वामदेव प्रसंगको समापन, नकारात्मक प्रतिक्रियाले ‘ब्याक’ हुने निष्कर्ष

Diyo post  

काठमाडौं, असोज २६ । नेकपा नेता वामदेव गौतम काठमाडौं–७ को सम्भावित उपनिर्वाचनबाट पछि हटेका छन् । केन्द्रीय सचिवालय बैठकमा उनको उम्मेदवारीसम्बन्धी प्रस्ताव विचाराधीन रहेकै वेला गौतम ‘ब्याक’ हुने निष्कर्षमा पुगेका हुन् ।

पार्टीभित्र र सामाजिक सञ्जालमा लगातार गौतमको उम्मेदवारी तयारीबारे नकारात्मक प्रतिक्रिया आउनेक्रम नरोकिएपछि पार्टीकै नेताहरू र शुभेच्छुकको सुझाबअनुसार गौतम पछि हटेका हुन् । महासचिव विष्णु पौडेलसहित उनीनिकट नेता–कार्यकर्ताले गौतम उम्मेदवार बन्ने तयारीबाट पछि हटेको पुष्टि गरेका छन् ।

‘तपाईंहरूको सद्भावका लागि धन्यवाद । तर, अब काठमाडौं–७ बाट उम्मेदवार बन्ने च्याप्टर आजैबाट क्लोज्ड भयो,’ गौतमले त्यस क्षेत्रका प्रदेश सभा सदस्यहरूलाई टेलिफोनमार्फत भने, ‘मैले अहिलेको यी सबै सन्दर्भलाई सहज रूपमा लिएको छु ।’

उम्मेदवारीको विषयमा बिहीबार प्रदेश सभामा काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरूको भेला चलिरहेकै वेला गौतमले काठमाडौं–७ का प्रदेश सभा सदस्य वसन्त मानन्धरलाई एसएमएस गरेका थिए, ‘म उपचुनावमा उम्मेदवार बन्दिनँ, तपाईंहरूले रामवीर मानन्धरलाई सम्झाइदिनुहोला ।’ बैठक चलिरहेकै वेला वसन्तले सबैलाई जानकारी गराएका थिए ।

पार्टीकै शीर्ष नेता–कार्यकर्ताको असन्तुष्टि र सामाजिक सञ्जालको विरोधले गलायो वामदेवलाई

अध्यक्ष ओलीसहित बहुमत नेता विपक्षमा
संसद् छिर्न काठमाडौं–७ को बाटो वामदेव गौतमको पहिलो रोजाइ होइन । डोल्पाका धनबहादुर बुढा, दैलेखका रवीन्द्र शर्मा, बैतडीका दामोदर भण्डारी, बाँकेका नन्दलाल रोकाया, प्युठानकी दुर्गा पौडेल र नवलपरासीका तिलक महतलाई राजीनामा गराउने प्रयास असफल भएपछि वामदेव राजधानी छिरेका हुन् । डोल्पालगायतकै क्षेत्रमा सांसदहरूले वामदेवलाई छोड्ने प्रारम्भिक सहमति दिए पनि शीर्ष नेताहरूबाट सकारात्मक सन्देश नपाएपछि पछि फर्किएका हुन् । वामदेवका लागि ठाउँ छाड्न सांसद रामवीर मानन्धर तयार भए पनि अध्यक्ष केपी ओलीसहित अधिकांश सचिवालय सदस्य विपक्षमा देखिए ।

झलनाथ खनाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले विपक्षमै अभिव्यक्ति दिए । उता, महासचिव विष्णु पौडेल पनि पछिल्ला विकसित घटनाक्रमबारे अनभिज्ञता जनाउँदै मौन बसे । वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेनन्, तर समर्थनमा बोल्न सकेनन् । प्रचण्डको साथ रहे पनि गौतमलाई काठमाडौं–७ बाट उम्मेदवार बनाउने निर्णय गर्न कठिन भएकाले २३ असोजका लागि बोलाइएको सचिवालय बैठक २७ असोज हुँदै ४ र ५ कात्तिकका लागि सारियो ।

निर्वाचन क्षेत्रबाट पनि नकारात्मक प्रतिक्रिया
सांसद रामवीर मानन्धरले स्थानीय पार्टी कमिटी र नेता–कार्यकर्ता कसैसँग राय–परामर्श नगरी पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेकाले पनि निर्वाचन क्षेत्रमा नकारात्मक जनमत बन्न बल पुग्यो । काठमाडौं–७ का प्रदेश सभा सदस्यहरूसहितका नेताहरूले पार्टी अध्यक्ष ओली र प्रचण्डलाई भेटेरै उपनिर्वाचनको प्रसंगले नकारात्मक सन्देश गएको र गौतमको विजय सुनिश्चित गर्न नसकिने जानकारी गराएका थिए । गत स्थानीय निर्वाचनमा काठमाडौं–७ मा पर्ने चारमध्ये तीन वडाध्यक्ष कांग्रेसले जितेको थियो । प्रतिनिधिसभा सदस्यमा रामवीर मानन्धर ८ हजारको फराकिलो अन्तरले विजयी बनेका थिए । तर, त्यहाँ कांग्रेस आफैं उम्मेदवार नबनेर राप्रपालाई छाडेको थियो ।

मिडिया र सामाजिक सञ्जालमा चर्को आलोचना
सोमबार सचिवालय बैठकमा गौतमलाई काठमाडौं–७ बाट उम्मेदवार बनाउने प्रस्तावले प्रवेश पाएलगत्तै मिडिया र सामाजिक सञ्जालमा वामदेव र नेकपाको चर्को आलोचना भयो । बर्दियामा पराजित भइसकेका गौतमलाई सांसद बनाउन काठमाडौंका निर्वाचित प्रतिनिधिलाई राजीनामा गराउनु जनमतकै अपमान हुने भन्दै विरोधको क्रम बढ्दै गयो । जसले गर्दा पनि उनी पछि हट्न बाध्य भए । शुक्रबारको नयाँपत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित खबर