कोरोना संक्रमितमा यस्ता लक्षण पनि देखिन्छन्

कोरोना संक्रमितमा यस्ता लक्षण पनि देखिन्छन्

काठमाडौँ, साउन १३ । बेलायतका वैज्ञानिकहरूले लक्षणका आधारमा कोरोना भाइरस ६ प्रकारको रहेको पत्ता लगाएका छन् । विभिन्न तथ्यांक विश्लेषण गरेर लक्षणका आधारमा भाइरसको किसिम फरक-फरक रहेको पाइएको हो । भाइरसको किसिमअनुसार संक्रमितमा फरक लक्षण तथा जटिलता देखिने अनुसन्धानकर्ताहरू बताउँछन् । तर, त्यसै आधारमा संक्रमितको उपचार गर्नुपर्ने उनीहरूको भनाइ छ । भाइरसको प्रकार छुट्याउन सकेमा उपचार र नियन्त्रण गर्न सहज हुने अध्ययनमा जनाइएको छ । अध्ययनमा सहभागी गराइएका संक्रमितमा एक-अर्काभन्दा फरक लक्षण देखिएको थियो ।

ज्वरो नदेखिनु : संक्रमितमा टाउको दुख्ने, स्वाद थाहा नपाउने, मांसपेशी दुख्ने, खोकी, घाँटी दुख्ने, छाती दुख्नेजस्ता लक्षण देखिन्छन् । तर, यी संक्रमितमा ज्वरो भने देखिएन । 

ज्वरो देखिनु : यस्ता संक्रमितमा टाउको दुख्ने, खोकी लाग्ने, स्वाद थाहा नपाउने, घाँटी दुख्ने, खानामा अरुचि हुनुका साथै ज्वरो पनि आउने गर्छ । 

ग्यास्ट्रोइन्टेस्टाइनल : यो भाइरसले डाइरियाको समस्या निम्त्याउँछ । यससँगै खानामा अरुचि हुने, टाउको दुख्ने, स्वाद थाहा नहुने, घाँटी र छाती दुख्ने समस्या हुने गर्छ । यस्ता बिरामीमा खोकीजस्ता लक्षण देखिन्न । 

थकान : यो चौथो किसिमको भाइरस हो, जसलाई अन्वेषकहरूले सिभिएर लेभल वानको नाम दिएका छन् । यो भाइरसबाट संक्रमित भएका बिरामीमा थकानसँगै टाउको दुख्ने, गन्ध महसुस नगर्ने, ज्वरो, खोकी र छाती दुख्नेजस्ता लक्षण देखिन्छन् । 
भ्रम : यो भाइरसबाट संक्रमित बिरामीमा गम्भीर किसिमका समस्या देखा पर्छन् । सामान्यतया कोभिड भाइरसको संक्रमणबाट देखिने अन्य लक्षणसँगै बिरामीमा भ्रमको समस्या पनि देखिन सुरु गर्छ । 

पेट र श्वासप्रश्वासमा समस्या : संक्रमणका कारण गम्भीर स्वास्थ्य जटिलता देखिएका बिरामीमा पेट र श्वासप्रश्वासमा समस्या देखिन्छ । डाइरिया हुने, मांसपेशीसँगै पेट दुख्ने, सास फेर्न गाह्रो हुने, खोकी, ज्वरो र निमोनियाजस्ता सिभिएर लक्षण देखिन्छन् । यस्ता बिरामीलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने आवश्यकता हुन्छ । 

नयाँ पत्रिकाबाट

Trending News