नेपाली लेखनमा म अलि पछि तानिएको हुँ

दियो पोस्ट  

कवि, कथाकार, उपन्यासकार, समालोचक र अनुवादकका रुपमा नेपाली साहित्यमा आफ्नो विशेष पहिचान बनाएका साहित्यकार महेश पौड्याल आफ्नो तेस्रो कथासंग्रह  ‘अपरिचित अनुहार’ लिएर आउँदै छन् । शिखा बुक्सले आज (असोज ०२) उनको संग्रह सार्वजनिक गर्दै छ । यसअघि पौड्यालका “त्यसपछि फुलेन गोदावरी” कथासंग्रह, ‘तादी किनारको गीत’ लगायतका १२ पुस्तकहरू प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालको केन्द्रीय अंग्रेजी विभागमा उपप्राध्यापकका रुपमा अध्यापन गर्दै आएका पौड्याल श्रीमती रमा अधिकारी पौड्यालसँग भक्तपुरमा बस्छन् । प्रस्तुत छ साहित्यकार महेश पौड्यालसँग उनको नयाँ कृतिको सेरोफेरोमा केन्द्रित रहेर दियोपोस्टका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री:

महेश पौड्यालसँग ‘स्रष्टा संवाद’

पुस्तक प्रकाशनको पूर्वसन्ध्यामा छौँ ।  तेस्रो कथासङ्ग्रह ‘अपरिचित अनुहार’ लिएर आउँदै हुनुहुन्छ ।  कुनै पनि कृति किन लेखिन्छ भन्नु रुटिन् प्रश्न नै हो, यद्यपि कुनै पनि कृति किन लेखिन्छ होला ? तपाईंले ‘अपरिचित अनुहार’ किन लेख्नुभयो? कस्तो पृष्ठभूमिमा सङ्ग्रह तयार भयो ? 

म एक नियमित लेखक हुँ । कथा मैले युवावस्थाबाटै लेखिल्याएको विधा हो । यसअघिको कथाकृति ‘त्यसपछि फुलेन गोदावरी’ लाई पाठकको प्रेमले तेस्रो संस्करणसम्म तान्यो । अझ पनि नयाँ संस्करण आउला । त्यसका सबै कथा विभिन्न सञ्चारमाध्यममा वाचित भए । यस कुराले मलाई हौस्यायो । लेख्न छोडिनँ । तर, यो हौस्याइमात्रै मैले कथा लेख्नुको कारक होइन । 

अचेल नेपाली कथामा मुद्दा यानि मिसन राइटिङ, र विविध प्रयोगहरू आइरहेको सन्दर्भमा, त्यस्ता कथा समयको एउटा भँगालो बितेर गएपछि कहाँ उभिएलान् – यो सोचिरहन्छु । र, नेपाली स्वादको तर समयको भँगालोमा नहराउने कथाको खोजी गरिरहन्छु । मेरा कथा त्यसै दिशामा मेरा इमान्दार प्रयास हुन् । 

मैले ‘त्यसपछि फुलेन गोदावरी’ मा विद्यार्थीकालमा लेखेका धेरै कथा सँगालेको थिएँ । त्यसमा भेटिने मेरा पात्र एक्ला, छोडिएका, विक्षिप्त र अल्मलमा रहेका पात्र थिए । तिनको भित्री संसार चिहाउने प्रयास थियो । ‘अपरिचित अनुहार’ मा आउँदा मेरा पात्र सामाजिक सरोकारसँग बढी सम्बन्ध राख्छन् । तिनको भित्री संसार फेरि पनि आएको छ, तर बाहिरी संसारको सापेक्षतामा । यसमा मैले विगत पाँच वर्षमा लेखेका कथा सँगालेको छु । 

‘त्यसपछि फुलेन गोदावरी’ र ‘तादी किनारको गीत’ जस्ता कृतिहरूको तुलनामा ‘अपरिचित अनुहार’ कहाँनेर छ ? आफैँले आफ्नो कृतिको समीक्षा गर्नुहोस् न ।  सँगै, यस कृतिबाट तपाईंको अपेक्षा के छ ? हामी पाठकले के अपेक्षा राख्ने ? 

