भीष्मराज ओझा
काठमाडौँ, २५ असोज । सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् ।
‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाआँै’ भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउन विश्व दृष्टि दिवस मनाइँदैछ ।
विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय संस्थाले सन् २०१० को अध्ययनलाई आधार मानी सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।
उक्त दुवै संस्थाले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ फेब्रुअरीमा ‘भिजन २०२०ः दृष्टिको अधिकार’ कार्यक्रम घोषणा गरी हरेक वर्ष अक्टोबर महीनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने गरिएको हो ।
नेपाल सरकार पनि उक्त सङ्गठनको राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा २० वर्षे कार्ययोजना ९सन् २००१–२०१९० लागू गरेको छ । दिवसका अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानले मुलुकभरका सामुदायिक आँखा केन्द्रमा विभिन्न कार्यक्रम गरिरहेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले जानकारी दिनुभयो ।
यस दिवसका अवसरमा प्रतिष्ठानले ओखलढुङ्गा, रामेछाप, दोलखा तथा सिन्धुली र मुस्ताङका बिरामीलाई लक्षित गरी आयोजना गरिएको आँखा शल्यक्रिया शिविरमा १४४ को निःशुल्क मोतीविन्दुको शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा आँखासँग सम्वन्धी केही तथ्य
प्रतिष्ठानका अनुसार नेपालमा एक लाख २० हजार मानिस दृष्टिीबिहीन छन् । दश लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टि दोषको समस्या छ । अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् । अन्धोपनका १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् । नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिसमध्ये ६० प्रतिशत महिला छन् ।
न्यून दृष्टिको मुख्य कारणमा दृष्टि दोष, मोतिविन्दु र जलविन्दु रहेका छन् । सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भेक्षणमा ०दशमलव०६ प्रतिशत बालबालिकामा अन्धोपन देखिएकामा ८० प्रतिशत बालबालिकाको उपचार गरेर अन्धोपन हटाउन सकिने भेटिएको थियो ।
अन्धोपनाका मुख्य कारण मोतिविन्दु र यससँग सम्बन्धित ६५ प्रतिशत, आँखाको पर्दाजन्य रोग १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना छ प्रतिशत, जलविन्दु पाँच प्रतिशत, दृष्टि दोष चार प्रतिशत र अन्य सात प्रतिशत रहेको छ ।
विश्वमा आँखा स्वास्थ्य सम्वन्धी केही तथ्य
विश्वमा तीन करोड ६० लाख मानिस दृष्टिीबिहीन छन् । २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यून दृष्टिबाट प्रभावित छन् । एक अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् । एक करोड ९० लाख बालबालिकामा दृष्टि दोष देखिएको छ । कूल दृष्टिदोषमध्ये झण्डै ६५ प्रतिशत मानिस ५० वर्ष र माथिका उमेरका छन् । अन्धोपना र दृष्टिदोषको भार सन् १९९० को ४ दशमलव ५८ प्रतिशतबाट कम भएर २०१५ मा ३दशमलव ३७ प्रतिशतमा झरेको तथ्याङ्क छ ।
आँखा स्वास्थ्य सन्देश
आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टि दोषका लक्षण हुन् । यो समस्या जो कोही र जुनै उमेरमा पनि हुनसक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई जचाइहाल्नुपर्दछ । हरेक पाँच अन्धोपन भएका मानिसमध्ये चारको उपचार र रोकथाम सम्भव छ । तसर्थ नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गरी अन्धोपना हुनबाट बचौँ र बचाऔँ । रासस