विश्वकपको पहिलो भिडन्तमा उत्रिदै नेपाल, कसले मार्ला बाजी ?

टी–२० विश्वकप :

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालले टी–२० क्रिकेट विश्वकपमा आज नेदरल्याण्डस्सविरुद्ध पहिलो खेल खेल्दैछ । यस अघि २०१४ मा पहिलो सहभागिता जनाएको नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । दोस्रोपटकको पहिलो खेलमा नेपालले नेपाली समय अनुसार आज राति सवा ९ बजे नेदरल्याण्डको सामना गर्दैछ ।
नेपाल रहेको समूह डीका अन्य टिममा दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । यी तीनवटै टेस्ट मान्यता प्राप्त देश हुन् । २०१४ को विश्वकपमा नेपाल बंगलादेशसँग पराजित भएपछि नकआउट चरणमा जान असफल भएको थियो । तर नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरेर सनसनी मच्याएको थियो ।
दोस्रोपटकको सहभागितामा पनि नेपाले ठूला टिमलाई पनि स्तब्ध पार्ने मनस्थितिका साथ मैदानमा उत्रिदैछ । दोस्रो पटक ऐतिहासिक विश्वकप खेल्न लाग्दा नेपाली टिम उत्साहका साथ मैदानमा उत्रिने कप्तान रोहित पौडेल बताउँछन् । टी–२० मा सबै टिमलाई बराबरको अबसर हुने भन्दै उनले आफूहरूले उत्कृष्ट खेल देखाउने बताएका छन् ।

के छ नेदरल्याण्डस्सँगको स्थिति ?
नेपाल र नेदरल्याण्डस् दुवै एसोसियट राष्ट्र हुन् । नेपालले एकदिवसीय र टी–२० दुवैमा नेदरल्याण्डस्सँग कडा टक्कर गर्दै आएको छ ।
टी–२० मा २०१२ यताका १२ खेलमा नेदरल्याण्डस्सले ६ र नेपालले ५ खेल जितेका छन् । नेपालले कीर्तिपुरमा नेदरल्याण्डस्विरुद्ध पछिल्ला तीनवटा खेल जितेको थियो ।
५ मार्च २०२४ मा कीर्तिपुरमा अन्तिमपटक नेपाल नेदरल्याण्डस्सँग ४ विकेटले पराजित भएको थियो । अर्को चरणमा पुग्ने आशालाई कायम राख्न दुवै टिम पहिलो खेल जित्नुपर्ने दबाबमा छन् ।
किनकी यी दुईबाहेकका अरु तीन टिम टेस्ट मान्यताप्राप्त हुन् । गएराति भएको यो समूहको पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले सहजै ६ विकेटले पराजित गरेको थियो । टेस्ट टोली श्रीलंका पहिलो खेलमा पराजित भएपछि नेदरल्याण्डस्सँग आजको खेलमा जित्न सके नेपाललाई फाइदा हुनेछ ।
साथै चारमध्ये समूहमा शीर्ष २ भित्र पर्न सक्ने टोली मात्रै सुपर ८ मा प्रवेश गर्नेछन् ।

पहिलो सहभागितामा कस्तो थियो नेपालको खेल ?
पहिलो सहभागिता सन् २०१४ मा नेपालले अफगानिस्ता र हङकङलाई पराजित गर्दै आफूलाई विश्व क्रिकेटको उदयीमान देशको रुपमा अन्तर्राष्ट्रिय मञ्चमा उभ्याएको थियो । हङकङले बंगादेशलाई पराजित गरे पनि नेपाल रनरेटमापछि पर्दै नकआउट चरणमा पुग्नबाट बञ्चित भएको थियो ।
त्यसयताका वर्षमा नेपाली क्रिकेट टिमको लगाव र मेहनत गौरव गर्न लायक हुँदै आएको छ । घरेलु मैदानमा हुने खेलमा दर्शकको साथ, लगावले पनि नेपालले क्रिकेटको भोक अन्तर्राष्ट्रिय स्तरमा देखाउँदै आएको छ । एसिया कपममा भारत र पाकिस्तानसँगको बहादुरपूर्ण प्रदर्शनपछि नेपाली टिमको अन्तर्राष्ट्रिय स्तरमा चर्चा चुलिएको थियो ।
नेपालबाट आज प्रभाव पार्न सक्ने खेलाडीमा कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख रहेका छन् । बलिङमा गुल्सन झा र ऐरीले प्रभाव पार्न सक्नेछन् ।