‘त्यसपछि फुलेन गोदावरी’ र ‘तादी किनारको गीत’ मा मैले दिमाग कम र हृदय बढी चलाएको थिएँ । अहिले आएर हृदय अलि कम र दिमाग बढी चलाएको छु । यानि, म जीवन र जगतबारे तर्क गर्न खोजिरहेको छु । यसरी हेर्दा, मेरो कथाकारिता भावुकताबाट क्रमशः बौद्धिकता र चिन्तनतिर उन्मुख छ भन्ने मलाई लाग्छ । यो तुलना पाठकले पनि गरेर हेरून् भन्छु । 

जहाँसम्म पाठकले के अपेक्षा गर्ने भन्ने प्रश्न छ, त्यो पाठकको रुचिमा पनि भर पर्ला । तर पनि, मेरो कथाका बारेमा म चार कुरा भन्न सक्छु ।
एक- यी कथा समयको भँगालोमा सीमित छैनन् । यी मुद्दालेखन अथवा मिसन राइटिङ होइनन् । कमजोर भए होलान्, तर यिनले उठाएको भने शाश्वत मानवीय मूल्यको प्रश्न नै हो ।  

दोस्रो- यी कथा घरमा, बाआमा छोराछारी अथवा स्कुलमा शिक्षक र विद्यार्थी सँगै बसेर निर्धक्क पढ्दा हुन्छ । कतै कतै अश्लीलता वा यौन यिनमा छैन । 

तेस्रो कुरा- यी कथामा कुनै प्रकारको प्रयोगको भारी छैन । कथानक बुझ्न कसैलाई पनि कुनै सकस पर्दैन । पाठकले उमेर अनुसारको बोध गर्न सक्छन्, किन कि अर्थका विविध तह हुने गर्छन् नै । 

अन्तिम कुरा- यो सङ्ग्रह कथाकार भवानी भिक्षुलाई समर्पित छ । यानि, भवानी भिक्षुले नेपाली कथालाई जुन मोडमा पुर्याएर छोडेका थिए, त्यस मोडबाट अगाडि बढाउने प्रयास गरको छु । यसले पनि यो कृति मूल धारको साहित्यको प्रवाहमा छ भन्ने कुराको सङ्केत गर्दछ । म सानो मान्छे, भिक्षुको फेरो समाउँछु भन्नु पनि त आँट हो नि, होइन र?

‘एउटै कथासङ्ग्रहभित्र पनि आन्तरिक विविधता सम्भव छ भन्नुहुन्थ्यो । ‘अपरिचित अनुहार’ को सवालमा मात्रै होइन पछिल्ला कथासंग्रहको सवालमा पनि त्यस्ता विविधताहरू देखिएका छन्? आजका कथासङ्ग्रहहरूका राम्रा–नराम्रा चारित्रिक स्वभावहरू केके हुन्?

एउटा कथासङ्ग्रहभित्र पनि आन्तरिक विविधता सम्भव छ नै । ‘अपरिचित अनुहार’ मै पनि छ । शीर्ष कथामा स्वैरकल्पना र यथार्थको मायावी मिश्रण छ । ‘बूढो रुख र जुरेली’ लोककथाको बान्कीमा छ । ‘अभिमन्यु’, ‘मन्दिर’ र ‘बगर’ मनोवैज्ञानिक कथा हुन् भने ‘आवाजहरू’ र ‘दुई मृत्यु’ दार्शनिक कथा हुन् । ‘बार्दलीको एउटा अनुहार’ र ‘मृगनयनी’ कथाले अपाङ्गताको सरोकारलाई अँगालेका छन् । 

त्यसो त अन्य समकालीन कथाकारहरूका कथाले पनि विभिन्न स्वभाव बोकेर आएका छन् । नयनराज पाण्डेको ‘जियरा’ को पछिल्लो कभरमै ती कथा ‘मायावी यथार्थवाद’ का नमुना बनेर आएको बताइएको छ । उता कुमार नगरकोटीको ‘कल्प ग्रन्थ’ कतै केलाजजस्तो लग्छ, कतै पेस्टिचजस्तो । उपेन्द्र सुब्बा र रामलाल जोशीका कथा क्षेत्रीय रङ बोकेर आएका देखियो भने एलबी क्षेत्रीका कथा मानवीय सम्बन्ध, विशेष गरी नरनारीका सम्बन्धबीचको ऊहापोह बोकेर आएको भेटिन्छन् । 

अँ, कतिपय सङ्ग्रहमा दोष त नभनौँ, केही प्रश्न उठाउन सकिन्छ ।
एक- प्रयोगका नाममा पश्चिमतिर थोत्रिएको शैली यता नयाँ भनेर प्रयोग गर्नुको वृहत्तर तुक कति हुन्छ? यौन भएन भने कथा बिक्दैन भन्ने हेङओभर कहिलेसम्म पाल्ने? मुद्दामा आधारित कथाको आयु कसले तोक्ने? यी यावत् प्रश्न जिउँदा छन् । 

