कृष्णनगरको कर्फ्यू विहान ६ देखि १२ बजेसम्म हट्यो

कृष्णनगरको कर्फ्यू  विहान ६ देखि १२ बजेसम्म हट्यो

कपिलवस्तु, कार्तिक ६ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि कपिलबस्तुको कृष्णनगरमा लागेको कर्फ्यू   आज पनि ६ घण्टाको लागि हटाईएको छ । स्थानीयको जनजिवनलाई मध्यनजर गर्दै कर्फ्यू मध्यान्ह १२ बजेसम्मका लागि हटाईएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले दियोपोष्टलाई जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा लगाएको अनिश्चितकालीन कर्फ्यू केही समयका लागि हटार्र्ईएको र फेरी लगाईने उनले बताए । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो ।

हिजो पनि कर्फ्यू जारी गरिएको थियो । कडा सुरक्षाका बीच दुर्गाको मूर्ति विसर्जन गरिएको थियो । विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो । मूर्ति विसर्जन गर्न जाने बाटाको विषयमा विवाद भएको थियो ।

कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म निषेधाज्ञा लगाइएको छ । दिउँसो १२ बजेपछि कर्फ्यूलाई निरन्तरता दिने या हटाउने भन्ने विषयमा पुन बैठक बसेर निर्णय गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले दियोपोष्टलाई बताए ।

Trending News