काठमाडौँ, ९ कात्तिक । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले अध्यागमन विभागका कामकारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन् ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभाग लगायतका कार्यालयको अनुगमन गर्दै मन्त्री बादलले पर्यटक नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमनमै ठोकिने भएकोले त्यस क्षेत्रको सकारात्मक सन्देश जाने गरि सुधार गर्न निर्देशन दिएका हुन् ।
‘पहिलो अनुभव नै नराम्रो भयो भने ऊ फर्केर फेरि नेपाल आउँदैन । साथीहरुलाई पनि नजान सुझाव दिन्छ’ मन्त्रि बादलले भने, ‘अनुभव राम्रो भयो भने ऊ पनि दोहोरिएर आउँछ र अरुलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन गरेर तपाईहरुले काम गर्नुहोस् । ’
विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएकोले त्यसलाई गम्भीर रुपमा लिएर निष्ठापूर्वक काम गर्नुपर्नेमा गृहमन्त्री थापाले जोड दिए ।
राष्ट्रिय सुरक्षाको, देशको अर्थतन्त्रको विकास तथा मुलुकको सभ्यता, सस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी विमानस्थलका कर्मचारी रहेकाले जिम्मेवारीपूर्वक काम गर्न समेत गृहमन्त्री थापाले सुझाव दिए । आगामी वर्षलाई अध्यागमन वर्षको रुपमा मनाउने प्रस्ताव आएको भन्दै त्यसबारे सकारात्मक निर्णय लिन मन्त्रालय तयार रहेको गृहमन्त्री थापाले स्पष्ट पारेका छन् ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले अध्यागमनका लागि आवश्यक स्रोत, साधनमा कमी हुन नदिईने प्रतिवद्धता व्यक्त गर्दै अध्यामगनलाई थप व्यवस्थित बनाउन निर्देशन दिए । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामनका लागि आवश्यक नयाँ सफ्टवेयर जडानका लागि काम अघि बढीसकेको जानकारी दिँदै छ महिनभित्र अध्यामन प्रणालीलाई थप आधुनिक प्रविधिमार्फत काम गर्ने गरी प्रक्रिया अघि बढेको बताए ।
अनुगमनको क्रममा गृहमन्त्री थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको अनुगन निरीक्षण गरेका थिए ।