
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राकृतिक विपद्का कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय तथा सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै परीक्षा स्थगित गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, भदौ १२ गतेका लागि निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
मन्त्रालयले स्थगित भएका परीक्षाको संशोधित परीक्षा तालिका उपयुक्त समयमा सार्वजनिक गर्नसमेत सम्बन्धित निकायलाई भनेको छ।
यसैगरी अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत स्थगित गर्न निर्देशन दिइएको छ।
विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क र समन्वय कायम गर्दै आवश्यक सहयोग तथा सहजीकरण गर्न मन्त्रालयले निर्देशन दिएको छ।