रामकृष्ण ढकालको बयान: ‘श्री लालीगुराँस सहकारीका कारण मेरी श्रीमतीले आत्महत्या गर्न खोजिन्’

रामकृष्ण ढकालको बयान: ‘श्री लालीगुराँस सहकारीका कारण मेरी श्रीमतीले आत्महत्या गर्न खोजिन्’

काठमाडौं, ३१ साउन । बरिष्ठ गायक रामकृष्ण ढकालले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कारण श्रीमती निलम शाह ढकालले आत्महत्या प्रयास गरेको खुलाशा गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका क्रममा ढकालले आफूलाई र आफ्नो परिवारलाई श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले चरम मानसिक यातना दिएको खुलाशा गरेका हुन् ।

आफूलाई २०६६ सालमा लालीगुराँस सहकारी आफैले घरमै आएर ऋणको प्रस्ताव गरेको र चिनजानकै आधारमा १ करोड ८० लाखमा घर किनेको उनले बताए ।
घर किन्ने क्रममा घरको मुल्यांकन साँढे २ करोड देखि ३ करोड रुपैयाँ मुल्यांकन गरिएको र लिलामी गर्दा भने १ करोड ५० लाखमा सहकारीले नै सकारेको उनले खुलाशा गरे ।
ढकालले के भने ?

मलाई २०६६ सालमा श्री लालीगुराँस सहकारी संस्थाले ऋण लिन प्रस्ताव गरेको हो । उहाँकै सहयोगी साथीहरुले घर देखाउनु भयो । म एउटा घरमा भाडामा बस्थेँ । सम्पत्ति किन्ने कुरा राम्रै हो । आउनुस् हामी छँदैछौँ भनेपछि मैले १ करोड ८० लाख रुपैयाँ ऋण लिएँ । राष्ट्र बैंकको निति अनुसार एक करोड ८० लाखको घर खरिद गर्नका लागि त्यो सम्पत्तिको मुल्यांकन २ करोड ८० लाखदेखि ३ करोड हुनुपर्छ । भ्यालुएशनको ६० प्रतिशत ऋण दिने प्रचलन छ ।

उहाँले त एक पैसा पनि तिर्नुभएको छैन भन्नु भएको छ । तर ऋण लिएपछि तिर्नुपर्छ भन्ने कमनसेन्सको कुरा हो । मलाई पनि त्यो कुराको जानकारी छ । त्यो बाहेक करिब २ वर्षको अन्तरालमा ५० लाख रुपैयाँ मैले तिरेको छु । करिब ८० देखि ९० लाख रुपैयाँ मेरो आफ्नै नगद परेको छ घर किन्दा । श्रीमतीको नाममा ऋण लिएपछि मैले सकेको पैसा तिरेँ । तर मान्छेको व्यबहार भन्ने कुरा सँधै एउटै हुँदैन । मलाई केही समस्या पर्यो । शुरुमा त्यस्तो स्वागत गर्नुभएकोले मैले केही राहत होलाकी भन्ने आशा गरेँ । उहाँले आफ्नो घरका कार्यक्रममा तुरुन्तै फोन गरेर बोलाउने । कहिलकाँही बोलाउँदा नगयो भने रिसाउने गर्नुहुन्थ्यो । मेरोबाट ऋण लिने तर तँ नआउने भन्ने खालको बार्गेनिङ हुन थाल्यो । उहाँको एउटा कार्यक्रममा मलाई बोलाउनु भयो । मैले भनेँ मलाई २ लाख रुपैयाँ फि दिनुस् । उहाँले त्यत्तिका ब्याज लगाउन हुने तर मैले चाहीँ किन फ्रिमा गित गाउनुपर्ने ? त्यसको इगो हुन थाल्यो ।

मैले ऋण सेटल गर्न खोजेँ । हामीले कमाएको भनेको नाम हो । त्यो नाम बदनाम गर्न पक्कै पनि चाहाँदैनौँ । पछि उहाँले हामीलाई भेट दिन छाड्नु भयो । सिसि क्यामेराबाट हेर्ने र देख्ने वित्तिकै एकाउन्टमा पठाउने गर्नुभयो । म पनि एउटा देशको प्रतिष्ठित कलाकार हुँ । मलाई पनि इगो फिल हुन्छ । मलाई समस्या थियो । म कार्यक्रमहरुमा बाहिर जानु पर्ने थियो । सुचना निकाल्ने धम्की आयो । मैले बाहिरबाटै फोन गरेर मिलाउन खोजेँ । अन्तिममा हामी जाने भनेको अदालत नै हो । उहाँले मलाई गुन्डा लगाएको आरोप लगाउनु भएको छ । गुन्डा उहाँको फोर्समा मलाई पो लगाइएको छ । त्यसपछि हामी अदालतमा सुचना निकाल्न रोक लगाउन स्टेअर्डर माग्न गयौँ । संघ संस्था कहिलेपनि विवादित हुँदैन । त्यसका केही मान्छेहरुले गर्दाखेरी विवादित हुन्छ । उहाँकै प्रभावमा स्टे अर्डर रोकियो ।

मैले ५० लाख तिरेपछि २ करोड २५ लाखको हाराहारीमा त्यो ऋण र घरजग्गा सेटलमेन्ट हुन्थ्यो । बानेश्वरको एक जना हर्ताकर्ताले फोन गरेर यो लोन मिलाउन आउन पर्यो भन्नु भयो । त्यो संस्थामा गएर भनेँ । ‘यहाँ राष्ट्र बैंकको चेकिङ आउँछ । तपाईंको लोनको ब्याज अलि बढि भइसकेको छ । तपाईंलाई हामी ५६ लाख एमाउन्टको अर्को लोन दिन्छौँ,’ उहाँहरुले भन्नु भयो । त्यही रकम त्यतिनै बेला मैले सोही सहकारीलाई ब्याज बुझाएँ । त्यो बीचमा ताकेता गर्ने चलिरहेको थियो । मेरो घरमा सानी छोरी रानीलाई यहाँहरुले चिन्नु हुन्छ । उनीहरुलाई निकै मानसिक तनाव दिइयो । उनीहरु घरको पर्दाबाट चियाएर बाहिर हेर्थे । उनीहरु त्रासमा बाँचेका थिए । मलाई फोन गर्दा मलाई फिल हुन्थ्यो ।

मेरो दिनचर्या विहान उठेर रियाज गर्ने होइन घर किन्ने मान्छे खोज्ने हुन्थ्यो । धेरै ठाउँमा गएँ । त्यो सम्पत्ति पनि राम्रै थियो । एक करोड ८० लाख दिएर २ करोडमा ऋण सेटल गर्न खोजेँ तर मान्नु भएन । उहाँले ब्याज मिनाहा गर्दा दुई चार हजार मात्रै हुन्थ्यो । जबकी उहाँको आफन्तलाई भने शुन्य प्रतिशतमा ऋण दिइन्थ्यो ब्याज मिनाहा हुन्थ्यो ।

मेरो लागि फलानाले फोन गर्यो भन्नु भएको छ । म एउटा प्रतिष्ठित कलाकार हो । उहाँले मलाई सोध्नु भयो । के छ उहाँको अलिकति हेरिदिनुस् भन्नु भएछ । तर मैले ऋण तिर्दिन भन्न गएको होइन । मैले रकम तिरेपछि सेटल गर्न मान्नु भएन । ५६ लाखलाई ऋणको कागजात बनाइयो । उहाँको इन्टेन्शन नै रहेछ । पछि लिलामी गरियो । उहाँले दिनु भएको ऋण एक करोड ८० लाख थियो । त्यो दिनका लागि त्यसको भ्यालुएशन झन माथि हुनुपर्छ । ६६ सालमा लिएको ऋण ७० सालमा लिलामी गर्दा त्यसको प्रोपर्टी भ्यालु बढ्छ की घट्छ । उहाँहरुले एक करोड ४०÷५० लाखमा आफैले सकार्नु भयो । मेरो सम्पत्ति भनेको एउटा घर नै गएपछि म मिडियामा गएर के नगएर के ? मेरो लाईफको गलत डिसिजन थियो भनेर सम्झिएँ । मेरो नियती थियो । मैले भोग्नुपर्ने थियो । कहिलेपनि मिडियामा आइन ।

लिलामी पछि फेरी मलाई ताकेता गर्न थाल्नु भयो । ताकेतापनि अफिसको स्टाफ भन्दा भुषतिघ्रे मान्छेहरु आउँथे । यद्धपी मेरो घर जहाँ मेरो छोरी खेलेको थियो । मेरो मिठा सम्झनाहरु थिए । त्यो घर नै सकिएपछि मसँग के पैसा छ र मैले दिने ? समय वित्दै गयो । त्यो प्रक्रिया रोकिएन । हामी जाने भनेको अदालतमै हो । मैले जिल्ला अदालत ललितपुरमा हर हिसाबको मुद्दा हालेँ । बरिष्ठ अधिवक्ता शम्भु थापाले मुद्दा लड्नु भयो । २०७२ सालमा मुद्दा चलेको हो । हामी वादीले मुद्दा हालेपछि प्रतिवादी लालीगुराँसले कतिपैसा लिनुपर्ने हो दाबी गर्न आउनुपर्ने थियो । तर उहाँहरुले अदालतमा उपस्थिति नै जनाउनु भएन । त्यसपछि त्यो मुद्दा टुंगियो । ३५ दिनको पुनरावेदन गर्नुपर्ने हुन्छ तर ४ वर्षसम्म केही गर्नुभएन । किन भने उनीहरुले मलाई बिना धितो ५६ लाख ऋण दिएर सोही ठाउँमा ब्याजको नाममा राखेका थिए । त्यो पेश गर्दा फस्ने डर रहेछ ।

सहकारी ऐन अनुसार लिलाम भएको एक वर्ष भित्र बाँकी कर्जा भए अन्य जायजेथा लिलामी गरेर सकार्नुपर्ने रहेछ । बढी भए उहाँहरुले आफै फिर्ता दिनुपर्ने रहेछ । तर उहाँहरुले ब्ल्याकमेल गर्न छाड्नु भएन । चार वर्षसम्म चिठी र कल आएन । तर केही दिनअघि कान्तिपुरमा एउटा विज्ञप्तिको नाममा सुचना छापियो । तल गएर साउन २० गतेसम्म मेरो नाम र श्रीमतीको नाममा करिब ५ करोड ऋण देखाइयो । पैसा तिर्न आउ भन्ने छैन । त्यो एउटा ब्ल्याकमेलिङ हो । मेरो दायीत्व छैन मैले घर बुझाएँ सबै सम्पत्ति बुझाएँ अब छैन भनेर म अदालत गएँ । अदालतले हर हिसाब गर्न आउ भन्दा सहकारी हरहिसाब देखाउन नै गएन । अब मैले कहाँ के तिर्ने । यहाँ म जस्ता ३ सय जनाभन्दा बढी पीडित रहेछ । म जस्तो मान्छेलाई त यस्तो पीडा दिएको छ भने अरुको आवाज कसरी आउला । उहाँको जहाँ पनि प्रभाव छ । श्री लालीगुराँसको पर्दाफास हुन्छ भन्दै प्रोमो बजाइन्छ तर कार्यक्रम आउँदैन । पीडितको अन्तर्वार्ता लिएर पीडकको अन्तर्वार्ता बजाइन्छ । त्यहाँ पीडितहरुको अन्तर्वार्ता आउँनुपर्दैन । मैले ऋषीजीलाई पनि सोधेँ र पीडितको कुरा किन आएन भनेर सोधेँ । उहाँले गल्ती स्विकारर्नु भयो । यसको सम्पूणै कतुर्त दियोपोस्ट डटकममा उल्लेख गरिएको छ । उहाँहरुले प्रमाण सहित श्रङखलाबद्ध समाचार राख्नु भएको छ । त्यो प्रमाण तपार्ईहरुले दियोपोस्टबाट हेर्न सक्नुहुन्छ । मेरो नाम पत्रिकामा छापेर मलाई धम्की दिइएको छ । मैले कानुनविदहरुसँग छलफल गरेको छु । त्यो निश्चय पनि मानहानीको मुद्दा हुनेछ । म कानुनी लडाईं पक्कै लड्छु । यदि म गलत छु भने मलाई सजाय दिनुस् तर हामी पीडितको कुरा पनि आवोस् । हामी निर्दोश छौँ र कसैबाट पीडित छौँ ।

स्रोता दर्शकमा एउटा भ्रम छरिएको छ । रामकृष्ण ढकालले साँच्चै ऋण लिएर नतिरेको होकी भनिएको छ । वास्तविकता त्यो होइन । सुरेन्द्र भण्डारीले एउटा अन्तर्वार्तामा चार वर्षसम्म रामकृष्ण जीलाई भेट भएन भन्नु भएको छ । के म कुनै भूमिगत मान्छे हुँ र ? हाम्रो यतिधेरै कार्यक्रम हुन्छ जहाँ टिकेटमा नाम राखिएको हुन्छ । स्थान र भेन्यु राखिएको हुन्छ । म कहाँ बस्छु भन्ने उहाँलाई थाहा छ । १० मिनेटमा हिँडेर पुगिन्छ । उहाँले भ्रम छर्नु भएको छ ।

उहाँ त अदालतभन्दा माथिको मान्छे हो जस्तो लाग्छ । मुद्दा चलिरहेको विषयमा पत्रिकामा सुचना निकाल्नु हुन्छ । उहाँलाई कसले भन्ने । नेपाली उखानमा भनिन्छ नी छोरी कुटेर बुहारी तर्साउने भनेजस्तै रामकृष्ण ढकालको त सुचना निकालीन्छ भने तिमीहरु त के होर ? भनेर रवाफ देखाउन मेरो बद्नामी गरिएको हो । कार्यक्रम डिलिट गर्नुले नै धेरै कुरा छर्लंग हुन्छ । उहाँले बार्गेनिङ गर्न सुचना निकाल्नु भयो । कान्तिपुर पत्रिकामा सुचनाको नाममा विज्ञप्ति आएपछि घरमा तनाव भयो ।

मिसेसले त्यही खालको तनाव लिइरहनु भएको छ । एक दिन बेलुका श्रीमतीले रुँदै म आज सुसाइड गर्छु भनिन् । त्यो घटना हो जे पनि हुनसक्छ । अनि यो कुरा बाहिर ल्याउनुपर्छ भनेर मैले आज बोलेँ । जीवनको अँध्यारो पाटोको विषयमा किन बोल्नु भनेर चुप बसेँ । आज त्यो समयले मागेपछि मैले बाहिर ल्याएँ । धन्यवाद ।

सम्बन्धित समाचार

Trending News