अर्को एउटा बहस छ- मैनालीकै ढपका कथा कति तान्ने? म प्रस्ट छु— स्वरूपमा नयाँ भएर कथ्य, भाव वा विचारमा अर्थहीन हुनुभन्दा कथा स्वरूपमा परम्परित हुनु, र कथ्य, भाव र विचारमा नवीन हुनु हजार गुणा बेस हो । 

देवकोटा, मल्ल दाजुभाइ, कोइराला दाजुभाइ, लामिछाने, मैनाली, श्यामदास वैष्णव, हृदयचन्द्र सिंह प्रधान, परशु प्रधान  लगायतका कथाकारहरूको दाँजोमा तपाईं कहाँ हुनुहुन्छ ? अझ तपाईंकै शब्दमै सोधुँ, ‘नेपालको देवकोटाकालीन साहित्यको जुन उचाइ थियो, त्यस्तो उचाइ न अगाडि थियो, न पछाडि अहिलेसम्म देखियो ।’, तपाईंको मत अद्यापि यही नै हो?

मेरो मत अद्यापि यही हो । हामी, विविध विधाको नाममा त्यसै बेला रोपिएका बेर्नाहरू तानिरहेका छौँ । र, माथि उल्लेखित कथाकारहरूको तुलनामा म कहाँ छु भन्ने जो प्रश्न छ, त्यसमा मेरो उत्तर के छ भने, उहाँहरू शिखर हो भने म फेदीको धूलो हुँ । 

मैले सधैँ भन्ने गरेको छु— ममा भवानी भिक्षु र रवीन्द्रनाथ ठाकुरको प्रभाव छ । नेपाली कथाका सन्दर्भमा भन्ने हो भने, म भिक्षुको बिरादरीमा छु, यद्यपि बालक छु, र हजार त्रुटिसहितको अपूर्ण कथाकार हुँ । तर पनि, मैले उनलाई पछइरहने छु । यसो भन्नुको अर्थ उनको सिको गर्छु भन्ने कुरा होइन । तर, भित्री मान्छेका तरङ्गहरूको सामाजिक–मनोवैज्ञानिक अर्थ खोज्ने परिपाटी उनले कथामा जसरी सुरु गरे, त्यसको विस्तारित अभ्यासको खाँचो अझ पनि छ । आज झनै खण्डित छ मान्छे । त्यस खण्डित मान्छेलाई आजको सन्दर्भमा खोज्नु झनै अर्थपूर्ण छ । 

हामीकहाँ निबन्ध, अनुवाद, बालसाहित्यमा काम भएन भनिरहेका छौँ । उसो भए यी विधाको वृद्धिविकासका लागि गरिहाल्नुपर्ने काम के हो ? समीक्षाको विषयमा त खैर, तपाईंले पटक–पटक बोल्नुभएको छ । अझ, सोध्न मन लागेको प्रश्न— नेपाली अनुवादको स्तरीयतामा कसरी विश्वस्त हुने? तपाईंको हकमा अनुवाद भनेको के हो?

यी सबैका प्रस्ट उत्तर छन् मसँग । निबन्धको विस्तार भयो, गुणवत्ता बढेन । बौद्धिक लेखकहरू पातलिए । बजार खुम्चियो । त्यसैले, आज पनि मानक देवकोटै छन्, लामिछाने नै छन् । 

अनुवादमा दुई कुरा ।
एक- पैसा भएकाहरूले आफ्नो कमजोर साहित्यलाई रहरले अनुवाद गराइ रहँदासम्म स्तरको कुरा नगरे पनि हुन्छ । एउटा अनुवादकको त व्यवसाय हो, उसले गर्छ । तर, त्यस्तो अनुवादले साहित्यको भलो गर्दैन ।
अर्को कुरा- अनुवादकले जति नै सुन्दर अनुवाद गरे पनि, गराउनेले त्यो पुस्तक नेपालबाहिरका व्यवसायिक र प्रतिष्ठित प्रकाशन गृहले नछाप्दासम्म खासै काम हुँदैन । 

जहाँसम्म अनुवादको स्तरको प्रश्न छ, यो जाँच्ने निकाय छैन, नेपालमा । त्यसैले दुर्घटना पनि भइरहन्छन् । अब अनुवादक आफैँले आफूलाई चुनौती दिएर अगाडि नबढे उपाय छैन । हामीले आफूलाई विश्वका अन्य अनुवादकसँग दाँजेर आफैँ हेर्ने र आफ्ना कमजोरीलाई न्यूनीकरण गर्दै जाने होला । 

