फल्चासँग जोरी खेल्दा श्री लालीगुराँस सहकारी समस्याग्रस्त, झूटो विज्ञप्तिद्वारा ढाकछोप

diyopost.com
दियो पोस्ट  बिहिबार, आश्विन १४, २०७८ | २२:५४:०६

काठमाडौं । ललितपुरको पुल्चोकस्थित २ सय ६ वर्ष पुरानो समय् फल्चा हडप्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको दुष्प्रयासका कारण सहकारी समस्याग्रस्त भएको छ ।
सहकारीका अध्यक्ष अमरदाश श्रेष्ठले सहकारीको कारोबारमा गम्भिर समस्या भएको बताएका छन् । ललितपुर जिल्लाको ऐतिहासिक सम्पदा समय फल्चाको भग्नावशेष हडपेर लालीगुराँसले भवन निर्माण गरेको थियो । उक्त भवन मापदण्ड विपरित समेत रहेको पाइएको थियो ।

२ शताब्दी पुरानो फल्चा निर्माण गर्न महानगरपालिकाले बजेट बिनियोजन गरेपछि कार्यकारी निर्देशक भण्डारीले अदालत र प्रशासनमा झूटो निवेदन दिएर पटक पटक अवरोध गर्ने कोशिस गरेका थिए । तर, ६ पटकसम्म अदालतबाट पराजित भएपछि पनि उनले फल्चा निर्माणमा अवरोध गरेपछि फल्चा निर्माण उपभोक्ता समितिले सहकारीको मुख्य प्रवेश द्वार नै छेकेर फल्चा निर्माण थालेको थियो । तर, जिल्ला प्रशासन कार्यालय ललितपुरका सिडिओको अनुनयका कारण समितिले ७ दिनका लागि प्रवेश द्वार खुला गरेको छ ।

प्रवेश द्वार नै बन्द भएपछि कारोबारमा समस्या आएको अध्यक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष श्रेष्ठले विज्ञप्तिमा अदालतकै मानहानी हुने गरि झूटो विवरण उल्लेख गरेका छन् । ललितपुर महानगरपालिकाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतको आदेश र फैसला अनुसार फल्चा निर्माण थालेको भएपनि श्रेष्ठले अदालतकै मानहानी हुने गरी विज्ञप्ति निकालेका छन् ।

उनले सर्वोच्चको आदेश र फैसला अनुसार निर्माण भएको फल्चा निर्माण कार्यलाई ‘अदालतको आदेश विपरित’ भन्दै अपव्याख्या गरेका हुन् । तर, साउन १७ गते सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसी र ईश्वर खतिवडाको इजलाशले फल्चा निर्माण गर्न आदेश दिएको छ । २०२३ सालमा खिचिएको ऐतिहासिक तस्विरमा समेत समय् फल्चा हुँदा हुँदै सहकारीका अध्यक्ष श्रेष्ठले विज्ञप्तिमा नापी नक्सामा कुनै पनि पाटी समेत नरहेको भन्दै विज्ञप्तिमा लेखेका छन् ।
त्यस्तै गरी उनले मेयर चिरिबाबु महर्जनलाई समेत व्यक्तिगत आक्षेप लगाउन भ्याएका छन् ।

मेयर महर्जनले केही व्यक्तिलाई आफ्नो प्रभावमा पारेको र पुरातत्व र संस्कृतिको नाममा नकरात्मक सुचना प्रवाह गरेको आरोप लगाएका छन् । सर्वोच्चको फैसला र सरकारी जग्गा रहेको कित्ता नम्बर ३२७ मा निर्माण भएको फल्चालाई कानुन र नियम विपरित निर्माण गरिएको भन्ने गलत आक्षेप समेत लगाएका छन् । फल्चा पुनर्निर्माण उपभोक्ता समितिले फल्चाकै जमिनमा जस्ताले बारबेर गरेको भएता पनि अध्यक्ष श्रेष्ठले यसको दोष समेत मेयर महर्जनलाई नै लगाएका छन् ।

सहकारीले २२ हजार भन्दा बढी शेयर सदस्य रहेको र उक्त फल्चाले ढोका बन्द गर्दा वित्तिय कारोबारमा समस्या भएको बताएको छ ।

सम्बन्धित खबर