प्रतिवेदनमाथि रविको प्रतिक्रिया– चेक नकाटेर एमडीले के घाँस काट्ने कुरा आउछ त ?

सहकारी ठगी प्रकरण :

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडियामा आएको पैसा प्रबन्ध निर्देशक (एमडी) का हैसियतमा चेक काटेको बताएका छन्।

सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन समिति सभापति सूर्य थापाले सोमबारको प्रतिनिधि सभा बैठकमा पेस गरेका छन् ।

उक्त प्रतिवेदन कार्यान्वयनका लागि सभामुख देवराज घिमिरेले निर्देशन दिइसकेका छन्। त्यो प्रतिवेदनमा सहकारीको बचत अपचलनमा लामिछाने दोषी देखिएको पाइएकोले निष्कर्ष छ।

प्रतिनिधि सभा बैठकपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले सहकारी समस्या समाधानमा जानुपर्ने बताए ।

‘अझै पनि भास्य निर्माण गर्न त्यहाँबाट गएको पैसा त्यसले चलाएको त हो नि भनेर भनिएको छ,’ संसदीय छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेका विषयप्रति लक्षित गर्दै लामिछानेले भने, ‘आएको पैसा त्यहाँ आन्तरिक प्रशासन चलाउन चेक नकाटेर एमडीले के घाँस काट्ने कुरा त आउँदैन नि त। चेक नै काट्ने होला नि !’

उनले प्रचलित कानूनविपरीत कुनै कमजोरी भएको भए सजायको भागीदार हुनुपर्ने पनि बताए।

‘जुन विषयमा मलाई लाञ्छना लागेको थियो त्यो समितिले प्रष्ट बनाएको छ। प्रचलित कानुनअनुसार कतै गडबड गरेको भए सजायको भागीदार हुनुपर्छ। गोर्खा मिडिया सञ्चालनका क्रममा मबाट गलत भएको रहेछ भने, कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा कमजोरी भएका रहेछन् भने भागीदार हुनुपर्छ, त्यसकारण हामीले सहमति गरेर प्रतिवेदनमा हस्ताक्षर गर्‍यौं,’ उनले भने।

ग्यालेक्सी टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडियामा लामिछाने प्रबन्ध निर्देशक थिए।

सिफारिस