आरक्षणबारे आहुतीको लेख,–‘सर्वोच्चको आदेशले समावेशीताको अधिकारलाई भत्काएर हिँड्यो’

diyopost.com
आहुती
  शुक्रबार, आश्विन १५, २०७८ | १२:३६:४१

विनय कुमार पन्जियारले चिकित्सा शिक्षा अध्ययनका लागि आरक्षणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे । तर सर्वोच्चले आरक्षणको कारणले शिक्षा गुणस्तरहीन र हानिकारक हुने भन्दै उनले गरेको रिटलाई खारेज गरिदिएको छ ।
चिकित्सा शिक्षा आयोगको लिखित जवाफमा निवेदकले योग्यता / गुणवत्ता नभएको र डरको कारणले आरक्षणको माग गरेको उल्लेखित तर्क निन्दनिय छ । र सर्वोच्चले पनि आरक्षणको कारण नै गुणतत्वमा ह्रास आँउछ भन्नु कत्तिको जायज कुरा हो ? यदि न्युनतम मापदण्ड नबनाई आरक्षण दिने हो भने कुन तत्व गुम्छ ? तर न्युनतम मापदण्ड त हुन्छ । उदाहरणको लागि एमबिबिएस नगरी एमडी गर्न पाइँदैन ।

त्यसो हो भने त्यहाँ न्युनतम मापदण्ड त एमबिबिएस हुन्छ । त्यस्तै प्लस टुमा पनि निश्चित शिक्षा , निश्चित विषयका लागि अंक नआएमा विज्ञान पढ्न पाइँदैन । त्यो त न्युनतम मापदण्ड नै हो । आरक्षणको सिटको लागि प्रतिस्पर्धा हुदाँ पनि यति अंक हुनेपर्ने भन्ने सुविधा त हुन्छ । योग्यता नै नभई आरक्षण दिन मिल्दैन । यदि कोही महिला छ , मधेसी छ , या भनौं आरक्षित सिटमा पर्ने छ तर उसले मानविकी अध्ययन गरेको छ भने उसलाई डाक्टर बन्नको लागि सिट दिने कुरा हुदैंन । त्यसैलै गुणवत्तामा कमी आँउछ भन्ने कुरा तार्किक हुदैँन ।

आरक्षण आजको मात्रै विषय होइन । दक्षिण एशियालाई हेर्ने हो भने १९१६ भन्दा अगाडि नै सुरु भएको हो । के आरक्षणको कारण नै सबै कुरा बिग्रको हो त ? के आरक्षणको कारणले माथि आउनेहरु अयोग्य हुन्छन त ? यो त इतिहासमा नै देखिएको छैन । बाबा साहेब अम्बेडकर पनि आरक्षण पाएर नै संविधान लेख्न सक्ने स्तरमा पुगेका हुन् । उनले चार–चार वटा विषयमा विद्यावारिधी गरेका थिए । एउटा प्रश्न आरक्षणले कहाँ, के बिगारेको छ ? र अर्को प्रश्न आरक्षणबाट आएका डाक्टरहरु, अफिसरहरु जति पनि छन् के उनीहरुले सेवा कम दिएका छन् भन्ने रिर्पोट छ त ? हरेक मानिसको व्यक्तित्व कुनै समयमा, कुनै विषयमा र खास अवस्थामा उ कमजोर हुन्छ तर उसले अवसर पाउने हो भने त्यो अवस्थाबाट माथि आएर सबैभन्दा राम्रो काम गरेको हुन्छ ।

त्यसैगरी एउटा समयमा एउटा विषयमा निकै पोख्त मान्छे पनि कारणवश चिप्लन सक्छ तर त्यसैको आधारमा अयोग्य भन्न मिल्दैन । उचित वातावरण नभएको कारण मनिसहरु कतिपय ठाँउमा पछि पर्न पुग्छन् । आरक्षणको मुल मर्म नै उचित वातावरण नभएको हुनाले त्यो समुदायपछि परेको छ भनिएको हो । वातावरण कसरी निर्माण गर्ने ? यदि उत्पीडित समुदायलाई अवसर नै नदिने हो भने वातावरणको निर्माण कसरी हुन्छ ? भन्ने प्रश्न खडा हुन्छ । वातावरण निर्माणको लागि यदि उत्पीडित समुदायलाई सौहुलियत नगर्ने हो भने त्यहाँ भित्रको प्रतिभा अगाडि कसरी ल्याउने ? यही तर्कको आधारमा हामीले गुणवत्तासंग लडनुपर्ने हुन्छ ।

