मेरो धर्म के हो ?

diyopost.com
भीम राई
  बिहिबार, भाद्र ३१, २०७८ | २२:१७:५४

नेपालको संविधान २०७२ मा नेपाल एउटा धर्म निरपेक्ष राष्ट्र भनेर लेखिएको भएतापनि समय समयमा हिन्दु धर्मको लागि जनमत संग्रह गरिनु पर्छ भन्ने आवाजहरु यदाकदा सुनिने गरिन्छ । एउटै देशभित्र रहेका हरेक मानिसहरुका स्वेच्छाले जुनसुकै धर्म मान्न पाउने अवसर हुँदाहुँदै पनि राष्ट्रको एउटा मात्रै धर्म हुनुपर्छ भन्नु कतिको न्यायोचित होला भन्ने मानिसहरुका मनमा लाग्नु स्वभाविकै हो । तर हाम्रो देशमा त्यस्ता विचारको घरिघरि किन जन्म हुन्छन् होला भनेर मलाई कौतुहल लागिरहने गर्दछ ।

 

२०४० साल माघ महिनाको कुरो हो । म तिनताका १८ वर्षको ठेटना थिएँ । ओठमा जुङ्गाको रेखी बस्ता नबस्तै बेलायती गोर्खा सैनिकमा भर्ती हुनको लागि धरानमा अवस्थित घोपा क्याम्पमा पुगेको थिएँ । सैनिकमा भर्ती भइसकेपछि फाराम भर्ने क्रममा गुरुबाबुले मेरो आधिकारिक नाम र वतन सोधे । त्यसपछि उनले केही सोध्दै नसोधी धर्मको महलमा थपक्कै ‘हिन्दु धर्म’ भनेर लेखिदिए ।

 

गुरुबाबुले मेरो धर्म हिन्दु लेख्दै गरेको मैले त्यसबेला पर्खालको भित्तामा उभिएर निरिह तरिकाले नियालिरहेको थिएँ । तर भर्खरभर्खरै सैनिकमा भर्ती भएको हुनाले उनको सामुन्ने एक्कै शब्द ओकल्न सकेको थिइनँ । हुनत त्यसबेलासम्म मेरो बुद्धिको पूर्ण विकास पनि भइसकेको थिएन । अझै ग्रामीण भेगबाट भर्खरै सहरमा झरेको एकजना किराँतीको बच्चा भएपनि चराको बचेराझैँ अति निर्दोष थिएँ । झन् सबैभन्दा मुख्य कुरो त हामी किराँतीहरु उपाध्याय ब्राम्हणहरुलेझैँ गाउँको हरेक घरघरमा गएर जजमान गर्न पर्दैनथ्यो । त्यसैले हामीले खास्सै पढन जरुरी छैन है भन्ने ब्रम्हाज्ञानलाई राम्ररी शिरोधार्य गरेको थियाैँ  । तर त्यति बिघ्न पढ्ने अवसर नपाए पनि मलाई त्यसबेला ‘के म हिन्दु धर्मावलम्वी नै हुँ’ भन्ने प्रश्नले भित्री हृदयमा फलामे तीरले झैँ कताकता घोचिरहेको आभास भइरहेको थियो ।

 

आखिर धर्म के हो ? साधरणतय दुःख कष्टमा परेकोहरुलाई दयामाया गर्न मात्र धर्म होइन । त्यसको परिभाषा दिनको लागि कुनै पनि मानिसलाई त्यति सरल भने पटक्क छैन । किनभने त्यो एकदम जटिल एवम अति विवादस्पद विषय पनि हो । तैपनि मेरो घर नजिकै रहेको रेल स्टेसनमा मेलिन्डा डेभिससँग दोश्रोचोटी भेटदा ‘अलौकिक शक्त्ति भएको देवी देवताको पूजा अर्चना गर्नु नै धर्मको परिभाषा हो,’ भनेर संक्षेपमा तर सहज तरिकाले मलाई सुनाएकी थिइन् । उनी अक्सफोर्ड युनिभर्सिटीको अक्सफोर्ड शब्दकोष निर्माणमा कार्यरत युवती भएकी हुनाले उनको भनाइ केही हदसम्म ठीक्कै लाग्यो । तर उनको विचार सुनेपछि त्यस्तो अलौकिक शक्त्ति भएको ‘सुपर ह्यूमन’ चाहिँ को हुन सक्छ होला भन्ने जिज्ञासा मेरो मनमा निक्कै लामो समयसम्म उत्पन्न भइरहेको थियो ।

 

हुनत विश्व विख्यात समाजशास्त्रका पिताहरु डर्काइम, कोम्ट, मार्क्स र वेबरले धर्मको विषयमा फरक फरक मतहरु प्रस्तुत गरेका छन् । अझै सबैभन्दा रमाइलो त मलाई नास्तिकवादीहरु पो लाग्ने गर्दछ । किनभने मिखाइल बाकुनिन, फ्रेडरिक नित्से, अल्बर्ट कामुस र रिचार्ड डकिन्सहरुको विचारहरु पनि कम गहन छैनन् । तर आखिरमा आस्तिक वा नास्तिक जो सुकैले जे सुकै भनेतापनि अति चर्चित मनोविश्लेषक सिगमन्ड फ्रायडको “धर्म भ्रम हो” भन्ने विचारले चाहिँ मेरो हृदयमा आत्मियताको साथ अहिलेसम्म छोइरहेकै छ ।

 

धर्मको परिभाषालाई एकछिन थाँती राखेर बरु बेलायती सैनिकमा भर्ती भएर हङकङमा पुगेको क्षण स्मरण गर्न चाहन्छु । हङकङमा पुगेको केही वर्षपछि एकदिन पाइ ताउ गाउँ, सातिनमा पुगेको थिएँ । जहाँ सन् १९५१ मा बुद्धको एउटा ठूलो विहार निर्माण भएको थियो । जुन विहारको नाम दश हजार (टेन थाउजेन्ड) बुद्ध भनेर राखिएको छ । तर त्यस विहारको नाम १० हजार भएतापनि त्यहाँ १३ हजार बुद्धका प्रतिमाहरु रहेको भन्ने सुनिन्छ । आखिर त्यहाँ पुगेर बुद्धका त्यति धेरै प्रतिमाहरु गनेर चाल पाउने समय सायदै कस्लाई पो मिल्न सक्ला र ? तैपनि १३ हजार प्रतिमा राखेर त्यसको नाम चाहिँ दश हजार भनेर किन राखिएको होला भनेर म मनमनै छक्क पर्ने गर्दथेँ ।

 

तिनै प्रतिमाहरुलाई हेरेर मलाई भगवानको नाममा एउटा काम र फरक नतिजा भएपनि समस्या नपर्ने रहेछ भन्दापनि बुद्धको महानवाणी “दिमाग सबै चिज हो, के सोच्यो त्यस्तै हुन्छ” भन्ने सोच्दैसोच्दै नेपाल पुगेर पहिलो चोटी लुम्बिनी पुग्ने अवसर मिलेको थियो । तर भगवान बुद्धको जन्मस्थल लुम्बिनीको दोश्रो चोटीको यात्रा पर्खन मलाई अर्को साढे दुई दशक पर्खनु परेको तीतो याद अहिले पनि झल्झली सम्झन्छु ।

 

पहिलो चोटीको लुम्बिनी यात्रा गरेपछि मैले २०५० सालतिर गौशाला नजिकै टाउको लुकाउने एउटा सानो टहरोको निर्माण गरेको थिएँ । यदि नेपालकै राजनैतिककर्मी हुँदो हुँ त यसबेलासम्म राजधानीमा एउटा सुन्दर एवम् विशाल महलको निर्माण गरेर राष्ट्रको सेवा गर्न सक्थे हुँला ? तर मैले यहाँ अफसोचको साथ भन्नैपर्छ, त्यो पापी पथलाई मैले कहिलै अँगाल्न सक्त्तै सकिनँ ।

 

खैर जे सुकै होस्, मेरो त्यस टहरोदेखि ढुङ्गा फाल्ने हो भने पनि भगवान श्री पशुपतिनाथको शिरमा रहेको सुनको गजुरमा मात्र नभएर शिवलिङ्गमाथि पानीको धारा चुहाउने झन् ठूलो १०८ किलोको सुनको जलहरीसम्म पुग्न सक्छ । तैपनि मेरो त्यति सुक्ष्म टहरोबाट आँखा मिच्दैमिच्दै एकाबिहानै उठेर मन्दिर प्रवेशद्वारको सीधै अगाडि पुगेपछि, ‘हिन्दुहरुको लागि मात्र प्रवेश’ भन्ने थोत्रो परिचयपाटी देख्दा म झसङ्गै झस्कने गर्दछु । किनभने ‘के म हिन्दु नै हुँ त ? त्यसैले के मभित्र जान मिल्छ र ?’ मेरो दिमागभरि त्यस्ता अनेकन प्रश्नहरु नाचिरहने गर्दछन् ।

 

