कञ्चनपुर, २७ असोज । गड्डाचौकी नाकामा दसैंमा घर फर्कनेहरू लामबद्ध छन्। भारतीय सुरक्षाकर्मीले भने उनीहरूलाई ठाउँठाउँमा सास्ती दिएको छ। पाँच ठाउँमा खानतलासी हुन्छ। प्रत्येक ठाउँमा पैसा तिर्नुपर्छ।
शनिबारको अन्नपुर्ण दैनिकमा खबर छ –भारतीय प्रहरी, कस्टम कर्मचारी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सीमामा करिब १ किलोमिटरको दूरीमा बस्छन्। तीनै ठाउँमा नेपालीले सामान जाँच गराउनुपर्छ। एसएसबीले सामान मात्रै चेकजाँच गर्छ। भारतीय प्रहरी र कस्टम कर्मचारीले भने घर फर्किंदै गरेका नेपालीसँग पैसै असुल्छन्।
‘पैसा दिए सामान चेक गरेजस्तो मात्रै गरेर छोडिदिन्छन्’, बाजुराका काशीराम जोशीले भने, ‘नत्र झोला, गुन्टा खोलेर भित्रको सामान छरपस्ट बनाइदिन्छन्।’ उनले बाध्यतावश भारतीय प्रहरी र कस्टमका कर्मचारीलाई २०÷३० भारतीय रूपैयाँ बुझाउनु परेको सुनाए।
बनवासादेखि गड्डाचौकी र महेन्द्रनगर पुग्न टाँगा, जीप र अटो रिक्सा प्रयोग हुन्छ। ती सवारीका चालकले नाकामा अवैध रकम बुझाउनु पर्ने भएकाले यात्रुबाट अतिरिक्त असुल्छन्।
‘चेकजाँचमा रकम नबुझाए जानै दिँदैन’, एक टाँगा चालकले भने, ‘त्यहीँ बुझाउन हामीले यात्रुबाट भाडाबाहेकको रकम बढी लिन्छौं।’
घर फर्किने नेपालीले नेपालतिरै पनि रकम बुझाउनु परिरहेको छ। सवारी चालकबाट नेपाल प्रहरीले समेत अतिरिक्त रकम लिने गरेको अर्का टाँगा चालकले बताए। ‘यता पनि प्रहरीलाई पैसा दिनुपर्छ, त्यही भएर यात्रुहरूबाटै भाडाबाहेक थप रकम लिन्छौं’, उनले भने।
सीमानाकामा घर फर्किने गरेका नेपाली भारतीय नोटक सटही गर्दा पनि गिरोहबाट ठगिने गरेका छन्। सटही गर्नेहरु गड्डाचौकीदेखि महेन्द्रनगर बसपार्कसम्म हातमा नेपाली रकम बोकेका भेटिन्छन्।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी इन्चार्ज सई पदमबहादुर बुढाले नाकामा घर फर्किनेलाई सहज हुने वातावरण मिलाउने काम भइरहेको बताए।
‘चेकजाँचमा केही कठिनाइ भए पनि सहज बनाइरहेका छौं’, बुढाले भने, ‘अनावश्यक दुःखबारे भारतीय पक्षसित कुराकानी पनि भइरहेको छ।’ उनले नेपालतर्फ दुःख दिने काम नभएको दाबी गरे।