मेरो हकमा अनुवाद भनेको एउटा संस्कृतिमा जन्मेको ज्ञानलाई अर्को संस्कृतिमा अनुकूलन गर्ने काम हो । त्यसैले यो जटिल छ । 

अब कुरा समीक्षाको । समीक्षकहरूको सङ्ख्या घट्दै जानु र सर्जकको बढ्दै जानुले यस विधाप्रतिको विकर्षण देखाउँछ । यो दुःखद कुरा हो ।

नेपालमा पठन संस्कृतिका लागि भएका प्रयासहरूसँग सन्तुष्ट हुनुहुन्छ? पठन संस्कृति विकसित गर्न के गर्नुपर्ला? पुस्तकबारे भइरहेका बहस एवं महोत्सवहरू बारे तपाईंलाई बोल्ने मुड छ? 

पछिल्ला दशकहरूमा नेपालमा पठन संस्कृति बढेको हो । तर, यो स्वतन्त्र पठन संस्कृति हो । स्कुल वा कलजेमा खासै यतातिर चासो अझै छैन । यो दुःखद कुरा हो । यसका लागि स्कुल–कलेजको व्यवास्थापनले स्वतन्त्र साहित्य अध्ययनका लागि वातावरण बनाउनुपर्छ । स्कुलमा बानी परेको अध्येता पलायन हुँदैन । माथि पुगेर बानी लाउन गाह्रो हुन्छ । 

पुस्तक बहसहरूमा त म खूब जान्छु । विमोचन पनि बहस हो । बोल्छु । झोंक चल्दा फेसबुक लाइभ पनि गर्छु । अचेल जुम वा क्लबहाउसमा पनि जान्छु । अँ, जहाँसम्म ठूला साहित्यिक महोत्सवको प्रश्न छ, केहीले बोलाउँछन्- जान्छु । केहीले नबोलाउने रोस्टरमा राखेका छन् सदाकालका लागि । बोलाउँदैनन्, जान्न । बोलाउँदैनन् भन्ने पहिल्यै थाहा हुन्छ । कारण उनीहरूलाई नै थाहा होला । देशका साथै सार्क क्षेत्रका विभिन्न सम्मेलनहरूमा गएको छु, गइरहन्छु । यस क्षेत्रका विश्वविद्यालयका गोष्ठीहरूमा जान्छु । 

पुस्तकसँग तपाईंको प्रथम साक्षात्कार कसरी हुन गयो? पढाइको विकल्प ‘पढाइ’ बाहेक अर्को थोक छैन भन्दै गर्दाए पढाइको औचित्य कसरी स्थापित गर्नुहुन्छ? सँगै, तपाईंले लेख्नुभएको पहिलो रचना कुन हो ? त्यो उपलब्ध हुन सक्छ?

मेरो बुवा मेरो पहिलो अङ्ग्रेजी शिक्षक । घरमै साहित्यिक माहोल भयो । मेरी दिदी डा. गोमा अधिकारी पनि लेखक । दिदी र दाइ पनि साहित्यकै विद्यार्थी । दुवैले साहित्यमै विद्यावारिधि गरे । मलाई साहित्य विरासतमै आयो भनौँ न । 

जहाँसम्म पढाइको औचित्यको प्रश्न छ, म आफूलाई हेर्छु । मैले पढेको साहित्य । पढाउने पनि साहित्य । लेख्ने पनि । मैले व्यवसायीकरण गरेर जीवन यापनको माध्यम बनाएको पनि साहित्य— शिक्षण, लेखन, सम्पादन वा अनुवादको नाममा । देश विदेश जति हिँडे, साहित्यकै नाममा हिँडे । साथी–सङ्गाती कमाए, साहित्यकै नाममा । यस कुराको जग मेरो पढाइमा छ । यानि, सक्दा, पढाइले जीवन परिभाषित गरिदिन्छ । यो भन्दा ठूलो यसको अर्को औचित्य के खोजौँ? 