आफ्नो वासस्थान पशुपतिनाथ मन्दिरको त्यति नजिक भएपछि ममा मन्दिरको सोख घट्न थालेको थियो । अनि त्यसबेलासम्म म अलिक युवावस्थामा नै थिएँ । त्यसैले पशुपतिनाथको कथाभन्दा महाभारतको कथा सुन्दा मलाई भगवान कृष्ण चाहिँ बरु गज्जबको पात्र हुन् जस्तो लाग्न थालिसकेको थियो । आखिर जस्तोसुकै धार्मिक कथा सुनेपनि वा धर्मग्रन्थ पढेपनि वास्तवमा जुनसुकै पुरुषलाई गोपिनीहरु बिनाको जिन्दगी ज्यादै उजाड हुन्छ भन्ने कुरोको हृदयङ्गम गर्नै पर्ने हुन्छ । यदि कुनै पुरुषले त्यस कुरोलाई स्वीकार गर्दैन भने केवल उनले सय प्रतिशत नै झूटो बोलिरहेको हुन्छ । जे होस्, म तिनै भगवान कृष्णको जन्मभूमिलाई सम्झेर एकलासको निर्जन जङ्गल वा तीर्थस्थल वृन्दावनतर्फ लागेको थिएँ ।

 

समयको हुरीले डोर्याएर इसापूर्व छैटौं शताब्दीको उत्तरार्धतिर आइपुग्दा उत्तर प्रदेशमा अवस्थित तिनै मथुरा भन्ने ठाउँमा सायद भगवान कृष्णको जन्म भएको हुनसक्छ भन्ने कथा अहिलेसम्म पनि सुन्न सकिन्छ । तर वास्तविक यथार्थ चाहिँ तिनै भगवान कृष्ण र उनका शिष्यहरुलाई मात्र थाहा होला ? हुनत जस्तोसुकै कथा पनि आखिर कथा नै त हो, मुख्य कुरो कस्ले लेख्छ त्यसमा नै निर्भर हुने गर्दछ ।

 

मैले मथुराको कृष्ण मन्दिर पुगेपछि महाभारतका मुख्य नायक भगवान बिष्णुको आठौँ अवतार मानिने श्री कृष्णको ८ जना त आधिकारिक श्रीमतीहरु मात्र थिएँ भन्ने चाल पाउँदा हर्षले गदगद भएको थिएँ । अझै उनले १६ हजार गोपिनीहरु त उपपत्नीझैँ बनाएर राखेका थिए भन्ने कुरो श्वेत वर्णका मन्दिरका पुजारी स्वीस नागरिकले बताउँदा म दङ्ग परेको थिएँ । उनको त्यस्तो कुरो सुनेपछि जाबो एउटा श्रीमती पनि पाल्न मरिहत्ते गर्नुपर्ने मेरो जिन्दगीलाई एकछिन घृणामा परिवर्तित गरिरहें । तर गेरु रङ्गका वस्त्रधारी त्यो पुजारीको त सायद एउटै पनि अर्धाङ्गिनी छन् कि छैनन् होला भन्ने सोचेर निक्कै गर्विलो बनिरहें ।

 

 

 

त्यति धेरै गोपिनीहरुको महाधनी भगवान कृष्णलाई केहीबेर यहीँ छाडिराखेर पुनः भगवान बुद्धतर्फ ध्यान खिच्न चाहेँ । किनभने लानताउ, हङकङ र पुकेट, थाइल्याण्डमा देखिएको भिमकाय बुद्धको प्रतिमाले मात्र मेरो चित्त नबुझेपश्चात् बैँककतर्फ हानिएको थिएँ । बैँककमा पुगेर सुतिरहेको, उठिरहेको, हाँसिरहेको र बसिरहेको बुद्धको मूर्ति नै मूर्तिहरु देख्दा साँच्चै के बुद्ध भगवान नै हुन् कि मानिस हुन् भन्ने विषयमा द्विविधामा परिरहेको थिएँ । आखिर भगवान बुद्धप्रति मैले जस्तोसुकै सोचेपनि मेरो विचारले सारा मानवीय जीवनप्रति खास्सै असर पर्ने चाहिँ केही पनि देख्त्तिनँ । तर मैले भुलेर पनि यहाँ एउटा सत्य कुरो चाहिँ उजागर गर्नैपर्छ । किनभने हरेक मानिसले एउटा असल जिन्दगी जिउनु पर्छ र पाप कार्यमा लाग्न हुँदैन भन्ने बुद्धको महान विचार सुन्दाखेरी उहाँ निश्चय पनि एकजना असल शिक्षक चाहिँ हुन है भन्ने कुरोमा म द्विविधामा पर्न सक्त्तिनँ ।

 

तर थाइल्याण्डमा त्यतिका धेरै बुद्ध धर्मावलम्वीहरु देखिएपछि साँच्चै बुद्ध जन्मेको देशका मानिसहरु चाहिँ किन बुद्ध धर्मको सट्टा हिन्दु धर्मको लागि जनमत संग्रह गर्नुपर्छ भनेर माग गरिरहेका होलान् भनेर एकछिन सोचनीय बनाइ रह्यो । आखिर यस धर्तीका कुनै पनि मानिस आफ्नै स्वेच्छाले धार्मिक हुन पनि नसकिँदो रहेछ । र, त्यसलाई दृष्टीगोचर गर्नको लागि हामी त्यति धेरै टाढा पनि जानै पर्दैन रहेछ । यदि सार्क मुलुकको वरिपरि एक चक्कर घुम्ने हो भने पनि त्यतिमा नै काफी हुने रहेछ । जस्तै, तिनै मानिस कराँची, काठमाण्डौ र थिम्पुमा जन्मँदा फरकफरक धर्ममा जन्मिरहेको हुने रहेछन् । त्यस कुरोले मेरो मनमा केहीबेर उथलपुथल मच्चाए पनि धर्मसम्बन्धी मेरो अध्ययनलाई निरन्तरता दिनको लागि एङ्करवाट, कम्बोडियातर्फ लागिसकेको थिएँ ।

 

सियामरिप, कम्बोडियामा अवस्थित एङकरवाटको निर्माण गर्न सन् १११३ देखि ११५० सम्म अथवा ३७ वर्ष समय लागेको थियो । मन्दिरको निर्माण खमेर राजा सूर्यवर्मण दोश्रोले गरेका हुन् भने त्यस मन्दिरलाई निर्माण गर्नको लागि ६ हजार हात्तीहरु र ३ लाख श्रमिकहरुले श्रम गरेका थिए । १ सय ६२ हेक्टर जमिन ओगटेर बनेको त्यस मन्दिर संसारको सबैभन्दा ठूलो क्षेत्रफल ओगटेर बनेको मन्दिर हो । सन् १९९२ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा परेको त्यस मन्दिर पहिले हिन्दु धर्मका भगवान विष्णुको सम्मानको लागि निर्माण गरिएको थियो । तर बाह्रौँ शताब्दीको अन्ततिर आइपुग्दा राजा जयवर्मण सातौंले त्यसलाई बुध्दिष्ट मन्दिरमा परिवर्तन गरिदिएका थिए ।

 

“भगवानको मत्यु भयो । हामीले भगवानको हत्या गर्यौं ।” प्रख्यात दार्शनिक फ्रेडरिक नित्सेको उक्त भनाइलाई हृदयभरी समेटेर धर्म र भगवानको विषयमा अध्ययन गर्न म जेरुसेलमतर्फ हानिएको थिएँ । किनभने जेरुसेलम धर्मको अध्ययन गर्ने विधार्थीहरुको लागि एउटा आकर्षक स्थान मात्र नभएर मुख्य केन्द्रबिन्दु नै मान्नुपर्छ । तिनै पवित्र सहर जेरुसेलममा आफ्नो कदमहरु परेपछि म सबैभन्दा पहिले पुरानो जेरुसेलम सहरतर्फ लागेको थिएँ । किनभने तिनै सहरमा राजा हेरोड महानले एउटा यहुदी मन्दिरको निर्माण गरेका थिए । तर जेरुसेलम सहरलाई बेबिलियनले इसापूर्व ५८७ मा पहिलो चोटी र रोमन साम्राज्यले ७० एडीमा दोश्रो चोटी आक्रमण गर्दा त्यो मन्दिर पूरै ध्वस्त भएको थियो ।

 

आखिर एउटै मन्दिरलाई आफूले चाहेको बेला हिन्दु र नचाहेका बेला बौद्ध वा अन्य कुनै मन्दिर बनाउन मिल्ने कुरोको ज्ञान पाएर म कम्बोडियादेखि फिरेको थिएँ । त्यसपछि ‘जीवन साँच्चै सरल छ, तर हामी यसलाई जटिल बनाउछौं’ भन्ने कन्फ्युसियसको उक्तिलाई सम्झँदै चीनको राजधानी बेइजिङ पुगेको थिएँ । बेइजिङमा पुगेर सहरको मध्यभागमा अवस्थित टेम्पल अफ हेवनतर्फ हानिएको थिएँ । मेरा पाठकहरुलाई बुझ्नको लागि सजिलो होस् भनेर मैले त्यस टेम्पल अफ हेवनलाई ‘वैकुण्ठ मन्दिर’ भनेर नामकरण गरिदिएँ ।

 

