‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

दियो पोस्ट  

काठमाडौं, ७ साउन । ललितपुरको पुलचोक स्थित बौद्ध मन्दिरको दायाँ तर्फ एउटा भव्य महल छ । निलोे रंगीन कालो ‘सिसमहल’को पहिलो तलादेखि चौथोतलासम्म ‘श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. लेखेको बोर्डले रंगीएको छ ।


तर यो भवनमा सहकारीको आवरणमा अनौठो ‘ठगीधन्दा’ हुने गरेको रहस्य फेला परेको छ । सर्वसाधरणलाई के ऋण दिने र उनीहरुको अर्बौंको सम्पत्ति लिलामी गरी बेचविखन गर्ने धन्दा नै चल्ने गरेको पाइएको छ ।


लालीगँरास सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले एक व्यक्तिलाई सडकमा पुर्याएको खुलाशा भएको छ ।


जावलाखेल घर भएका केशव पुरीसहितका पीडितलाई २ करोड २० लाख रुपैयाँ ऋण दिएर उनको २१ करोडभन्दा बढीको सम्पत्ति हत्याएको पाइएको छ ।

‘म र मेरो साथी भएर ललितपुरको नख्खुमा चार रोपनी ८ आना जग्गा किन्न बैंकमा प्रक्रियामा थियौँ । म आइरहने क्लबमा लालिगुराँस सहकारीका सिइओ सुरेन्द्र भण्डारी पनि आउँथे । उसले हामीले जग्गा किन्न लागेको थाहा पाएपछि नजिकियो,’ शुरुका दिन सम्झँदै पीडित केशव पुरीले भने,‘उसले दाई किन बैंक तिर काम गर्नुहुन्छ ? हाम्रै सहकारी छ आउनुस् सँगै काम गरौँ । मेरो सहकारी भनेको तपाईंको जस्तै हो भनेपछि बैंकबाट झन्जटिलो प्रक्रिया हुने भएकाले उसकै सहकारीबाट ऋण निकाल्ने निधो गरेँ ।’


पीडित पुरी, योगेन्द्र सिलवालसहितको टिमले ललितपुर महानगरपालिका वडा नम्बर सात नख्खुको जग्गा खरिद गरेको थियो । उनीहरुले कित्ता नम्बर ८५, ११७, ८७, ९३,९५,१०१, १०२ र ८८ नम्बरको ४ रोपनी ७ आना ३ पैसा जग्गा खरिद गरे । लालीगुँरास सहकारीबाट २ करोड २० लाख ऋण लिइएको थियो । तर केशव पुरीको भागमा ९० लाख मात्रै ऋण थियो । ऋण लिएको एक वर्षसम्म उनीहरुले सहकारीलाई ब्याज बुझाइरहेका थिए ।


तत्कालिन गभर्नर हालका अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा सहकारीहरुले ५० प्रतिशतभन्दा बढी सम्पत्तिमा घर जग्गामा लगानी गर्न नपाउने सर्कुलर गरिदिए । त्यसको भोलीपल्टैबाट जग्गा कारोबार सुक्यो ।


त्यस्तैमा पुरीले पनि आफ्नो जग्गा बेच्ने निधो गरे ।


‘जग्गा सहकारीमै थियो । त्यो जग्गा बेच्दा ऋण तिरेर हामीलाई ५० लाख प्रतिव्यक्ति आउँथ्यो । हामीले उक्त जग्गा बेच्नका लागि प्रस्ताव लिएर गयौँ । तर उस(सुरेन्द्र भण्डारी)ले,‘ह्या दाई यस्तो जग्ग पनि तपार्ईंले बेच्ने, यो त भोली ३० औँ लाख तिरेर पनि आउँदैन । म छु दाईलाई के को टेन्सन् भनेको थियो,’ पीडित केशव भन्छन्,‘तर उसले घरमा चिठी काट्न पो थालेछ । हप्ताको एक पटक चिठी काट्न थाल्यो । उसलाई भेटेर हामीले भन्यौँ,‘तपाईंले चिठी काटेको छ त ?’ उसले भन्थ्यो,‘बोर्डले काटेको हो । म भएपछि दाईलाई के को तनाव भन्ने गथ्र्यो त्यो सबै मेरो सम्पत्ति खाने नाटक पो रहेछ ।’

