विमानस्थलमा ‘फेक रेस्क्यु दलाल’को विगविगी : दलालको हातमा प्राधिकरणको सरकारी पास !

दियो पोस्ट  

काठमाडौं । नेपाल प्रहरीले बसपार्क क्षेत्रमा देखिने विचौलिया हटाउन विभिन्न अपरेशन चलायो । सामान्य जिविकोपार्जन गर्ने मजदुरमाथि प्रहरीको अपेरशनपछि सयौँ पक्राउ परे भने कयौँलाई सार्वजनिक मुद्दा लागेको छ । त्यस्ता व्यक्तिहरु दिनभर कमाउने र बेलुका एकछाक खानाकै लागि संघर्ष गर्नेहरु हुन् । तर, सामान्य मजदुरमाथि निर्मम भइरहने राज्यका निकायहरु भिआइपी विचौलियामाथि भने कारबाही गर्न हिम्मत गर्न सक्दैन । त्यस्ता विचौलियाहरु हरेक क्षेत्रमा छन् । विशेषगरि त्रिभुवन विमानस्थलमा त विचौलिया र तस्करहरुको रजगज नै छ भन्ने प्रमाण पछिल्लो समय सार्वजनिक भएको सुनकाण्डले नै पुष्टि गर्छ ।

यसरी विचौलिया र फेक रेस्क्यु धन्दा गर्नेहरुले त्रिभुवन विमास्थल भरिएको छ । ठमेलमा ट्रेकिङ्ग कम्पनि संचालन गर्ने केही विचौलियाहरु हेलिकोप्टरको दलाल बनेर विमानस्थल छिर्छन र त्यहाँबाट करोडौँ कुम्ल्याएर अकुत सम्पत्ति जोड्ने गरेका छन् । ठमेल स्थित काठमाडौं गेस्ट हाउस नजिकै एक व्यक्तिको ट्रेकिङ्ग कम्पनि छ । उक्त कम्पनिले वार्षिक बीस तीस जनाको पनि ट्रेकिङ्ग गराउन सक्दैन । तर, उक्त कम्पनिका सञ्चालक भने रातारात अर्बपति भइसके । करोडौँको गाडी र घर उनले दैनिक ट्रेकिङ्ग प्याकेज बेचेर होइन यसरी नै विमानस्थलमा दलाली गराएर जोडेका हुन् । सामान्य आर्थिक हैसियत भएका ती व्यक्ति फेक रेस्क्यु र हेलिकोप्टर दलालीले नै करोडपती बनेका हुन् । त्यस्ता व्यक्तीलाई सजिलै प्रवेश अनुमति नेपाल नागरिक उडयन प्राधिकरणले दिने गरेको छ ।

दियोपोस्टलाई प्राप्त विवरण अनुसार अल्टिच्युड एयरको नाममा नागरिक उडयन प्राधिकरणबाट ५५ जनाको नाममा पास जारी भएको छ । तर, अल्टिच्युड एयरको वेभसाइटमा हेर्दा जम्मा २८ जना मात्रै कार्यरत देखिन्छ । कम्पनिका संचालकदेखि कर्मचारी जोड्दा जम्मा २८ जना रहेको वेभसाइटमा उल्लेख छ । तर, विभागबाट भने ५५ जनाको नाममा पास जारी भएको छ । यद्धपी यो कम्पनिका मालिक निमा नुरु शेर्पा भने यसरी पास जारी भएका ५५ जना नै आफूहरुको कर्मचारी र बोर्डअफ डाइरेक्टर रहेको दाबी गर्छन् ।

यद्धपी उनको दाबी पुष्टि हुने आधार छैन । अल्टिच्युड एयरको जम्मा २ वटा हेलिकोप्टर छ । त्यतिका संख्यामा पास जारी गर्नुपर्नाको कारण हालसम्म पनि प्राधिकरणले दिन सकेको छैन । स्रोतका अनुसार प्राधिकरणकै उच्च अधिकारीको मिलेमतोमा यस्तो अवैध पासको धन्दा हुने गरेको छ । कतिपय दलालहरुले हेलिकोप्टरमा शेयर प्रमाण छ भन्दै उक्त कागज देखाएर विमानस्थलमा दलाली र रेस्क्यु धन्दा गरिरहेका छन् ।

मनाङ्ग एयरको अध्यक्ष सतिस प्रसाद प्रधानसहित १५ जना कर्मचारी तथा संचालकको नाम वेभसाइटमा राखिएको छ । तर, यो कम्पनिको नाममा पनि विभागले ५५ जनाकै नाममा पास जारी गरेको छ । जम्मा २ वटा हेलिकोप्टर रहेको यो कम्पनि पनि शंकाको घेरामा रहेको छ । यहाँबाट जारी भएको १५ जना बाहेकका कर्मचारी को हुन् ? शंकाष्पद छ । यो कम्पनिले पनि ठमेलमा रहेका केही रेस्क्यु कम्पनिको अवरणमा ठगी धन्दा गर्नेहरुलाई केही शेयर दिए जस्तो गराएर विमानस्थलमा विचौलिया परिचालन गरेको छ ।

३ वटा हेलिकोप्टर रहेको सिम्रिक एयरले ८१ जनाको नाममा प्रवेश अनुमति पास लिएको छ । तर, यो हेलिकोप्टरको सबैभन्दा शंकाष्पद धन्दा हुने गरेको प्राधिकरणकै उच्च अधिकारीहरु दाबी गर्छन् । ‘यो हेलिकोप्टर कम्पनि पटक पटक कारबाहीमा परेको हो । निषेधित क्षेत्रमा उडान गर्नेदेखि अवैध वन्यजन्तु तस्करीसम्म जोडिएको छ,’ प्राधिकरणका उच्च अधिकारी भन्छन्,‘छानबीनमा यो विषय पक्कै आउने छ । पास जारी भएका व्यक्तिको नाममा तलब कसरी भुक्तानी भएको छ त्यो हेर्दा सबै छर्लङ्ग हुन्छ नै ।’

यता कैलास हेलिको नाममा पनि ५२ जनाको नाममा पास जारी भएको छ । तर, यसका कर्मचारी भने आफूहरुको जम्मा ६० जना कर्मचारी रहेको बताउँछन् । ‘हाम्रोमा जम्मा ५२ जना कर्मचारीले पास लिएका छौँ । जबकी हामी भने ६० जना कर्मचारी कार्यरत छौँ,’ ती कर्मचारीले भने ।

सिफारिस