मिङ राजवंशको सम्राट जु डिले सन् १४०६ देखि त्यस मन्दिरको निर्माण कार्य सुरु गरेतापनि सन् १४२० मा मात्र पूरा गरेका थिए । निषेधित सहरभन्दा तीन गुणा ठूलो टेम्पल अफ हेवन पुग्दा मन्दिरभित्र पस्न दुई चोटी शुल्क तिर्नु परेको तीतो अनुभव अहिले पनि मानिसहरुको सामु बेलाबेलामा ओकली रहने गर्दछु । किनभने त्यहाँ खरिद गरेको पहिलो टिकटले मन्दिरको बगैँचासम्म र दोश्रो टिकटले मन्दिर परिसर पुग्न पाइने नियम रहेछ । अबदेखि उसो बैकुण्ठ मन्दिर जाँदा म्याण्डरिन भाषामा पोख्त्त नभइ गइयो भने जिउँदै बैकुण्ठ बास पुगिने रहेछ भन्ने ज्ञान आर्जन गरेको थिएँ ।

 

अर्को वर्ष बाटु क्याभ, मलेशियामा पुगेको थिएँ । किनभने तिनै गुफाको अगाडी भगवान शिव र पार्वतीको जेष्ठ पुत्र कार्तिक्यको विशाल मूर्ति रहेको छ । सुनौलो रङ्गमा बनेको १ सय ४० फिट अग्लो त्यस मूर्तिको निर्माण गर्न तीन वर्ष लागेको थियो । भारतदेखि बाहिर रहेको हिन्दुहरुको पवित्र तिर्थस्थल बाटु गुफा पुगेर मलाई समयको हुरिले डोर्याउँदै अर्को पटक जेरुसेलम, इजरायल पुर्याएको थियो ।

 

“भगवानको मत्यु भयो । हामीले भगवानको हत्या गर्यौं ।” प्रख्यात दार्शनिक फ्रेडरिक नित्सेको उक्त भनाइलाई हृदयभरी समेटेर धर्म र भगवानको विषयमा अध्ययन गर्न म जेरुसेलमतर्फ हानिएको थिएँ । किनभने जेरुसेलम धर्मको अध्ययन गर्ने विधार्थीहरुको लागि एउटा आकर्षक स्थान मात्र नभएर मुख्य केन्द्रबिन्दु नै मान्नुपर्छ । तिनै पवित्र सहर जेरुसेलममा आफ्नो कदमहरु परेपछि म सबैभन्दा पहिले पुरानो जेरुसेलम सहरतर्फ लागेको थिएँ । किनभने तिनै सहरमा राजा हेरोड महानले एउटा यहुदी मन्दिरको निर्माण गरेका थिए । तर जेरुसेलम सहरलाई बेबिलियनले इसापूर्व ५८७ मा पहिलो चोटी र रोमन साम्राज्यले ७० एडीमा दोश्रो चोटी आक्रमण गर्दा त्यो मन्दिर पूरै ध्वस्त भएको थियो ।

 

पुरानो जेरुसेलममा अवस्थित दोश्रो यहुदी मन्दिरको पूरै भाग जीर्ण भएतापनि करिब १६ सय फिट लामो तथा ६२ फिट अग्लो पश्चिमी पर्खाल चाहिँ अहिलेसम्म छर्लङ्गै देख्न सकिन्छ । तिनै पश्चिम दिशाको धारक पर्खाल (रिटेनिङ वाल) लाई यहुदीहरुको भाषामा कोटेल, कोसेल वा मुस्लिमहरुले वारक पर्खाल भन्ने गरेका छन् । तिनै पवित्र पर्खालमा पुगेर आफ्नो मनमा लागेका बिलौनाहरुलाई कागजका स-साना टुक्रामा लेखेर पर्खालको भित्तामा टाल्नको लागि अहिले पनि विश्वको हरेक कुनाकुनामा छरिएर रहेका यहुदीहरु त्यहाँ आउने गरेका छन् ।

 

जेरुसेलमको पवित्र पश्चिमी पर्खालमा पुगेपछि मैले पनि नेपालका सबै नागरिकहरुले आफूले चाहे बमोजिमको धार्मिक स्वतन्त्रता पाउनुपर्छ, त्यसैले धर्म निरपेक्ष राष्ट्र नै सबैभन्दा अन्तिम बिकल्प हो भन्ने इच्छापत्र लेखेर पर्खालको भित्तामा टाँसेको थिएँ । करिब २६ सय वर्ष पुरानो पर्खालमा इच्छापत्र टालेर फर्कंदै गर्दा मेरो मुलाकात अचानक एकजना जापानिज मूलका मानिससँग हुन पुग्यो । शिरमा सानो काँसो बटुकाको जत्रो तर निख्खर कालो टोपी उनिरहेको जापानिजले मलाई देख्ने बितिक्कै उनको भाषामा कुन्नि खै के के भनेर प्रश्न गरे । म उनको कुरो केही बुझ्न नसकेर निक्कै लामो समयसम्म ट्वाल्ल परिरहेपछि ‘के तपाई पनि यहुदी धर्मावलम्वी हो’ भनेर सानो स्वरमा तर अङ्ग्रेजी भाषामा त्यसबेला सोधे ।

 

‘होइन होइन’ भन्दै म उनीसँग असभ्य पाराले फुत्किएर हिडिहालें । आखिर जतिसुकै नक्कल पारेर सभ्य बन्न खोजेपनि म जापानिजहरु जस्तो नम्र र सुशील बन्न कहिले पनि सक्त्तिनथें । तर जेरुसेलममा भेटिएको त्यस्तो बिलौना बिसाउने पर्खाललाई मैले आलापबिलापको पर्खाल भनेर मनमनै नामकरण गरिदिएँ । अझै त्यहाँ पुगेर सबैभन्दा अचम्म चाहिँ के लाग्यो भने त्यो पर्खालको ठ्याक्कै पछाडी भागमा मुश्लिम धर्मावलम्वीहरुको ठूलो मस्जिद अल अक्स रहेको छ ।

 

अब एउटै पर्खालको दायाँ दिशामा यहुदीहरुको पवित्र तीर्थस्थल र बायाँतिर मुश्लिमहरुको पवित्र मस्जिद रहेपछि झगडाको बिउ खोज्न अन्य कुन ठाउँ जानु पर्थ्यो होला र ? अझै जेरुसेलममा सबैभन्दा रमाइलो पक्ष त के छ भने त्यस पर्खालको नजिकै भगवान जिजस क्राइष्टको पनि जन्म भएको थियो । खैर जे सुकै होस्, म पहिले एकचोटी मुश्लिमहरुको पवित्र धार्मिक स्थल मक्काको नजिक रियाद, साउदी अरबसम्म पुगेको थिएँ । गैर मुश्लिम भएर रियादसम्म पुग्नु भनेको पनि मक्काको नजिक पुग्नु जतिकै मान्ने परम्परा रही आएको छ । मक्का र मदिनापछिको मुश्लिमहरुको तेश्रो ठूलो पवित्रस्थल भनेको तिनै जेरुसेलमको अल अक्स मस्जिद नै हो । किनभने मुसलमानहरुको धर्मगुरु प्रोफेट महमम्दले रातभरिको यात्रा पूरा गरेर जेरुसेलममा पुगेपछि अन्तिम चोटी प्रार्थना गरेर वायुपङ्खी घोडादेखि उत्सपर्ण गरेर स्वर्गमा बिलय भएको त्यहीँदेखि मान्ने गरिन्छ ।

 

आखिर साँचो इतिहास होस् वा काल्पनिक कथा होस् मलाई पश्चिमी पर्खाल छाड्ने बेलामा एउटा कुरोले चाहिँ चसक्क मन घोचिरहेको थियो । मैले जिन्दगीमा पटकपटक मकाउ, चीनको भूमिमा टेक्तै फर्कंदै गरेको थिएँ । किनभने मानव जीवनले चाहेको जति आमोदी जिन्दगी त्यहीँ मकाउमा मात्र बिताउन मिल्छ कि जस्तो मेरो मनमा लागि रहन्थ्यो र म गइरहन्थेँ । लगभग ४० वटा जति प्रख्यात क्यासिनोहरु रहेको र विश्वको जुवाको राजधानी मानिने मकाउमा पुगेर मानिसहरु संसार नै बिर्सने गर्दछन् । आफ्नी प्यारी श्रीमतीलाई लण्डनमा छाडी राखेर मकाउ पुग्दा म पनि अपवादमा के पर्न सक्थे र ?