परम्परागत ढंगले सोच्दा गुणवत्ता आँउछ भन्ने पनि प्रमाणित भएको छैन । जस्तै कर्मचारीतन्त्रमा जो मानिसहरु आए ती मान्ने हो भने गुणतत्वको कारण नै आएका हुन् । त्यसो हो भने तिनीहरुले कसरी कर्मचारीतन्त्र चलाएका छन् भनेर हेर्ने हो भने त उनीहरु सबै फेल छन् । भ्रष्टचारको मामलामा, सुशासनको मामलामा, जनतालाई रिझाउने कुरामा, राजनीतिलाई ठिक ढगंले प्रभावित गर्ने विषयमा र न्यायालयलाई बद्नाम गर्ने विषयमा सबै फेल छन् । यदि योग्य व्यक्ति ल्याइएको हो भने सबै फेल किन ? के यही कुराले योग्यताको विषयमा प्रष्ट हुँदैन र ? केही व्यक्ति मात्रै भ्रष्ट भएको भए त हुन्थ्यो तर मुल चरित्र नै भ्रष्ट छ । भ्रष्टता भित्र पनि के कति काम भयो र कुन चिजमा सुधार आयो भनेर हेर्ने हो भने सबै ठाँउमा बिचौलियाबाट काम भैरहेको छ । सामान्य मालपोतको काममा समेत बिचौलिया नभएसम्म काम नै हुदैंन । केही गर्छौं र योग्य छौं भनेर गएकाहरुले के गरेका छन् त ?

योग्यतालाई मान्छेलाई अवसर दिने कि नदिने भन्ने विषयसँग दाँज्न मिल्दैन । अवसर दिनु र योग्यता भनेको फरक विषय हो । योग्यता त ज्ञानसँग सम्बन्धित कुरा हो । यदि विनय योग्य नै होइनन् भने त उनले एउटा क्याटागोरी पुरा गरेर आएका छन् । संसारमा लाखौं मान्छेहरु विभिन्न सुविधाहरुबाट जन्मएिका छन् तर उनीहरुले के कुरा गलत गरेका छन त ? आरक्षणको माध्यमबाट उपेन्द्र देवकटा लन्डनमा पुगेर अध्ययन गरेर नै दक्षिण एशियाको राम्रो डाक्टर बनेर आए । बेलायत सरकारले आरक्षण दिएको होइन र ? नेपालमा डाक्टरी , इन्जिनियरिङ विषयको पढाई नहुँदा अरु देशले पढाएको हो । रुसको कोटा , भारतको कोटा , चाइनाले नेपालीलाई लगेर पढाउनु यो सब आरक्षण दिएको त हो । नेपालको शिक्षालाई कमजोर मानेर अन्य देशले युनिर्भसिटीहरुमा पढ्न आरक्षण दिन्छन् ताकि पछि परेका मुलुकहरुलद्धाई माथि उठाउनु पर्छ भन्ने धेयले हो ।

 

के अन्य मुलुकमा आरक्षणको सुविधा लिएर अध्ययन गरेका नेपालीहरु अयोग्य हुन् त ? त्यसैले अवसर उपल्बध गराउने र योग्यताको विकास गर्ने फरक कुरा हुन् । योग्यता नभएर, एकै परिवारबाट धेरै जना हुनु, पटक पटक सुविधा पाउनु , वर्ग जस्ता तर्कहरुले मुख्य विषयमा केन्द्रीत नभएर यथार्थतालाई मोड्ने प्रयास गरेको छ ।

 

उत्पीडित वर्ग, समुदायको आन्दोलनलाई अगाडि बढाउनको लागि र आरक्षणको सुरक्षाको लागि हामीले नयाँ समाजवादी व्यवस्थाको निमार्ण गर्न आवश्यक छ । सर्वोच्चले गरेको निर्णय सिमित समावेशीताको अधिकारलाई भत्काएर गलत दिशामा हिडेंको छ ।

यशु सापकोटासँग कुराकानीमा आधारित

 

 

 

सम्बन्धित खबर