वीरगञ्ज, असोज २९ । साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब १३ करोड रुपैयाँ बराबरको दुई हजार ५०० मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महङ्गोमा चिनी किन्न बाध्य भएका छन् ।
हिन्दूको महान् चाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो । तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएका कारण हालसम्म सो चिनी बजारमा आउन नसकेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ३१ गतेसम्म भन्सार क्षेत्रमा आइपुगेको चिनी छोड्ने भनी पत्र पठाएको हो सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत धनबहादुर बरुवालले बताए ।
विसं २०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषदको निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको जाँच पास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।
उनले सुक्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्नेबारे विभागबाट कुनै पनि पत्र नआएकाले यसबारेमा अहिले केही भन्न नसकिने बताए । यता साल्टट्रेडिङ कर्पोरेशनले सो चिनी आयात गर्न प्रतित् पत्र जारी गरिसकेको थियो ।
चिनी आपूर्तिकर्ता गुजरातको रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भए पनि बुक गरेको रेल्वे जाम र चापका कारण १५ दिन ढिलो गरी सो चिनी सुक्खा बन्दरगाहमा आइपुगेकाले चिनी गोदाममै थन्किएको साल्टट्रेडिङ लिमिटेड अञ्चल कार्यालय पर्साका प्रमुख अमोद लामिछानेले भने, “चिनी छुटाउने सम्बन्धमा केन्द्रीय कार्यालयसँग पत्राचार भइरहेको छ ।”
विगत २२ दिनदेखि सो चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएकाले उपभोक्ता महङ्गोमा भारतीय चिनी खरीद गर्न बाध्य भएका हुन् । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्दै आएको छ ।
सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउनेक्रम नरोकिएपछि सङ्घीय सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएका कारण असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल आएको छैन । सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रतिकेजी रु ७० का दरले किन्न बाध्य छन् ।
सुक्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा तस्करी गरी ल्याएको भारतीय चिनी महङ्गो दरमा खरिद गरी उपभोक्ताले दशैँ मनाउनुपर्ने भएको छ ।