 

अझै तपाई संसारको सबैभन्दा ठूलो क्यासिनो भेनेसनमा मनै लोभ्याउने आकर्षक अर्धनग्न युवतीहरुको अगाडी चर्चित अङ्ग्रेजी चलचित्र ००७ को नायकझैँ बनेर रोलेट गुडाउनुहुन्छ कि वा एमजिएममा गएर ब्ल्याक ज्याक तान्नुहुन्छ । तर सत्रौं शताब्दीमा निर्माण भएको सेन्ट पौल क्याथोलिक चर्चको भग्नावशेष चाहिँ निश्चय पनि छुटाउनु हुन्न । जुन भग्नावशेष पर्खाल जेरुसेलमको पश्चिमी पर्खालझैँ मकाउको अति आकर्षक प्रतीक चिन्ह भएर रहेको छ । आखिर विश्वका त्यति बिघ्न मानवहरुले भत्केर पूरै जीर्ण अवस्थामा पुगेका पर्खालमा श्रद्धाभक्त्ति अर्पण गरेर के त्रिप्ती प्राप्त गर्न सक्छन् होला र ? म तिनै एउटा अनुत्तरित प्रश्नको उत्तर खोजिरहेको थिएँ ।

 

पवित्र सहर जेरुसेलमलाई सधैँको लागि बिदाइ गरेपश्चात् आतङ्ककारी संगठन हमासले पेलेस्टाइनदेखि छाडेको रकेट प्रोपेल्ड गन (आरपिजी) बाट आउँदै गरेको आगोको मुस्लोसँग टाउको जोगाउँदै बेत्लेहमतर्फ लागेको थिएँ । बेत्लेहम जेरुसेलमबाट लगभग १० किलोमिटर जति टाढा तथा करिब २५ हजार जनसंख्या भएको वेस्ट बैंकमा अवस्थित पेलेस्टाइनको एउटा मुख्य सहर हो ।

 

तिनै बेत्लेहम सहरमा परम प्रभू परमेश्वर  ‘जिजस अफ नाजरथ’ को इसापूर्व ६-४ मा जन्म भएको थियो । विश्वका करिब २.३ बिलियन क्रिश्चियन धर्मालम्वीहरुको आस्थाका केन्द्र जिजस जन्मेको तिनै पवित्र स्थानमा रोमन साम्राज्य कन्सटानटिन महानले ‘चर्च अफ नाटिभिटी’ को निर्माण गरेका थिए । तर कुमारी म्यारीले परम प्रभू परमेश्वरलाई डिसेम्बर महिनाको २५ तारिकका दिन जन्माएकी थिइन् भनेर सत्यतथ्य बताउने गोस्पलहरु म्याथु, लुक, जोन, र मार्कले बाइबलको पुरानो नियम वा नयाँ नियम कतैपनि लेखेको भने पढ्न पाइँदैन ।

 

अझ मलाई त्यहाँ पुगेर अचम्म त के लाग्यो भने नाजरथदेखि बेत्लेहमसम्मको दुरी लगभग ७०-७२ माइल रहेछ । अनि ९ महिनाको पूर्ण गर्भवती म्यारी र जोशेफ त्यति अफ्ठ्यारो भिर पहराको बाटो र उकाली ओराली पार गरेर कसरी त्यहाँ पुगे होला ? अझै सबैभन्दा अचम्म त बेत्लेहमको त्यस उजाड मरूभूमि जस्तो जमिनमा डिसेम्बर महिनामा कुनै हरियो घाँसपातहरु पनि नहुने रहेछ । घासपात नभएको त्यस्तो ठन्डी महिनामा कसरी गोठालोहरु भेडा चराउन त्यहाँ पुगेका थिए होलान् ? किनभने जिजस जन्मेको सबैभन्दा पहिले भेट्ने तिनै भेडा गोठालाहरु थिए भन्ने गरिन्छ । अनि म्यारीको साथसाथै रहेको जिजसको सांसारिक पिता सेन्ट जोशेफ चाहिँ त्यसबेला कता लोप भएका रहेछन् ? नत्रभने उनैले म्यारीलाई किन सहयोग नगरेका होलान् ?

 

‍जिजस जन्मेको लगभग ३ सय वर्षपछि कल्पना गरेर लेखिएको यिनै यावत कुरोलाई यतै बिश्राम गरौँ तर म जुनबेला बेत्लेहम पुगेको थिएँ त्यसबेला विश्वभरिदेखि आएका हजारभन्दा बढी क्रिश्चियन धर्मका अनुयायीहरु गिर्जाघरभित्र लामवद्ध भएर उभिरहेका थिए । उनीहरु त्यति अनुशासित भएको देखेपछि वास्तवमा ‘धर्म भनेको नियम पालन गर्नु नै हो’ भन्ने मैले त्यसबेला राम्रैसँग चाल पाएँ । त्यसैले म पनि उनीहरुको ठीक पछाडि गएर अनुशासित हुँदै उभिएँ र आफ्नो जिन्दगीमा एकचोटी परमेश्वर भगवानको जन्म स्थानमा पुगेर सिङ्गमरमरको ढुङ्गामाथि बिछ्याइएका चाँदीको १४ कुने तारालाई छुनको लागि तयार भएँ । त्यतिका धेरै मानिसहरुको हुलभित्र लगभग ४ घण्टा समय नष्ट गरेपछि जिजस जन्मेको स्थानमा राखिएको तिनै तारालाई एक मिनेट छुने मौका पाएँ ।

 

परम प्रभु परमेश्वरको जन्म स्थान पुगेर केही हर्षित भएतापनि तिनै भगवानसँग सम्बन्धित कुनैकुनै विषयमा चाहिँ मलाई एउटा रमाइलो कथा जस्तै लागिरहेको थियो । हुनत एउटा रुखलाई हेर्ने क्रममा मैले र अरुले फरकफरक दृश्य देख्न सक्छौँ । वास्तवमा राम्ररी सोच्ने हो भने यस धर्तीमा भएका लगभग २ अर्ब मानिसहरुको आस्थाको केन्द्रलाई मैले किन विश्वास नगरेर फरक प्रकारले सोच्ने भन्ने प्रश्न उठ्न पनि स्वभाविकै हो । तर पहिले पृथ्वीलाई सूर्यले परिक्रमा गर्छ भन्ने मानिसहरुको संख्या पनि २ अर्बभन्दा अझ बढी नै थियो । अन्ततः पोलिस वैज्ञानिक निकोलस कोपरनिकोसले सूर्यकेन्द्रित प्रणाली बनाउँदा उनको सिद्धान्तलाई क्याथोलिक चर्चले प्रतिवन्धसम्म लगाएको थियो । चर्चको त्यस्तो अनपेक्षित कार्यले धर्म र विज्ञानमा पहिलो पटक विवादको सिर्जना गरेको थियो । वास्तवमा भौतिकशास्त्रमा मात्र कुनै कामको प्रमाण प्रस्तुत गर्न पर्दैन भन्ने सुनेको थिएँ । तर बेत्लेहम पुगेपछि धार्मिक ग्रन्थमा पनि प्रमाण पेस गर्न जरुरी छैन रहेछ कि भन्ने मेरो मनमा लागिरह्यो ।

 

चर्च अफ नाटिभिटी बेत्लेहमलाई सदासर्वदाको लागि बिदाइ गरेर छाड्दै गर्दा माइकल एन्जलोको ‘द लास्ट जजमेन्ट’ र लिओनार्डो द भिन्सीको ‘द लास्ट सपर’ चित्रकलालाई निक्कै लामो समयसम्म संस्मरण गरिरहें । किनभने उनीहरुले बनाएको चित्रकलामा जिजसलाई अग्लो, हृष्टपुष्ट, लामालामा दाह्रीजुङ्गा, फकिरझैँ केस पालेका र श्वेत वर्णको देखाएका छन् । सम्भवत तिनै तस्वीरलाई मध्यनजर गर्दै युगाण्डाको निरङ्कुश एवम् तानाशाह इदि अमिन दादाले चाहिँ “भगवान कालो थियो” भनेका छन् ।

 

आखिर भगवानको विषयमा जस्ले जेसुकै भनेतापनि मेरो विचारमा जिजस निश्चय पनि निख्खुर श्वेत वा अश्वेत नभएर कि त यहुदी वा प्यालेस्टाइन अर्बहरुको सन्तान हुनुपर्छ भन्ने मेरो मनमा लागिरह्यो । किनभने तिनताका इजरायलमा ती दुवै थरिका मानिसहरु मात्र त्यहाँ बसोबास गर्दथे भन्ने इतिहासबाट पुष्टि हुन्छ । हुनत इतिहास जित्नेहरुले लेख्छन् ।  त्यसैले त्यति धेरै विश्वास गरिहाल्ने आधार हुँदैन । तसर्थ हामी सबैले उनको विश्वास गरिहाले पनि उनको उत्कृष्ट १२ चेलाहरुमध्ये जुडाज इसकारियटले त उनलाई पटक्कै विश्वास गरेका थिएनन् र रोमन प्रहरीहरुलाई जिजस चिन्नको लागि आँखाले संकेत गरिदिएका थिए ।

 

इजरायलमा पुगेर यहुदी, मुश्लिम र क्रिश्चियन त्रिधर्म सम्बन्धी चाहे जतिको ज्ञान हासिल गरेपछि म दुबइतिर हुइकिएँ । दुबइमा पुगेर विश्वको एक मात्र सात तारे होटल बर्ज अल अरबको २७सौं तलामा अवस्थित अल मुन्ताह रेष्टुराँमा मध्यान्हको भोजन लिँदै गर्दा शेख जायद मस्कको विषयमा अरेबियन सागरको आकर्षक दृश्यसँगसँगै  अध्ययन गर्दै थिएँ । जब मैले त्यस मस्जिद सम्बन्धीको अध्ययन सकेर आबुधाबी पुगेँ तर दुर्भाग्यवस त्यसदिन शुक्रबारको दिन परेको थियो । त्यतिका धेरै मेरो अध्ययनले एकरति पनि काम गर्न नसकेपछि म जाबो फुच्चे के अध्यनशील रहेछु भन्ने महसुस भयो । किनभने त्यहाँ शुक्रबारको दिन गैरमुश्लिमहरुलाई मस्जिदमा प्रवेश गर्न पूर्णतय निषेध लगाइने रहेछ ।

 