लालीगँरास सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी


केशवले जग्गा बेच्न विभिन्न व्यक्ति लिएर गए । हंगकङका लाहुरेसम्म उनको जग्गा किन मोलमोलाइ गर्न आउँथे तर, लालिगुँरासका सिइओले रोकिरहे ।

‘दाई त्यो सम्पत्ति नबेचौँ । भोली त्यो करिडोरमा जग्गा किन्न पाइन्छ ? हामीले बेचेपछि अर्काको भइहाल्छ नी भन्ने गरेको थियो,’ सिइओ भण्डारीको भनाई सम्झँदै केशव भन्छन्,‘ मसँग जग्गा किन्न आउने व्यक्तिलाई बोलाएर यो जग्गामा लफडा छ नकिन्नुस् भनेर डबल रोल पो खेल्न थाल्दो रहेछ ।’
आफ्नो सम्पत्ति बेच्न नपाएपछि केशवले सिइओ भण्डारीलाई भेटन् पटक पटक धाए तर उनलाई भेट्न समेत रोक लगाउन थालियो ।


‘उ ३ घण्टासम्म एक्लै हुन्थ्यो म बाहिर कुरेर बस्थेँ । तर भित्रबाट मिटिङमा हुनुहुन्छ तपार्ईं अहिले जानुस् भनेर मलाई भेट्न समेत दिएनन्,’ केशवले भने,‘त्यो क्रम महिनौँ सम्म चल्यो । त्यसैको केही दिनमा उसले हाम्रो जग्गा लिलाम प्रक्रियामा निकाल्यो । मालपोत देखि नापीसम्म उसको सेटिङ छ,’ पीडित पुरी भन्छन,‘ मैले सहकारी महासंघ नेपालको अध्यक्ष केशव बडाललाई भेटेँ । तर उहाँले पनि केहीगर्न सक्नु भएन ।’


केशवको दैनिकी यस्तै चलिरहेको थियो । उनलाई सहकारीबाट फोन आयो ।
‘दाई मलाई बोर्डले साह्रै पेल्यो । तुरुन्तै जग्गा बेच्ने मान्छे छैन । मैले पनि खोजी राखेको छु । कुरा मिल्लामिल्ला जस्तो छ । बोर्डले अलि च्यापेको हुनाले दाईको अर्को ठाउँको प्रोपर्टी अलिकति राखेर मिलाउन पर्यो भन्यो । मैल तिमीले मलाई फसाई भन्दा उसले ह्या दाई । म मिलाउँछु भनेर आश्वासन दियो,’ केशव आफू ठगिएको कथा सुनाउँछन्,‘मैले विश्वसमा परेर गोदावरीको सात रोपनी ९ आना जग्गा राखेयौँ ।’


केशवका अनुसार त्यतिबेला उनले नख्खुमा किनेको जग्गा निखन्नका लागि गोदावरीको जग्गा धितो राखेका थिए । तर, लालिगुराँस सहकारीका सिइओ भण्डारीको नियत अर्कै थियो । केशव त्यहाँ पनि फसे ।

