एसियाली खेलकुदमा सहभागी हुन १३६ नेपाली खेलाडी जापान जाँदै

दियोपोस्ट संवाददाता

काठमाडौं । जापानको आइची-नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलका अनुसार प्रतियोगितामा ८० पुरुष र ५६ महिला गरी कुल १३६ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यसैगरी, नेपाली टोलीसँग ३२ जना प्रशिक्षक पनि रहनेछन् ।

नेपालबाट आर्चरीमा १-१ पुरुषरमहिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २-२ पुरुषरमहिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १-१ पुरुषरमहिला तथा डान्स एन्ड स्पोर्ट्समा १ पुरुष खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा ३-३ पुरुषरमहिला, कबड्डीमा १२-१२ पुरुषरमहिला, करातेमा ३ पुरुष र ५ महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १-१ पुरुषरमहिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा ३र३ पुरुषरमहिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, महिला भलिबलमा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ८ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

चीनको हाङझावमा भएको १९औँ एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडी सहभागी भएका थिए । १ सय २६ पुरुष र १ सय २७ महिला खेलाडीले भाग लिएका थिए ।

हाङझाव एसियाडमा नेपालले समान १-१ रजत र कांस्य पदक जितेको थियो । ऐतिहासिक पदक जित्ने क्रममा करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कांस्य जितेको थिए । एसियाडमा दुवैको पहिलो सहभागिता थियो । २०औँ एसियाड असोज ३ गतेदेखि सुरु हुँदैछ ।

सिफारिस