दोश्रो चोटी शेख जायद मस्क पुग्नको लागि मैले त्यसपछि अर्को एकदशक पर्खनु परेको थियो । त्यसबेला फेरि दुबइ पुगेर प्लेटो रेष्टुराँ एटलान्टिसमा मध्यान्हको चिया (आफ्टरनुन टी) लिँदै गर्दा त्यसदिन शुक्रबार हो कि होइन भनेर दुईचोटी निश्चित गरेको थिएँ । त्यसपछि मात्र आबुधाबीको छातीमा रहेको शेख जायद मस्जिद पुगेको थिएँ । करिब १२ हेक्टर जमिनको उपयोग गरेर ११ डिग्री मरक्क घुमाएर मक्कातिर मोहडा फर्काइएको त्यस मस्जिदको दृश्यावलोकन गर्दा हरेक मानवको हृदयलाई भरङ्गै बनाउन सक्त्तछ । अरेबियन खाडीको प्रचण्ड गर्मीको बावजुद लगभग ४० हजार तिर्थालुहरुले सँगसँगै भुईंमा ढोगेर ‘अल्लाह हो अकबर’ भन्दै प्रार्थना गर्न मिल्ने मस्जिदलाई निर्माण गर्न ५ सय ५० मिलियन डलर लागेको थियो ।

 

आबुधाबी मस्जिदको बिछट्टै रमाइलो यात्रापछि म अर्को वर्ष साइप्रस पुगिसकेको थिएँ । हुनत त्यो भन्दा अगावै साइप्रसलाई पटकपटक ५ चोटी टेकिसकेको हुनाले त्यस टापुको ग्रीक मात्र नभएर टर्किस क्षेत्रको पनि शिरदेखि पुच्छारसम्म राम्रै ज्ञान आर्जन गरिसकेको थिएँ । तर त्यसपटक लिमासोल पुगेर एउटा पानीजहाजलाई समाते र टर्कीको आलन्य, मार्मरिस, खुसादाशी हुँदै ५ दिन पछि इस्तानबुल पुगेँ ।

 

इस्तानबुल पुगेपछी नेपोलियनको भन्दा मेरो विचार अलिक फरक भएको थियो किनभने त्यस सहरमा ३१ सयभन्दा अझै बढी मस्जिदहरु रहेका छन् भन्ने मैले त्यहाँ पुगेर जानकारी पाएँ । अब त्यतिका धेरै मस्जिदहरु भएको सहरलाई अन्य केही नभनेर ‘मस्जिदहरुको सहर’ भन्न मन लागिरहेको थियो । कृष्णसागरदेखि बोस्फोरस जलसंयोजन हुँदै आएको मन्दमन्द बतासले मेरो मलिन अनुहारमा स्पर्श गर्दैगर्दा म हाजिय सोफिया मस्जिदमा पुगिसकेको थिएँ । जसकाे निर्माण ५३७ मा भएको थियो । त्यसको निर्माण हुँदा क्रिश्चियन क्याथेड्रल बनेको थियो तर कालान्तरमा ओट्टोमान साम्राज्यले मस्जिदमा परिणत गरिदिएका थिए । आखिर भगवानको नाममा मानवीय नियम जस्तो बनाएपनि हुनेरहेछ भन्ने मैले त्यो सुनेर चाल पाएँ ।

 

 

इस्तानबुल अथवा पूर्व कन्सटानटिनोपोल पूर्व एशिया र पश्चिम युरोपको भेट हुने टर्कीको सबैभन्दा ठूलो सहर हो । यो सहर धर्तीको बीच भागमा रहेको हुनाले नेपोलियन बोनापार्टको घर कोर्शिका टापु पुग्दा उनले भनेको “विश्व एउटा देश हुनुपर्छ र इस्तानबुल यसकाे राजधानी हुनुपर्छ” सुनेको थिएँ । उनको भनाइलाई त्यसबेला इस्तानबुलमा पुगेर झल्यास्स सम्झें । तर यो सहर नै बीचमा पर्छ वा चीन बीचमा पर्छ त्यो त मानिसले हेर्ने नजरमा भर पर्ने गर्दछ । किनभने चिनियाँहरुले उनीहरुको भाषामा चीनलाई धर्तीको बीचौबीच भागमा पर्छ भनेर ‘चुङ्वो’ भन्ने गरेका छन् । तर जे सुकै होस् भाषाको विषयमा अर्को लेख आउँदैछ र यो लेख धर्मसँग सम्बन्धित भएकोले त्यतैतिर मोड्न चाहन्छु ।

 

इस्तानबुल पुगेपछी नेपोलियनको भन्दा मेरो विचार अलिक फरक भएको थियो किनभने त्यस सहरमा ३१ सयभन्दा अझै बढी मस्जिदहरु रहेका छन् भन्ने मैले त्यहाँ पुगेर जानकारी पाएँ । अब त्यतिका धेरै मस्जिदहरु भएको सहरलाई अन्य केही नभनेर ‘मस्जिदहरुको सहर’ भन्न मन लागिरहेको थियो । कृष्णसागरदेखि बोस्फोरस जलसंयोजन हुँदै आएको मन्दमन्द बतासले मेरो मलिन अनुहारमा स्पर्श गर्दैगर्दा म हाजिय सोफिया मस्जिदमा पुगिसकेको थिएँ । जसकाे निर्माण ५३७ मा भएको थियो । त्यसको निर्माण हुँदा क्रिश्चियन क्याथेड्रल बनेको थियो तर कालान्तरमा ओट्टोमान साम्राज्यले मस्जिदमा परिणत गरिदिएका थिए । आखिर भगवानको नाममा मानवीय नियम जस्तो बनाएपनि हुनेरहेछ भन्ने मैले त्यो सुनेर चाल पाएँ ।

 

हाजिय सोफियादेखि आँखा चिम्लेर केही कदम अगाडी बढेपछि १७औं शताब्दीमा बनेको सुल्तान अहमद मस्जिद उर्फ ब्लु मस्कको ठ्याक्कै दलानमा पुग्न सकिन्छ । प्रोफेट महम्मदलाई मनमनमा सम्झँदै मस्जिदको भित्र पसेपछि करिब ४३ मिटर अग्लो र २४ मिटरको गुम्बजमा भएको नीलो रङ्गको भित्ताहरुमा पुगेर नजर ड्याम्मै ठोकिन्छ । करिब २० हजार सेरामिक्स टायलबाट सजिएको त्यो मस्जिद सम्भवत ओटोमान साम्राज्यले बनाई छाडेको कलाको सबैभन्दा राम्रो उदाहरण हुनसक्छ ।

 

हुनत मैले त्योभन्दा अगाडी आग्रा पुगेर ताजमहललाई ओल्टाईपल्टाई हेरिसकेको थिएँ । तर ब्लु मस्कमा पुगेर तीनको यौवन वक्षस्थलमा कुल्चेपछि त्यहाँको भित्री सजावट नै पो ताजमहलभन्दा उत्तम छ कि भन्ने आभास भइरहेको थियो । मस्जिद भित्रको पल्लो कुनामा जुत्ता लुकाइ सकेपछि भुईमा बिछ्याइएका सिमलका भुवाझैँ नरम कार्पेटमा टेक्तै गर्दा ‘धर्मका सबै अनुयायीहरुले एउटै भगवान छ भनेर बुझ्नुपर्छ, यदि त्यसो भयो भने हामीले विश्वमा भातृत्वको सास फेर्न सक्छौँ’ पोप बेनेडिक्ट सोह्रौँले त्यही कार्पेटमा टेक्तै गर्दा भनेका कुरोलाई एक झमट संस्मरण गरेको थिएँ । भ्याटिकनका सम्राट अथवा क्याथोलिक चर्चका धर्मगुरु पोप जोन पौल पछिको ब्लु मस्कमा भ्रमण गर्ने उहाँ द्वितीय पोप हुनुहुन्छ ।

 

इस्तानबुलको मस्जिदहरु र प्रोफेट महमदबाट सधैँको लागि बिदा मागेर म जेयस भगवानको दर्शन गर्न ग्रीसतर्फ पुगेको थिएँ । प्राचीन कालका अरु सबै स्कलरहरुको भनाइ छाडेर प्लेटोको मात्र भनाइ सुन्ने हो भने पनि ग्रीकको पौराणिक कथामा अद्भुत शक्त्ति भएका भगवान युरानस (आकास) र गाइय (जमिन) का १२ जना छोराछोरीहरु थिए । ग्रीक मिथकअनुसार उनीहरु नै यस धर्ती र आकाशका सबैभन्दा ठूल्ठूलो भगवानहरु हुन् । अब खै पत्याउनोस् वा नपत्याउनोस् त्यो आफ्नो ठाउँमा छँदै छ तर युरानसको छोरा क्रोनसले आफ्नै बहिनी रियसँग राखेको शारिरीक सम्पर्कबाट भगवान जेयसको जन्म भएको थियो ।

 

ग्रीक पौराणिक कथामा सबैभन्दा दुःखलाग्दो कुरो त अझ के छ भने जेयसभन्दा अगाडीका दाजुहरुलाई उनका बाबुले जन्मने बितिक्कै सर्लकसर्लक निलिदिएका थिए । बच्चा जन्मने बितिक्कै बाबुले खान्छ भनेर जेयस जन्मने बितिक्कै उनको आमाले बाबुलाई बच्चा खानको लागि एउटा सानो काठको टुक्रामा थाङ्नाले बेरेर बच्चा जस्तो बनाएर दिएकी थिइन । बाबुले छोरा सम्झँदै थाङ्ना निले र आफ्नो प्यारो छोरालाई बचाउनको लागि क्रेट टापुमा पठाइ दिइन् ।

