फिलिङ्गोमाथि समिक्षा : जिवन्त पुस्तकभित्र सिमान्तीको दोहोरो भूमिका !

diyopost.com
यशु सापकोटा
  शनिबार, आश्विन ०२, २०७८ | १८:४०:५८

 

प्रभा बरालद्वारा लिखित ‘फिलिङ्गो’ मदन पुरस्कार पाउने किताबहरुको सुचीमा परेको छ । छिटो पढ्दा तीन घण्टामा सकिने यो पुस्तकले जापानको परिवेश संस्कृति बुझ्न सघाउनेछ ।

विदेशी भूमिमा नेपालीले नेपालीलाई नै गर्ने शोषण, मजदुरका पीडाहरु र महिलालाई समाजले र पुरुषले हेर्ने दृष्टिकोणको विषयलाई पुस्तकले जोडेको छ । सुरुको ३ पृष्ठमा सरकारले वैदेशिक रोजगारीलाई प्रश्रय दिएको र विदेशबाट आएको रेमिट्यान्स भित्राएर मुलुक समृद्ध बनाउने सपना देखेको प्रसंग छ । साँच्चै यतिबेला मुलुक ८० लाख भन्दाबढी युवाहरुले खाडी लगायत मुलुकमा बगाएको पशिनाको भरमा चलिरहेको छ ।

देशमा रोजगारीको सृजना गर्नुको सट्टा नेताहरु सत्ताको सत्ताको म्युजिकल चेयर खेल्न थालेको दशकौं भइसक्यो । नेपालको धेरै जमीनहरु बाँझो छन् । अधिकांश जमिन भू–माफिया र जमिनदारहरुको कब्जामा छ । तैपनि हाम्रो मुलुक हामी कृषि प्रधान देश भनेर गर्व गरिरहेका छौँ ।

 

आर्थीक अवस्था राम्रो भएकाहरु जापान , कोरिया, अमेरिका जस्ता देशहरुमा पलायन भएका छन् भने मध्यम वर्गीय परिवारकाहरु खाडी मुलुकहरुमा ५० डिग्रीभन्दा बढी तापक्रममा पसिना बगाइरहेका छन् । अझै श्रमिक महिलाको हालत झनै कहालिलाग्दो छ । एकातिर यो देशमै महिलाहरुको सुरक्षा गर्न राज्य असफल भइरहेको छ । आफ्नै देशमा सुरक्षित नभएका महिलाहरु परदेशमा कसरी सुरक्षित होलान् र ? आफ्नै देशको महिलाको सुरक्षा गर्न नसक्ने राज्यले परदेशको महिलाको व्यथा त सुन्न समेत भ्याएको छैन । यस्ता विषयहरुमा बरालद्वारा लिखित पुस्तकले जिवन्त ढंगले प्रस्तुत गरेको छ ।

 

मनमा विभिन्न कुराहरु खेलाउदैँ यस पुस्तककी पात्र सिमान्ती जापान उडान गर्छिन् ।

 

पहिलोपटक रेलको यात्रा गर्न लागेकी सीमान्तीले रेलमा यात्रुले कार्ड प्रयोग गरेर या सिक्का छिराएर भाडा तिरेको देख्दा उनलाई नागरिकहरुको इमानदारीता देखेर अचम्म लाग्छ । त्यहाँ देश छ र देशले हरेक नागरिकलाई एउटा अनुशासनमा हिडाएको छ । यहाँ त देश चलाउनेहरु नै अनुशासनमा हिँड्दैनन् नागरिकको त के कुरा भयो र ?

 

 

पुस्तकले महिलालाई कसरी आत्मनिर्भर बन्नेदेखि लिएर आफ्नो स्वामित्व कसरी कायम गर्ने भनेर उठाएको विषय निकै राम्रो छ । जापानमा एकल अभिभावक बन्न पाउने , महिलाहरुले हरेक किसिमको काम सहजै गर्न पाउने विवाह नै नगरी आमा बन्न पाउने , डिर्भोस भएपनि समाजबाट महिला उपेक्षित हुन नपर्ने विषयले भने जापानको महिला स्वतन्त्रता र महिलाअधिकार बारे बुझन पनि फिलिङगोले धेरै सहयोग गर्नेछ ।
विश्वको हरेक ठाँउमा महिला स्वतन्त्रता भएपनि कतै न कतै दबिनुपर्ने कुरालाई पनि पुस्तकले जोडेको छ ।

 

यो पुस्तकले जापानको काम गर्ने शैली , सरसफाई , समय र कामको महत्वबारे बुझ्न निकै सहज बनाउँछ । पुस्तकमा लेखकले जापानमा काम सानो ठूलो हुदैँन भन्ने देखाउन त खोजेको छ तर पुस्तककी प्रमुख पात्र सीमान्तीलाई भने स्वाभिमान दाउमा राखेर शौचालय सफा गर्न सकिँदैन भन्ने लाग्छ । यदि काम सानो ठूलो हुँदैन भने शौचालय सफा गर्नु कसरी स्वाभिमानको दाउ हुन सक्छ ? यद्धपी लेखकले नेपालबाट परदेश जानेहरुको मनोविज्ञानलाई उतार्न खोज्नु भएको हुनसक्छ । साँच्चै हामी जन्मिएको मुलुकमा भने श्रमजिवीहरु, सरसफाई गर्नेहरु ‘फोहोरी’ हुने र फोहर गर्नेहरु ‘सफा’ र ठुलो मान्छे हुने परम्परा छ । ईतिहासदेखि नै श्रमजिवि र दलितहरु हेपिने मात्रै होइन उनीहरुलाई सम्पुर्ण अधिकारबाट बञ्चितिकरण गरिँदै आएको छ ।

 

एउटा प्रसङ्गलाई जोडेर लेखकले तसलिमा नसरिन र पारिजातको केही विषय राख्दै “महिलाले गर्ने सिंगारपटारलाई दासत्वको स्वीकारोक्ति ठानिन्छ” भनिएको छ । सीमान्तीलाई एकातर्फ “भाग्यलाई दोष देखाएर म श्रीमानको दुर्व्यावहार सहन सक्दिनँ” भनेर देखाइएको छ भने अर्को तर्फ पीडा सहन नसकी भगवानसंग प्रार्थना गरेको देखाइएको छ । यस्ता दोहोरो चरित्रका कारण पुस्तक स्तरिय बन्न नसकेको हो की ?

 

सम्बन्धित खबर