काठमाडौं । पर्साको बीरगंज महानगरपालिका २५ चण्डालचोकमा तरकारी व्यापार गर्दै आएका जियालाल शाह तुराह समान्य लेखपढ पनि मुस्किलले गर्छन् । २०७९ असार ९ गते घरमै रहेका उनलाई प्रहरीले घरबाटै पक्राउ गर्यो ।

पक्राउपछि उनले आफू विरुद्ध बैंकिङ कसुरको जाहेरी परेको थाहा पाए । तर, बैंकिङ कसुरकै मुद्दा लाग्ने गरि कसलाई चेक दिएको छु भन्ने उनलाई थाहा थिएन । प्रहरीले उनी विरुद्ध आफ्नै भाञ्जा नाता पर्ने पप्पु कुमार शाहले दिएको जाहेरीको आधारमा पक्राउ गरेको उनलाई जानकारी गराए । जियालाल साह तुराहको नाममा रहेको तत्कालिन सिभिल बैंक (हाल हिमालयन बैंक) १९ लाख रुपैयाँ चेक बाउन्स भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, प्रहरीमा बयान दिँदा जियालालले आफूले चेक नै नदिएको र चेकमा भएको हस्ताक्षर पनि आफ्नो नभएको र हस्ताक्षर कसको हो, परिक्षण गरिपाउँ भनि बयान दिएपछि प्रहरीले उनको हस्ताक्षर परिक्षणका लागि प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा पठायो ।

विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उक्त चेकमा जियालाल साहको हस्ताक्षर नमिलेको र अन्य व्यक्तिले नै हस्ताक्षर गरेको प्रमाणित भयो । बैंक मार्फत प्रहरीले सिसिटिभी फूटेज अध्ययन गर्दा समेत चेक बुक लिन जाने व्यक्तिहरु जियालाल होइन अन्य व्यक्ति रहेछन् ।

प्रहरीकै सहयोगमा जियालालले आफ्नो नामको चेक बुक तयार पारि किर्ते तथा ठगी गरेको भन्दै पर्साकै अयोध्या शाह, उरावती देवि, पप्पु कुमार शाह, लड्डु बाबु र हिमालयन बैंक पर्साका शाखा प्रमुख अमर प्रसाद अमात्य विरुद्ध जाहेरी दिए । ‘साविक सिभिल बैंक वीरगन्जमा रहेको चेकबुक सकिएको तर, मलाई थप चेक बुक आवश्यकता परेको भनि विपक्षी मध्येका हरेराम साहले मेरो भाई मुन्ना साहको नागरिकता कतैबाट फेला पारी सिभिल बैंकका तत्कालिन शाखा प्रमुखसँगको मिलेमतोमा मेरो भाई मुन्ना साहको हस्ताक्षर किर्ते गरि बैंकबाट १० थान चेक बुक निकालेको र उक्त चेकमा मेरो किर्ते हस्ताक्षर गरि पटक पटक गरि १ करोड ६५ लाख ९४ हजार ३ सय ८ रुपैयाँ बराबरको रकम चेक काटी आपराधिक विश्वासघात गरि अन्याय गरे,’ उनले जाहेरीमा भनेका थिए ।