 

 

तिनै छोरा हुर्केर ठूलो भएपछि परिवारसँग बस्न ओलम्पस पर्वतमा आएका थिए । उनी आउने बितिक्कै आफ्नो बाबुसँग दाजुहरुको माग राखेर बाबुलाई जेल चलान गरेका थिए । जसले गर्दा जेयस यस ब्रह्माण्डको सबैभन्दा ठूलो एवम शक्त्तिशाली ग्रीक भगवान बनेका थिए । त्यति शक्त्तिशाली भगवानलाई ग्रीकहरुले सम्पूर्ण भगवानहरुको पनि बाबु मान्ने गरेका छन् । तिनै भगवान जेयसले पनि आफूभन्दा आफ्नो छोरो शक्त्तिशाली जन्मन नसकोस् भनेर आफ्नै श्रीमती मेटिसलाई सर्लक्कै निलिदिएका थिए ।

 

त्यति ठूलो भगवान जेयसलाई अति आदरताको साथ सम्मान गर्नको लागि म पनि ओलम्पिया गाउँमा रेहको जेयस मन्दिरको भग्नावशेष स्थल पुगेको थिएँ । ग्रीसको ओलम्पिया गाउँमा तिनै भगवान जेयसलाई खुशी बनाउनको लागि इसापूर्व ७७६ मा प्रथम पटक प्राचिन ओलम्पिक खेलको आयोजना गरिएको थियो । वास्तवमा त्यसबेला ओलम्पिक खेललाई खेलभन्दा पनि बढी धार्मिक चाडपर्वको रुपमा लिइएको थियो । अहिले पनि हरेक ४ वर्षमा हुने ओलम्पिक खेल सुरु हुनुभन्दा अगाडी त्यही गाउँदेखि घुमाउरो (पाराबोलिक) ऐनाबाट आगो निकालेर उत्सव मनाउने परम्परा रहेको छ । अनि त्यस आगोको ज्वालालाई ओलम्पिक रङ्गशालामा लगेर खेलको सुरुदेखि अन्तसम्म बाल्ने गरिन्छ ।

 

प्राचिनकालमा भएको ओलम्पिक रङ्गशालाको भग्नावशेष मात्र नभएर इसापूर्व पाचौं शताब्दीमा निर्माण भएको ‘टेम्पल अफ जेयस’ को त्यो भग्नावशेषलाई राम्रोसँग अवलोकन गरिसकेपछि प्रथम आधुनिक ओलम्पिक खेल भएको स्थान हेर्न ग्रीसको राजधानी एथेन्स पुगेको थिएँ । किनभने त्यो पानाथेनिक रङ्गशाला मात्र विश्वको एउटा यस्तो रङ्गशाला हो, जहाँको बस्ने सबै सिटहरु सिङ्गमरमरबाट बनेका छन् । तिनै रङ्गशालामा १८९६ मा पहिलोचोटी आधुनिक ओलम्पिक खेल भएको थियो । तर पानाथेनिक रङ्गशालाबाट बाहिर निस्कँदै गर्दा लगभग २ हजार वर्षसम्म जेयसको नाममा हर्षबढाई नगर्दा यदि साँच्चै नै भगवान जेयस हुँदो हो त उनको मनमा के सोचिरहेको हुन्थे होला भन्ने लागिरहेको थियो ।

 

मेरो भौतिक शरीर ग्रीसमा भइन्जेलसम्म घुमिफिरी कुरो तिनै भगवान जेयसको नै पुगेर ठोकिन्छ । भगवान जेयसका करिब एक दर्जन श्रीमतीहरुबाट ६ जना मात्र सन्तानहरु जन्मेका थिए । उनीहरुमध्ये सबैभन्दा सुन्दरी छोरीको नाम चाहिँ एथेना देवी हुन् । तर खासखासमा एथेनाको आमा हेरा (जुनो) वा मेटिस को हुन् भनेर थेसोलेनिकी ग्रीसमा जन्मेकी इतिहासको प्राध्यापक रानिय हाटसिउ अलमलमा पर्छिन् । यदि तपाईलाई पनि ग्रीक भगवानहरुका नाम जान्न इच्छा भए निश्चय नै खगोल विज्ञान अथवा नक्षत्र विद्यासम्बन्धी ज्ञान लिनु भए हुन्छ । किनभने हरेक रात आकासमा देखापर्ने धेरैजसो तारा, ग्रह, उपग्रह, क्षुद्र ग्रह, उल्का, पिण्ड, नक्षत्रहरुका नाम उनीहरुकै नामबाट राखिएका छन् ।

 

पानाथेनिक रङ्गशालाबाट बिदा लिएपछी मनभरी एथेना देवीलाई सम्झँदै आक्रापोलिस डाँडा चढ्न निस्कदै थिएँ । तर आक्रापोलिस जाँदै गर्दा बाटोमा पर्ने ‘टेम्पल अफ ओलम्पियन जेयस’ एथेन्समा केहीबेर रोकिन पुगें । उक्त मन्दिर इसापूर्व छैटौं शताब्दीबाट निर्माण सुरु गरिएको भएतापनि त्यसको लगभग ६ सय ३८ वर्षपछि रोमन साम्राज्य हेड्रियनले पूरा गरेका हुन् । जेयस मन्दिर पूर्णावस्थामा पुग्दा एथेन्समा १०४ वटा कोरिन्थियन खम्बाहरु थिए ।

 

जस्तो कि यहाँहरुलाई अवगत भएकै हुनुपर्छ, प्राचिन समयमा ग्रीकहरुले ठूल्ठूलो मन्दिर र महलहरु बनाउन डोरिक, आयोनिक र कोरिन्थियन ३ प्रकारको खम्बाहरु प्रयोगमा ल्याएका थिए । अहिले पनि विश्वको प्रमुख सहरहरुमा तिनै ग्रीक खम्बाहरुको प्रयोग भएको राम्ररी देख्न सकिन्छ । लगभग २ हजार वर्ष पहिले बनेर भग्नावशेष भइसकेका १५ वटा कोरिन्थियन खम्बाहरु अहिलेसम्म बाचौं कि मरौं भन्दै उँभो आकाशतिर फर्किरहेका छन् र दुई वटा चाहिँ भुईमा बङ्लङ्गै लडिरहेका नजर लगाउन मिल्दछ ।

 

मैले जेयस मन्दिरको धित मरिन्जेल दर्शन गरेपछि पुनः आक्रापोलिस डाँडा चढ्न थालेको थिएँ । एथेन्स सहरको बीच भागमा अवस्थित त्यो डाँडा अति रमणीय डाँडा हो । जहाँबाट दिल खोलेर एथेन्स सहरको चारैतिर मज्जाले दृश्यावलोकन गर्न मिल्दछ । त्यस डाँडामा प्राचिनकालका दर्शनशास्त्रीहरु सुक्रोटिस, प्लेटो, अरिस्टोटल र अलेक्जाण्डर महानले टेकेका मात्र नभएर ‘एथिनियन डेमोक्र्यासी’ को मूलथलो भएकोले विश्वमा ज्यादै प्रख्यात रहेको छ ।

 

तिनै पवित्र स्थान आक्रापोलिसमा इसापूर्व ४४७ मा पार्थिननको मन्दिर बनेको थियो । यहाँनेर ‘पार्थिनन’ र ‘पार्थिअन’ भन्ने शब्दमा के फरक छ भने पार्थिनन भनेको एथेना देवीको सम्मानको लागि र पार्थिअन भनेको सबै ग्रीक भगवानहरुको सम्मानका लागि बनेका मन्दिरहरु हुन् भनेर बुझ्न पर्दछ । पार्थिनन आक्रापोलिसमा एथेना देवीको मूर्ती सुन र हात्तीका दाँतहरुबाट बनेका थिए । जुन मूर्तीलाई प्रचिनकालका सबैभन्दा चर्चित मूर्तिकार फेदियसको आफ्नै हातले बनाएका थिए ।

 

पर्सियन, भेनेसन र ओट्टोमान साम्राज्यहरुले एथेन्समा पटकपटक गरेको आक्रमणमा मन्दिर ध्वस्त भएपनि बाँकी रहेको सिङ्गमरमरका मूर्तीहरु लर्ड थोमस ब्रुस उर्फ एलजिनले ओट्टोमान साम्राज्यदेखि किनेर बेलायतमा ओसारेका थिए । ग्रीसले अहिले तिनै मार्बलहरु फिर्ता गरेर मन्दिरमा पुनः राख्न खोजेपनि बेलायत सरकारले स्वीकार गरिरहेको छैन । विश्वको सबैभन्दा विवादास्पद तिनै मार्बलहरुलाई एल्जिन मार्बल भन्ने गरिन्छ र जसको गहन अध्ययन गर्नको लागि म बेलायती सङ्ग्राहलय, लण्डनमा पटकपटक पुगेको थिएँ ।

‘हाम्रो विश्वास इस्टरको बिहानीमा जन्मेको छ, येसु जीवित हुनुहुन्छ । यो सन्देश हरेक इसाईहरुको मन र मुटुमा दिन चाहन्छु ।’

 

