धादिङ, २२ भदौ । गजुरी गाउँपालिकाले मलेखु बजारमा निर्माण गरेको माछाको मूर्तिमा भएको घोटालामा गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतकै समलग्नता देखिएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मा पर्ने मलेखु बजारमा केही महिनाअघि मत्स्य गेट ‘माछाको मूर्ति भएको प्रतिमा’ निर्माण सम्पन्न गरेको थियो ।
उपभोक्ता समिति अन्तर्गत निर्माण भएको उक्त गेट निर्माण देखि भुक्तानीसम्म गाउँपालिका अध्यक्ष बस्नेतको प्रत्यक्ष निर्देशन र समलग्नता रहेको पाइएको हो ।
गजुरी गाउँपालिकाले श्रमदान सहित १२ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरेर निर्माण गरेको मत्स्य गेटमा चरम अनियमितता भएको पाइएको थियो ।
गेट निर्माणमा भएको अनियमितताको विषयमा दियोपोस्टले समाचार सार्वजनिक गरेपछि उपभोक्ता समितिकै पदाधिकारीहरु आफूहरु मूर्तिवालाबाट २ लाख रुपैयाँ ठगिएको बताउँदै हिँड्न थालेका छन् । यद्धपी गाउँपालिका अध्यक्ष बस्नेतले भने उक्त गेट निर्माणमा आफ्नो कुनै समलग्नता नरहेको बताएका थिए । दियोपोस्टसँग कुराकानीका क्रममा बस्नेतले भनेका थिए,–‘संघीयताकै कुरा गर्ने हो भने चेक हामीकोमा आउँदैन । वडाले अनुगमन गर्ने, प्राविधिकले मुल्यांकन गर्ने र उपाध्यक्षको नेतृत्वको समितिले अनुगमन गरेपछि भुक्तानी हुनुपर्छ ।’
तर, बस्नेतले रकमान्तर गर्ने टिप्पणी आदेशम भने आफैले हस्ताक्षेर गरेका छन् ।
दियोपोस्टसँग कुराकानीको क्रममा आफूलाई केही थाहा नभएजस्तो गरेका बस्नेतको झूटको पर्दा समेत खुलेको छ ।
५ लाख बजेट विनियोजन भएको र उक्त बजेट मत्स्य गेट निर्माणमा अपुग हुने भन्दै उनले ६ लाख रुपैयाँ रकमानान्तर गर्न आदेश दिएका छन् ।
लागत अनुमान समेत मिलेमतोमा तयार पारिएको खुलेको छ । सोही लागत अनुमानलाई आधार मानेर बस्नेतले बजेट रकमानान्तर गरेका थिए । स्रोतका अनुसार गाउँपालिकाको प्राविधिक कर्मचारीलाई बस्नेतले नै लागत अनुमान बढाउन निर्देशन दिएका थिए ।
लागत अनुमान बढाएर सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा ७० करोड रुपैयाँ कमिशनको डिल गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाको पद नै खुस्किएको थियो । ठीक त्यस्तै मलेखुस्थित निर्माण भएको माछाको गेटमा लागत अनुमानै बढी बनाउन लगाइएको हो । सोही लागत अनुमानको आधारमा डेढ लाख रुपैयाँ भन्दा केही बढी मात्रै पर्ने माछाको मूर्तिलाई ६ लाख ५० हजार बुझाएको बिल तयार पारिएको थियो । तर, माछाको मूर्ति बेच्ने ललितपुरस्थित विद्याधरी हस्तकलाले भने आफूलाई मुल्य बढाएर बिल बनाउन लगाइएको खुलाशा गरेका थिए ।
उपभोक्ता समितिले माछाको मर्ति बनाउन ललितपुरको विद्याधरी हस्तकला सेन्टरलाई छनौट गरेको कागजातबाट देखिन्छ । उक्त कम्पनिले १५ दिनमा ५८ इन्चको करिब २३ किलोग्राम बराबरको माछाको मूर्ति तयार गरेको थियो ।
सामान्यतया तामाको भाउ बजारमा तामाको प्रकृति अनुसार प्रतिकिलो ३ सय रुपैयाँदेखि १४ सय रुपैयाँसम्म पर्न आउँछ । उक्त कम्पनिले माछाको मूर्तिलाई ६ लाख ५० हजारको बिल पेश गरी भूक्तानी लिएको हो ।
माछाको गेट बनाउने समितिलाई कार्यसम्पादन मुल्यांकनको आधारमा भुक्तानी दिइएको छ । तर, अहिले सर्वसाधणले उक्त माछाको विषयमा प्रश्न उठाउन थालेपछि उपभोक्ता समिति र गाउँपालिका अध्यक्षबीच भेटघाट बाक्लिन थालेको छ । गाउँपालिका अध्यक्ष बस्नेत माछाको मूर्तिमा भएको घोटाला गुपचुप रुपमा सच्याउन लागि परेका छन् ।
उपभोक्ता समिति मार्फत मूर्ति निर्माण गर्ने कम्पनि विद्याधरी हस्तकलालाई धम्की समेत दिइएको पाइएको छ । ‘मूर्तिवालालाई मन्त्रीज्युको नाम लिँदै धम्की समेत दिइएको छ । ठगीमा मुद्दा हाल्ने र कम्पनी नै खारेज गर्ने धम्की दिइएको छ,’ उपभोक्ता समितिकै एक अधिकारीले भने,‘धम्कीपछि मूर्ति निर्माण गर्ने कम्पनिले मूर्ति फिर्ता ल्याउन र पैसा फिर्ता लैजान समेत भनेको छ ।’
मूर्ति निर्माण गर्ने विद्याधरी हस्तकलाका सञ्चालक अनिश महर्जनले आफूले मूर्ति ल्याउन र पैसा फिर्ता लैजान समेत भनेको स्वीकार गरे ।
उपभोक्ता समितिले गजुरीमा रहेको धादिङ मार्बल एण्ड सप्लायर्स नामक कम्पनिबाट मार्बल खरिद गरेको बिल पेश गरेको छ । बिल अनुसार ९० स्क्वायर मिटरको मार्बल स्ल्याब प्रयोग गरिएको छ ।
उक्त मार्बल स्ल्याबको मुल्य प्रति स्क्वायर फिट ८० रुपैयाँदेखि १ सय ९५ रुपैयाँसम्म पर्न आउँछ । उक्त सप्लायर्सको नाममा तयार पारिएको बिलमा प्रति स्क्वायर मिटर ६ सय ७८ रुपैयाँ उल्लेख गरिएको छ । ६० हजार एक सय २९ रुपैयाँको मार्बल र २९ हजार ३ सय २८ रुपैयाँको टाइल्स गरी एक लाख १ हजार ८६ रुपैयाँको बिल सप्लायर्सले पेश गरेको देखिन्छ । ९० स्क्वायर मिटर भनेको ९ सय ७९ स्क्वायर फिट मार्बल हो । उक्त गेटमा त्यति मार्बल नै प्रयोग नभएको स्रोत बताउँछ । न्युनतम २ सय देखि ३ सय स्क्वायर फिट मार्बल प्रयोग गरेर बिलमा भने बढि देखाइएको गाउँपालिका स्रोत बताउँछ ।