आसिफ र दुई कुशल चम्किँदा अमेरिकाको लज्जास्पद हार, नेपालले गर्यो क्लीन स्वीप

दियोपोस्ट संवाददाता

काठमाडौं । अमेरिकामा भएको तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले ऐतिहासिक क्लिन स्वीप गरेको छ । अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गर्न सफल भएको हो । सुरुवाती दुई खेल जितेर नेपालले यसअघि नै सिरिज कब्जा गरिसकेको थियो । अन्तिम खेलमा अमेरिकाले नेपालसामु जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्यसलाई नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालको जितका लागि तेस्रो खेलमा ओपनर आसिफ शेखसँगै कुशल भुर्तेल र कुशल मल्ल नायक बने । नेपालले पहिलो विकेट पाँचौं ओभरको पहिलो बलमा गुमाएको थियो । नेपालका ओपनर अलिनकुमार साह १३ रनमा जसदीप सिंहबाट एलबिडब्ल्यु आउट भए।

तर, अर्का ओपनर आसिफ र तेस्रो नम्बरमा आएका भुर्तेलले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याए । उनीहरू बीच ५० रनको साझेदारी भएको थियो । ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका आसिफ ५० रनमा जसदीपबाट क्याच आउट भए।

तर, अघिल्ला दुई खेलमा बेन्चमा बसेका मल्लले भुर्तेलसँग बलियो साझेदारी गर्दै नेपाललाई जित दिलाए । ३० बल खेलेका मल्लले चार चौका र एक छक्कासहित अविजित ४४ रन बनाए । दुई बल कम खेलेका भुर्तेलले दुई चौका र एक छक्कासहित अविजित ४० रन बनाए ।

सिरिजको आईतबार भएको दोस्रो खेलमा सोमपाल कामी चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज एक खेलअगावै जित्न सफल भएको थियो । आइतबार बिहान भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको थियो । आईतबार नै नेपालले सिरिज जितिसकेकोले सोमबमारको खेल प्रतिस्ठाका लागि मात्रै थियो । तर, अमेरिकाले आफ्नो प्रतिस्ठालाईसमेत जोगाउन सकेन ।