हरेक वर्षको इस्टर आइतबारको दिन सेन्ट पिटर्स स्क्वायर, भ्याटिकनमा हातहातमा घण्टा आकारका फूल तुलिप, डाफाडिल, गुलाब र सुनगाभाका कोपिला पक्रिरहेका दशौं हजार तिर्थयात्रीहरुलाई सेन्ट पिटर्स ब्रासालिकाको कौसीमा उभिएर क्रिश्चियन धर्मगुरु पोपले उक्त्त सन्देश दिइरहेको दृश्य बेलायती टेलिभिजनको पर्दामा देख्ने गरिन्छ । तिनै सन्देशलाई याद गर्दै म रोमनहरुको सहर रोममा पुगेको थिएँ । विश्वको लगभग १ अर्ब क्याथोलिक धर्मावलम्वीको धर्मगुरु पोपको आधिकारिक बासस्थान तिनै रोमको भ्याटिकनमा पर्दछ । लगभग ८१० जना जनसंख्या रहेको भ्याटिकन संसारको सबैभन्दा सानो देश पनि हो ।

 

भ्याटिकनमा पुगेर सेन्ट पिटर्स स्क्वायरबाट पोप देखापर्ने ब्रासिलिकाको कौसी नजर लगाएपछि मेरा कदमहरु सिस्टिना चापलतर्फ लम्केका थिए । तर बाटोमा जाँदै गर्दा माइकलएन्जलोले अति मेहनतका साथ क्यारेरा सिङ्गमरमरमा कुँदेका “पिएटा” मूर्तिकलाको नजर मार्न सकेँ । जुन मूर्तीकलामा भर्जिन म्यारीले क्रसमा किला ठोकेर मारिएका आफ्ना बयस्क छोरा जिजसलाई काखमा च्यापिरहेको दृश्य स्पष्ट देख्न सकिन्छ ।

 

विश्वको हरेक आमाहरुले आफ्नो बयस्क छोराको मृत्यु हुँदा कस्तो अनुभव गर्छन् होला भन्ने कुरो म यहाँ सायद शब्दमा वर्णन गर्न पनि सक्तिनँ । तर त्यो मूर्तिकलालाई इटाली पुनर्जागरण पछिको सबैभन्दा राम्रो मूर्तिकला हो भनेर ठोकुवा गर्न चाहिँ सजिलै सक्तछु । पियटा मूर्तिसँग एकछिन् बातचित गरेपछि सन् १५३५ देखि १५४१ सम्ममा तिनै माइकलएन्जलोले सिस्टिना चापलको भित्तामा कोरेका ‘द लास्ट जजमेन्ट’ चित्रकला हेर्न पुगिसकेको थिएँ । मलाई त्यहाँ पुगेर माइकलएन्जलोको चित्रकला हेर्दा उनका हातका औँलाहरु यदि भगवान भए तिनै भगवानले दिएको उपहार हुन् कि भन्ने लागिरहेको थियो । तर सबैभन्दा अचम्म त मलाई के लाग्यो भने त्यतिका धेरै मन्त्रमुग्ध भएर चित्रकलालाई हेरिरहेका मानिसहरु मैले जीवनमा पहिले कहिलै देखेको थिइनँ । त्यसपछि निक्कै दुखित हुँदै रोमलाई बिदा गरेर बार्सिलोना पुगेको थिएँ ।

 

बार्सिलोना, स्पेनमा पुगेर क्रिष्टोफर कोलम्बसको स्मृति स्तम्भलाई एकनजर लगाएपछि मेरो पाइलाहरु लास राम्बलामा डोब पर्न थालिसकेका थिए । लगभग १२ सय मिटर लामो लास रम्बाला सडक बार्सोलोना पुग्ने हरेक पर्यटकहरुको लागि मुख्य आकर्षणको केन्द्रविन्दु मान्नु पर्छ । क्याटालोनिय क्षेत्रमा बगलीमाराको राजधानी मानिने लास राम्बालाबाट बचेर म ‘ला साग्राडा फेमिलिय’ पुगेको थिएँ ।

 

ला साग्राडा फेमिलिय विश्व प्रशिद्ध रोमन क्याथोलिक गिर्जाघर हो । जसको निर्माण कार्य सुरु सन् १८६६ मा गर्ने भनिएको थियो तर विविध कारणहरुले सन् १८८२ मा मात्र निर्माण थालिएको हो । त्यस गिर्जाघरको मुख्य शिल्पकार एन्टोनी गाउडी हुन् तर गिर्जाघर बनाउँदा बनाउँदै दुर्भाग्यवस सन् १९२६ मा उनको मृत्यु भएको थियो । उनको मृत्यु भएको एक सय वर्ष पछि सन् २०२६ मा गिर्जाघरको निर्माण कार्य सक्ने योजना बनेको भएपनि त्यसभन्दा धेरै समय लाग्ने योजनाकारहरुले बताएका छन् । विश्वविख्यात इजिप्टको पिरामिडको निर्माण गर्न ५० वर्ष लागेको थियो तर साग्राडा फेमिलिय १ सय ५० वर्ष पार गर्दा पनि सकिने भने अत्तोपत्तो छैन ।

 

धर्म र भगवानको अध्ययनलाई निरन्तरता दिने क्रममा पूर्व साम्यवादी सहर सेन्ट पिटर्सबर्ग, रुस पुग्दा कार्ल मार्क्सको भनाइ “धर्म मानिसको लागि अफिम हो” भन्ने सोच्तै पुगेको थिएँ । त्यहाँ पुगेको भोलिपल्ट आँखा मिच्दैमिच्दै ‘चर्च अफ द सेभियर अन स्पिल्ड ब्लड’ रसियन अर्थोडक्स गिर्जाघर पुगेको थिएँ । ग्रिबोइडोब नहरको किनारमा रहेको त्यो गिर्जाघर तत्कालिन रोमानोभ शासक जार अलेक्जाण्डर दोश्रोको हत्या भएको ठाउँमा निर्माण भएको छ ।

 

त्यस गिर्जाघरलाई उनका छोरा अलेक्जाण्डर तेश्रोले सन् १८८३ बाट बनाउन सुरु गरेतापनि अन्तिम जार निकोलस दोश्रोको राज्यकाल सन् १९०७ मा मात्र त्यसले पूर्णरुप लिनसकेको थियो । यदि तपाई रुस पुग्नु भयो तर त्यस गिर्जाघरमा पुग्न भएन भने रुसमा नपुगेको जस्तै हुन्छ । त्यो गिर्जाघर र ताजमहलमा के फरक छ भने ताजमहल आफ्नो प्यारी श्रीमतीको सम्झनामा र चर्च अफ द सेभियर अन स्पिल्ड ब्लड आफ्नो प्यारो बाबुको सम्झनामा बनेका हुन् । तत्कालिन समयमा लगभग ५ मिलियन रुवल खर्च गरेर बनेको त्यस गिर्जाघरलाई उत्तरको ताजमहल भनेर चिन्ने गरिन्छ ।

 

आखिर जस्ले जे सुकै भनेतापनि ताजमहलको तुलनामा त्यस गिर्जाघरको कथा ज्यादै दुखद एवम दयनीय रहेको छ । रसियन क्रान्तिको समयमा चर्चभित्र सजिएका बहुमूल्य सरसामानहरु धर्म मानिसको लागि अफिम हो भन्दै सबै लुटपाट गरिएका थिए । अझै सबैभन्दा नराम्रो त के भयो भने दोश्रो विश्वयुध्दको समयमा सेन्ट पिटर्सबर्ग कब्जा गर्दा जर्मनीले अन्त कतै स्थान नपाएर त्यसलाई अल्पकालिन शवगृहमा परिणत गरेका थियो ।

 

जर्मनीले रुसमा पराजय भोगेपछि त्यस स्थानमा खाली गोदाम बनाइएको थियो र त्यहाँ सागसब्जी र आलु भण्डारण गर्न थालिएको थियो । त्यति सुन्दर गिर्जाघरको त्यस्तो बेहालत देखेर मानिसहरुले ‘आलुको मुक्त्तिदाता घर’ भनेर खिसी गरेका थिए । तर पछि गएर त्यसको सबैभन्दा राम्रो पक्षचाहिँ के भयो भने बोल्शेभिक पार्टीले तीन-तीन चोटी चर्च भत्काउनको लागि आदेश दिएपनि ज्यादै सुन्दर भएको हुनाले गिर्जाघर नष्ट गर्न कसैलाई जाँगर चलेर आएनन् । बडो मुस्किलले बाँच्न सकेको आलो रगतको मुक्त्तिदाता गिर्जाघर सम्भवत रुसको सबैभन्दा मुख्य आकर्षणको केन्द्रविन्दु नै होला ।

 

मलाई पटकपटक आन्ध्र महासागर पार गरेर पश्चिम दिशामा जाँदा कस्तो मानिसहरुले धर्मकर्ममा बढी रुचि राख्छन् होला भन्ने प्रश्नले पिरोलिरहेको हुन्थ्यो । समाजशास्त्रका पिता अथवा प्रत्यक्षवादी (पोजिटिभिज्म) फ्रेन्च दार्शनिक अगस्ट कोम्टले समाजमा मुठीभर मानिसहरु मात्र धर्मप्रति विश्वास गर्दछन् भनेको कुरोलाई निक्कै गहिरिएर सोच्ने गर्दथे । उनले आखिरमा के निश्कर्ष निकालेका छन् भने अशिक्षित, अनपढ, गँवार, लठुवा, अन्ध धर्मभक्त्ति, महिला तथा बालबालिका र जो सिकिस्त बिमारी परेका छन् र निको हुने सबै उपायहरु सकिसकेपछि धर्मको विश्वासले केही समय बाँच्न सकिन्छ कि भन्नेहरु मात्र धर्मप्रति आस्था राख्छन् भनेका छन् ।

 

उत्तरी आन्ध्र महासागर पार गरेपछि मिनी नेपाल भनेर न्युयोर्कको ‘ज्याक्सन हाइट’ लाई चिन्ने गरिन्छ । किनभने ज्याक्सन हाइटमा हरेक बिहान बेलुकी पछाडी खकने झोला बोकेर हिँडिरहेका मिश्रित जातजातिका नेपालीहरुसँग रमाइलो भेटघाट हुने गर्दछ । तर क्विन्स न्युयोर्कलाई पछाडी छाडी राखेर फिलाडेल्फिया वा बाल्टीमोरमा बास बस्दै वासिङ्टन डिसीमा पुग्नु भयो भने सबैभन्दा बढी आर्यन मूलका नेपालीहरुसँग मूलाकात हुन्छ । अब उनीहरुको बसाइ त्यहाँ भएपछि सानोतिनो नेपाली हिन्दु मन्दिर पनि बनिहाल्ने भयो । मैले किन नेपाली हिन्दु मन्दिर भनेको हो भने वासिङ्टनमा भारतीय र नेपालीहरुको फरक फरक हिन्दु मन्दिरहरु देखेको छु । अझै नेपालीहरुको हिन्दु मन्दिर पुग्दा नेपाली पण्डितले हातमा ऋषिडोरी बाँध्दै ५-१० डलर चन्दा उठाइरहेका पनि प्रत्यक्ष देखेको थिएँ ।

 

  • नेपालीहरुको अलिक सानै मन्दिर भएपनि भारतीय मूलका मानिसहरुको हिन्दु मन्दिर चाहिँ अलिक ठूलो नै देखिएको थियो । त्यहाँ पुगेपछि भारतीयहरुको मन्दिर ठूलो भएपनि अमेरिकनहरुको चाहिँ विचार निक्कै ठूलो जस्तो लाग्यो । हुनत उनीहरुको देश ठूलो भएकोले नै विचार पनि ठूलो र हाम्रो देश सानो भएकोले विचार पनि सानो हुन्छ होला । नत्रभने नेपालमा जिजसको बाइबल, महम्मदको कुरान र होली वाइन पिइयो भने सानो विचार गर्ने नेपालीहरुलाई अमेरिकामा हिन्दु मन्दिर बनाउँदा पनि अमेरिकनहरुले केही विरोध गरेको कहीँ कतै सुन्नमा आउन सकेन । अनि आफ्नो देशमा चाहिँ कसैले केही गर्न नपाउने तर अर्काको देशमा भने आफूले चाहेबमोजिम सबैथोक गर्न पाउने अधिकार चाहिँ खै हामीलाई कहाँबाट प्राप्त हुन्छ होला कुन्नि ?

 

अझै बेलायतको ब्राडफोर्ड, म्यानचेष्टर र बर्मिङ्घामको त कुरा गरेर साध्य नै छैन । त्यस बाहेकका अन्य सहरहरुमा पनि हिन्दु मन्दिर र मस्जिदहरु छ्यासछ्यास्ती उम्रिएका छन् । त्यति मात्र नभएर मैले लिमिङ्टन स्पा अथवा वारविकको ‘गुर्दवार साहिव मन्दिर’ पुग्दा पन्जाबमा रहेको गोल्डेन टेम्पलको तिर्सना मज्जाले मेटेको थिएँ । स्थानीय पंजाबी बासिन्दाहरुले ११ मिलियन पाउण्ड उठाएर बनाएको त्यस मन्दिर अमृतसारमा रहेको गोल्डेन टेम्पल उर्फ हरमन्दिर साहिब पछिको सबैभन्दा ठूलो मन्दिर हुन गएको छ ।

 

  • “जब मिसिनरीहरु अफ्रिकामा आए उनीहरुसँग बाइबल थियो अनि हाम्रो जमिन थियो । उनीहरुले प्रार्थना गरौँ भने त्यसपछि हामीले आँखा चिम्ल्यौँ । जब हामीले आँखा खोल्यौँ तब बाइबल हामीसँग र उनीहरुसँग जमिन भयो ।” दक्षिण अफ्रिकाको गिर्जाघरको धर्माध्यक्ष आर्क बिशोप डजमण्ड टुटुको उक्त हृदयस्पर्सी भनाईलाई सम्झँदै गर्दा पृथ्वीनारायण शाहहरुले हाम्रो गाउँघरमा आउँदा हातमा भाला र तलवार मात्र नभएर ठेलीका ठेली रामायण, महाभारत र गीता बोकेर आएका थिए । दक्षिण अफ्रिकामा डजमण्ड टुटुहरुलाई गरे जस्तै उनीहरुले पनि हाम्रा पुर्खाहरुलाई देख्ने बितिक्कै आँखा चिम्लन लगाइ हाले ।

 

जब हाम्रा पुर्खाहरुले आँखा खोले तब उनीहरुको हातहातमा गीता र महाभारतहरु थिए । त्यसबेला सिपाहीहरुको मुखबाट निस्केका ‘राजा भगवान विष्णुको दशौं अवतार हुन्’ भन्ने शब्दहरु पुर्खाहरुको कानकानमा गुन्जिरहेका थिए । अझै त्यतिले मात्र सिपाहीहरु किमार्थ खुसी थिएनन् । ‘अबदेखि उसो यस देशमा ब्रम्हको सन्तानले बाहेक अरु कसैले राष्ट्रको प्रमुख हुनु हुँदैन, नत्रभने विष्णु भगवान पनि खुसी हुने छैन’ उनीहरुले भनिरहेका थिए । त्यसबेलादेखि हामीलाई भगवानको नाममा सुनाइएका तिनै त्राश हाम्रो आत्मामा मज्जाले बास बसिरहेका छन् र अहिलेसम्म अति आदरताका साथ तिनै भनाइलाई राम्ररी अङ्गिकार गरिरहेका छौँ ।

 

  • मैले धर्म र भगवानको अध्ययन गर्दै हङकङदेखि न्युयोर्कसम्म पुग्दा मेरा ५ दशक समय नष्ट भइसकेको छ । तैपनि कहीँ कतै साक्षात भगवानसँग साक्षात्कार हुन नसकेपश्चात् पुनः फर्केर छिमेकी राष्ट्र भारतमा पुगेको थिएँ । किनभने भारत स्वतन्त्र आन्दोलनका समयमा मुख्य नायकको भूमिका खेल्ने भगत सिँहले फाँसीमा चढ्ने बेलामा ‘बेलायतीहरुले भारतमा राज गरेन भने भगवान पनि खुशी हुने छैन’ भन्ने कुरोलाई बेस्सरी खण्डन गरेका थिए । किनभने मानिसहरु यति स्वार्थी हुन्छन् कि झुटै बोलेर भएपनि शासनको बाग्डोर आफ्नो हातमा राखी राख्न चाहन्छन् । त्यसको लागि उनीहरुले धर्म भन्ने शब्दलाई सकिन्जेलसम्म दुरुपयोग गरिरहेका हुन्छन् ।

 

अन्ततः विश्वको आधाभन्दा बढी राष्ट्रहरुले धर्म निरपेक्ष राष्ट्र अङ्गीकार गरिसकेका छन् । नेपालको हकमा धर्म निरपेक्ष राष्ट्र हावापानी र माटोसँग एकदम सुहाउँदिलो छ । अझ मैले यहाँ कसैसँग त्राश नमानी दिल खोलेर भन्नै पर्छ । “मन्दिर जानु र भट्टि पसल जानु भनेका एउटै हुन्, किनभने ती दुवै ठाउँहरुमा क्षणिक आनन्द मात्र मिल्न सक्छ । सबैभन्दा बढी आनन्द प्राप्तिको लागि त अध्ययन एवम् अनुभव नै गर्नुपर्छ । त्यसपछि के चाल पाउन सकिन्छ भने न यहाँ अलौकिक शक्ति भएको कुनै भगवान नै छ वा पहिले थियो वा भविश्यमा नै हुन्छ ।”

 

त्यसैले मानव जीवनको लागि सबैभन्दा ठूलो भ्रम केही छ भने त्यो धर्म नै हो । तथापि कसैलाई धर्म मान्न मन पर्छ, माने हुन्छ, तर मन पर्दैन नमाने पनि हुन्छ । आखिर मानिस स्वतन्त्र प्राणी हो । उसले आफू खुशीले बाँच्न पाउनु पर्छ । अब यसो भन्दै गर्दा पुच्छारमा आएर संयुक्त्त राज्य अमेरिकाको १६औं राष्ट्रपति अब्राहम लिङ्कनको एउटा भनाइलाई सापटी माग्दै यस लेखलाई समाप्त गर्दैछु ।

 

“जब म राम्रो गर्छु, मलाई राम्रो लाग्छ । जब म नराम्रो गर्छु, मलाई नराम्रो लाग्छ र त्यो नै मेरो धर्म हो ।”

 

 

 लेखक बुईपा, खोटाङका हुनुहुन्छ । 

 

सम्बन्धित खबर