मेरो पहिलो प्रकाशित रचना अङ्ग्रेजीमा छापिएको कविता थियो । सन् १९९४ मा भारतमा छापिएको । नेपाली रचनाचाहिँ ‘उषाको नियति’ भन्ने कविता, सन् १९९९ मा छापिएको । अहिले उपलब्ध छैन । भेटेपछि भन्नेछु । अँ, मेरो प्रथम प्रकाशित कथा पनि अङ्ग्रेजी कथा ‘द लिभ टेकिङ’ हो, र पहिलो प्रकाशित कृति पनि अङ्ग्रेजी भाषाकै बाल उपन्यास ‘माई सेयर’ हो । नेपाली लेखनमा म अलि पछि तानिएको हुँ । 

समकालीन नेपाली साहित्यले लेख्न छुटाइरहेको विषयवस्तुहरू के–के हुन्? लेखिएकाहरूमा देखिएका समस्याहरूचाहिँ ? लैङ्गिकताको सवालमा, स्वतन्त्रता र समानताको सवालमा एवं नारी, अपाङ्ग, प्रौढ र सीमान्तकृत समुदायको सवालमा हाम्रा लेखकहरू कता छन्? 

समकालीन नेपाली साहित्यले नेपाली दर्शन लेख्न छुटाएको छ । मुद्दा लेखिरहँदा, मुद्दाका पछाडि विद्यमान मानवताको जग भुलेको छ । एजेन्डा लेख्दा, ती ऐजेन्डाले विश्वमा कुन रूप लिइसके, त्यो त्यति थाहा पाएको देखिँदैन । लैङ्गिकता, स्वतन्त्रता, समानता र नारीका बारेमा त धेरै लेखियो । तर अधिकांश साहित्यले पाश्चात्य र विदेशी सिद्धान्त र मान्यताको गोहो पछ्याएको छ । यिनलाई नेपाली पाराले सैद्धान्तिकृत गर्न सक्ने आधार हाम्रो साहित्यले दिन सकेको छैन । त्यसैले, सूत्र उतैको प्रयोग हुन्छ, जसले कहिलेकाहीँ असहजता पनि निम्त्याउँछ । अपाङ्गका पक्षमा निकै कम लेखिएको छ । सीमान्तकृत समुदायका मुद्दालाई केन्द्रीकृत गरेर लेख्नुचाहिँ समकालीन नेपाली साहित्यको एउटा बलियो लक्षण हो । यस क्षेत्रमा भने उत्साहजनक काम भइरहेको देखेको छु । 

पछिल्ला किताबहरूलाई केवल ‘लेखकको एकांगी अनुभूतिमा सिमित भएको’ आरोप लागिरहेको छ । तपाईंको मत ? 

मान्छु । रहरले लेख्दा यस्तो हुन्छ । साथै नवप्रवेशीमा यस्तो हुन्छ । समय, सभ्यता र विश्वसँग गम्भीर बहस गर्छु भनेर आउने लेखकले अध्ययन गर्छ । विश्वसाहित्य पढ्छ । मौलिक दृष्टि विन्दुहरू जन्माउँछ । र, तिनलाई सार्वजनिक गर्नका लागि ऊ लेखक हुन्छ । तर रहरैले लेखक हुनेले त आफ्ना भाव, कुण्ठा र आक्रोशबाहेक के नै लेख्छ र? 

‘लेखक बजारमा त पुग्यो तर लेखकभन्दा बजार बलियो हुन पुग्यो ।’ के म सही छु ? लेखक आफ्नो अस्मिता र नैतिकतामा बाँच्न नसकेको कि बजार तानाशाही हुँदै गएको ?

बजार सधैँ डिमान्डिङ हुन्छ । हुनु नै पर्छ । यो बजारको स्वभाव हो । तर, लेखक बहकिनु हुँदैन । बजारले के माग्छ भन्दा पनि म के भन्न लेखिरहेको छु भन्ने प्रश्न गहन हो । अचेल देख्छु— लेखक खूब फेमस छन् । तिनको रचना कतै छैन । हल्ला व्यापक छ । तिनको रचनाको कुनै एउटा हरफ कुनै पाठकले कण्ठ पार्दैन, सुनाउँदैन । यो चाहिँ गलत भइरहेको छ । 

बजारलाई दोष लगाएर उम्किन मिल्दैन । आफ्नो विचार, शैली, ढप र दृष्टिसँग बजारलाई अभिमूखीकृत गर्छ बलियो लेखकले । तर कमजोर लेखक, बजारले जे माग्छ त्यही लेख्छ । अथवा, स्टन्ट गर्छ । साहित्य स्थापित हुँदैन, साहित्यकार खूब चल्छ । यो साहित्यभित्रको त्रासदी हो । 

सम्बन्धित खबर