‘नख्खुको जग्गा निखन्नका लागि त्योबेलामै आनाको करिब ३ लाख आना पर्ने गोदावरीको ७ रोपनी जग्गा र अर्को एक रोपनी पनि राखेँ । तैपनि मिल्छकी भन्ने आस थियो,’ उनी भन्छन्,‘त्यो जग्गा लालिगुँराँस सहकारीमा राख्नासाथ सिइओ भण्डारी फेरी भाले भयो । मलाई थाहा पनि थिएन । तर मालपोतमा मेरो किर्ते सहि गराएर चिठी बुझाएछ । त्यसको अफिसमा नक्कली सहि गराउने मान्छे नै छ । त्यहाँ तपाईंको सहि पनि जस्ताको तस्तै गर्ने मान्छे छन् । ती क्रिमिनल दिमागका मान्छे हुन् । त्यो मान्छेले मेरो घरमा चिठी पठाउने र मैले चिठी बुझेको मेरो नक्कली हस्ताक्षेर गरेको समेत पाइयो । उसैले मालपोत मिलाउने र त्यो जग्गा दाखिल खारेज गरेर सुरेन्द्र भण्डारीको आफन्तको नाममा मेरो जग्गा पास भएको थाहा पाएँ ।’


पीडित भण्डारीका अनुसार नख्खुको ४ रोपनी ८ आना ३ पैसा जग्गा यतिबेला सिइओ भण्डारीले आफूले सस्तोमा सकारेका थिए ।


आफ्नो जग्गा किर्ते गरेर सहकारीले बेचविखन समेत गरेपछि मात्रै पुरीले सहकारीकै एक कर्मचारीबाट थाहा पाएका थिए ।


‘मलाई केशव पुरी भनेको तपाईं हो । तपाईले मलाई चिन्नुहुन्न । म पनि लालीगुँरासमा काम गर्छु’ भन्दै एक जनाले फोन गरेपछि म झस्किएँ,’ ती कर्मचारीको भनाई उदृत गर्दै पीडित पुरीले भने,‘तपाईंको जग्गा दाखिल खारेज गरेर लगिसकेको छ । तपाईं उपस्थित भएर बैंकमा ओके गरेको चिठीमा सहि गराएको छ । पेपरमा निकालेपछि तपाईंलाई जानकारी भो भनेर पुगेको चिठीमा पनि तपाईंको हस्ताक्षेर छ,’ यसो भनेपछि मलाई निकै पीडा भयो ।’


पीडित पुरीले विभिन्न निकायमा उजुरी दिएका छन् । तर, जहाँ उजुरी दिएपनि सिइओ भण्डारीको सेटिङ भएका कारण आफूले न्याय नपाएको उनको गुनासो छ ।


‘म सबै प्रमाण लिएर नेपाल प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीको कार्यालयमा पुगेँ । तर सिआइबीले धोका दियो,’ उनी भन्छन्,‘अहिलेपनि विभिन्न निकाय धाइरहेको छु तर न्याय पाउन सकेको छैन ।’


पीडित पुरी र सिलवालले दिएको उजुरीमा २ करोड २० लाख ऋण लिएको र उक्त ऋणको केही ब्याज समेत तिरिसक्ता समेत आफूहरुको हालको मुल्यांकनमा २१ करोडको सम्पत्ति सहकारीले हत्याएको उल्लेख छ ।


लालीगुराँस सहकारीबाट अन्य दर्जनौँ व्यक्तिहरु ठगिएको पाइएको छ । उनीहरुले विभिन्न निकायमा उजुरी समेत दिएको भएता पनि सरकारी निकायले कुनै कारबाही गरेको छैन ।
लालीगुराँस सहकारीले गायक रामकृष्ण ढकाल, धादिङकी भगवती सापकोटा, श्याम बहादुर खत्री लगायत व्यक्तिहरुलाई ठगी गरेको रहस्य खुल्दै गएको छ ।

श्री लालीगुराँस सहकारीको ठगीधन्दाको विषयमा बुझ्नका लागि पुल्चोक स्थित केन्द्रीय कार्यालयको फोन नम्बर ०१–५५४६१८० मा टेलिफोन गर्दा फोन उठाउने व्यक्तिले कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको नम्बर दिन नमिल्ने बताए ।

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !