झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रातारात षड्यन्त्रमुलक ढंगले सरकार ढालेको भन्दै आपत्ति जनाएका छन्।
आइतवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसारमा सामान्य रुपमा हुँदै नहुने कुरा गरेर रातारात सरकारबाट आफूलाई हटाएको बताए।
पूर्वप्रधानमन्त्री दाहालले नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरूलाई पक्राउ गरेपछि र गिरिबन्धु टी स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको दाबी गरे।
उनले भने, ‘जब नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरू फरार थिए, ति फरार अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरिबन्धु टी स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु, सुई बूढानीलकण्ठ र बालकोटतिर सिधै सोझियो। दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बूढानीलकण्ठतिर। र रातारात षड्यन्त्रमुलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो।’
उनले भ्रष्टाचारीलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेको आरोपसमेत लगाए।