जियालालकै जाहेरीको आधारमा किर्ते तथा ठगी मुद्दामा अयोध्याय साहसहितका ५ अभियुक्तहरु विरुद्ध पर्सा जिल्ला अदालतले २०८० पुस २५ मा पक्राउ पुर्जी जारी गर्यो । जिल्ला अदालत पर्सामा पेश गरेको अभियोग पत्रमा विभिन्न मितिमा जियालालको नाममा रहेको खाताबाट एक करोड ६५ लाख ९४ हजार ३ सय ८ रुपैयाँको चेक काटेको र विभिन्न चेकहरु बाउन्स गराउँदै अदालतमा मुद्दा दायर गरेको उल्लेख छ ।
प्रहरी अनुसन्धान प्रतिवेदनमा भनिएको छ,‘जाहेरवाला प्रतिवादी भएको बैंकिङ कसुर मुद्दामा पेश भएको चेकमा विवादित सहि नमिलेको उक्त हस्ताक्षर जाहेरवाला जियालाल साहको नभई फरक व्यक्तिको रहेको भन्ने मिसिल संलग्न परिक्षण प्रतिवेदन तथा सोही परिक्षणकर्ता विशेषज्ञको वकपत्रबाट पुष्टि भएको देखिएका तथा एकै घर परिवारका प्रतिवादीहरु अयोध्या साह, निजको श्रीमती र छोराहरुलाई एक तरकारी विक्री गर्ने यी जाहेरवालाले विना कारण ठूला परिमाणको रकम भरि पटक पटक ६ थान चेकहरु दिन सक्ने अवस्था नदेखिएको ।’
पक्राउ परेका बखत प्रतिवादी मध्येकै अयोध्याय साहले आफूले चेक बुक लिई नेपाल बैंकमा गई गार्डलाई ९५ लाख रुपैयाँ चेकमा भर्न लगाई बाउन्स गराएको बयान दिएका थिए । अदालतसमक्ष वकपत्रका क्रममा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका प्रहरी नायब उपरिक्षक डिएसपी प्रकाश खत्रीले पनि चेकमा हस्ताक्षर जियालाल साहको नभई अन्य व्यक्तिैकै भएको बयान दिएका थिए ।

यसरी प्रमाण र तथ्यहरुले समेत किर्ते र नक्कली हस्ताक्षर हो भनि किटान गरेको एउटा मुद्दामा जिल्ला अदालत पर्साले पीडितलाई हराएर नक्कली हस्ताक्षर गर्ने समुहलाई नै मुद्दा जिताइदिएको छ । पीडित जियालाल साहले जिल्ला अदलात पर्साका न्यायधीश माधव प्रसाद घिमिरे विरुद्ध न्याय परिषदमा उजुरी दिएका छन् ।

प्रहरीको विधि विज्ञान प्रयोगशालाले किर्ते भनि किटान गरेको नक्कली हस्ताक्षरसहितको चेकलाई नै बैध ठहर गर्दै जिल्ला अदालत पर्साले पीडितको हकमा बैंकिङ कसुर ठहर गर्दै सोही चेक चेक अनादर मुद्दामा समेत पीडितलाई नै दोषी करार गर्दै क्षतिपूर्ति भराउने आदेश दिएको हो ।

जिल्ला अदालत पर्साका न्यायाधीश घिमिरले २०८१ फागुन १९ मा गरेको फैसलामा चित्त नबुझाउँदै पीडित जियालाल साहले न्याय परिषदमा उजुरी दिएका हुन् ।
पीडित साहले निवेदनमा न्यायाधीश साहले प्रमाण ऐन २०३१ को दफा ३,५४ र २३ विपरित विवादलाई स्वतन्त्र रुपले निराकरण नगरी मनोमानी किसिमले फैसला गर्दा न्याय सम्पादन गर्ने क्षमतामा अभाव रहेको दाबी गरेका छन् । फैसलामा विशेषज्ञको राय तथा वकपत्रलाई समेत अनदेखागरि खण्डन समेत नगरिएको उजुरीमा आरोप छ ।

त्यस्तै परिषदमा परेको उजुरीमा २०८१ फागुन १९ गते छलफल पेशीमा लगाउ मुद्दा रहेको मुद्दा नम्बर ०७९—C1-०७७५ को ठगी मुद्दाको दैनिक विद्युतीय माध्यममा भने ‘दाबी पुग्ने’ भनि कैफियत महलमा पीडित जियालाल साहको पक्षमा फैसला भएको देखाइएको र भोलिपल्ट विद्युतीय कजलिष्टमा ‘दाबी नपुग्ने भन्दै पीडित जियालाल साहको विपक्षमा फैसला गरिएको उल्लेख छ ।
जिल्ला अदालत पर्साका सुचना अधिकारी रामनरेश महतोलाई प्रतिक्रियाका लागि सम्पर्क गर्दा मुद्दामा राय किताब र फैसला नै अन्तिम हुने उनले बताए । ‘कहिलेकाँही ईजलाश अधिकृतले त्रुटि पनि गरेको हुनसक्छ,’ उनले भने,‘तर, फैसलामा जे छ त्यो नै अन्तिम हो ।’
जियालालको भिडियो बयान यस्तो छ