काठमाडौं, १९ जेठ । चीनका ४१ वर्षका एक व्यक्तिमा दुर्लभ बर्ड फ्लूको संक्रमण भेटिएको छ । कुनै मानिसमा H10N3 स्ट्रेन भेटिएको यो पहिलो घटना हो ।
यद्यपि, अधिकारीले यी व्यक्ति कसरी संक्रमित भए भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर यो स्ट्रेन मानिसबीच सजिलै फैलने नसक्ने बताइएको छ ।
जियाङ्सु प्रान्तमा बस्ने यी व्यक्तिमा अघिल्लो हप्ता संक्रमणको पहिचान भएको थियो । हाल उनी उपचारपछि निको हुने क्रममा छन् र उनलाई चाँडै नै अस्पतालबाट डिस्चार्ज गरिनेछ ।
बर्ड फ्लूका अनेक प्रकार छन्। कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सरेको घटना यदाकदा सुनिन्छ ।
तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा बर्ड फ्लू देखिएन ।
बेइजिङको राष्ट्रिय स्वास्थ्य आयोगले जेनजियांग शहरमा बस्ने यी व्यक्ति गत अप्रिल २८ तारिखमा अस्पताल भर्ना भएका थिए र एक महिनापछि उनी H10N3 द्वारा संक्रमित भएको पत्ता लागेको हो ।
ग्लोबल टाइम्सले राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै भनेको छ, विश्वमा कुनै मानिसमा पनि H10N3 को सङ्क्रमण भेटिएको थिएन ।
यो पक्षीबाट मानिसमा सरेको विरल सङ्क्रमण हो । यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून छ ।’
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रोयटर्स समाचार एजेन्सीलाई भनेको छ, ‘अहिले मानिसबाट मानिसमा उक्त भाइरस सर्ने सङ्केत भेटिएको छैन ।’
यद्यपि, हालको समयमा H5N8 प्रकारको प्रकोप फैलिएको छ । यसैकारण युरोपका थुप्रै देशमा हज्जारौं कुखुरा मरिरहेका छन् ।
यसअघि फेब्रुअरी महिनामा रुसले मानिसमा बर्ड फ्लूको पहिलो मामिलाको विषयमा चेतावनी दिएको थियो । जुन विशेषगरी यसै स्ट्रेनसँग सम्बन्धित थियो ।
गत फेब्रुअरीमा रुसमा उक्त भाइरस मानिसमा पनि सरेको पुष्टि भएको थियो ।
सन् २०१६ र २०१७ मा एभीअन इन्फ्लूएन्जाको H7N9 प्रकारको प्रकोप फैलिँदा झन्डै ३०० जनाको मृत्यु भएको थियो ।
त्यसपछि बर्ड फ्लू मानिसमा ठूलो मात्रामा सरेको देखिएको छैन ।