल माया’ गीत सुन्नैपर्छ भन्ने छैन । दुवै सुन्दा गीतको निरन्तरता भने थाहा हुन्छ । कथा र लय फरक भए पनि निरन्तरता दिन खोजेको छु । यसलाई म ‘सिक्वेल’भन्दा पनि ‘प्रिक्वेल’ भन्न रुचाउँछु ।

‘गलबन्दी’ गीतको कथा के हो ?


हाम्रै समाजको कथालाई पुनः देखाउने कोसिस गरेको हुँ । कथालाई आधार बनाएर गीतमार्फत संस्कृति उजागर गर्न खोजेको छु । गलबन्दीको मुख्य थिम झ्याउरे हो । गीतमा कथा त छ नै, सल्लाह पनि दिन खोजेको छु ।

गाउँलेले बच्चालाई लखेटिरहेका छन् । अर्को ‘सिक्वेल’का लागि यो दृश्य राख्नुभएको हो ? 
त्यो बच्चा भाग्नुको कारण कथाले गाउँ छोड्नु हो । मैले केही चतु-याइँ अपनाएको मात्रै हो । अहिले नै तेस्रो भागबारे सोचेको छैन । तर, भोलिका दिनमा निकाल्न पनि सकिएला । ‘बोल माया’ गीतलाई श्रोताले नबिर्सिऊन् भनेर पनि यो दृश्य राखेँ । गीतमा यो मेरो कथा भन्ने शैली हो । यसले दर्शकलाई बाँध्छ । अबको सिक्वेलमा कथा सहर पुग्न सक्छ । फेरि गाउँ देखाइयो भने दर्शकलाई मनोटोनस हुन्छ । 

‘बोल माया’जस्तो ‘गलबन्दी’ पनि हिट होला त ? 
गीत हिट हुन्छ भन्ने सोचेर बनाउँदिनँ । तर, राम्रो हुन्छ भन्नेमा विश्वस्त हुन्छु । विषयवस्तुमा बढी ध्यान दिन्छु । जस्तै, ‘दोहोरी ब्याटल’ अर्कै स्वादको थियो । ‘बोल माया’को स्वाद अर्कै थियो । मेरा गीतमा लय र कथा भन्ने शैली फरक छन् । मेरा श्रोतालाई मनोटोनस पक्कै छैन ।  

‘गलबन्दी’मा दर्शकले के देख्न सक्छन् ?
गाउँघरमा अब त रोदी हराइसकेको छ । विभिन्न चाडमा रोधी बस्ने चलन थियो । रोधीमा दोहोरी खेल्दाको रमाइलो दर्शकलाई याद गराएको हुँ । गीतको मुख्य विषय नै स्थानीय स्वाद हो । मैले रोधी संस्कृतिलाई स्थापित गर्न खोजेको छु ।