रंगमञ्चको दुनियाँलाई अद्भुत संसार समेत भन्ने गरिन्छ । यही संसारमा विगत ९ वर्षदेखि बामे सरिरहेका रंगकर्मी हुन्– शंकर पराजुली ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ कटुन्जेपानीमा २०५२ साल मंसिर महिना ७ गते जन्मिएका पराजुली बाल्यकालदेखि चञ्चले थिए । उनी आफ्नो स्वभावकै कारण सानो उमेरमा धेरै किसिमका खेलहरु खेल्नबाट बञ्चित भए । उनलाई आफूभन्दा ठूलाका कुराहरुले आकर्षण गर्न थाले । खैजडी बजाउने, भजन गाउने, स्लोक वाचन गर्ने, घाँसे गीतहरुमा बुढापाकाहरुसँगै स्वर मिसाउने उनको बानी बन्दै गयो । बुढापाकाहरुले गाएको गीतको लय झट्ट टिप्न थाले । सिलसिला मिलाएर देउसी भट्याउने पाको बानी बस्दै गयो । उनको यही बानीले आफ्नो उमेर समुहका साथीहरुबाट उनलाई टाढा बनाउँदै लग्यो ।
बुढापाकाहरुले उनीलाई साथी बनाउन थाले । माया गर्न थाले । विद्यालयमा पनि उनले पुराना संस्कृतिमा देखाएको अब्बलताका कारण शिक्षकहरु प्रभावित भए ।
उनी अरुको नक्कल गर्न थाले । साथी भाईहरुलाई हसाउन थाले । विद्यालयस्तरका कार्यक्रमहरुमा उनको प्रस्तुती हुन थाल्यो । उनको प्रतिभा देखाउने बानीले सानै उमेरमा कलाकारिता प्रतिको अभिप्सा बढ्दै गयो ।
कहिले विद्यालय जीवन सकिएला र काठमाडौ गएर अभिनय सिक्ने हतारोले उनलाई सताउन थाल्यो । उनलाई टेलिभिजनमा देखिने रहर चल्न थाल्यो । आखिर सपना न हो एकदिन अवश्य पुरा हुन्छ भन्ने विश्वास बढ्दै गयो । त्यही सपना र विश्वासले डोर्याएर उनलाई काठमाडौं ल्यायो । उनी २०६८ सालमा घरबाट भागेर आफ्ना सपनाहरु पुरा गर्न सपनाको शहरमा आइपुगे । अभिनय सिक्ने उत्कट चाहनाले उनी सपनाको यो शहरमा धेरै भौँतारिए । “यहाँ अभिनय सिकाइन्छ”वाला बजारे पम्प्लेटहरुसँग निकै ठगिएँ,’ शंकर सम्झन्छन्,‘तर मैले हरेश खाइनँ ।’
निरन्तरको प्रयासपछि उनले भटाए– सर्वनाम थिएटर । सिन्धुपाल्चोकमै पलाएको कलाकार बन्ने सपनालाई उनले सर्वनाम थिएटरमा हुर्काए । उनको यात्रा ‘थिएटर कलाकार’ मोडियो ।
रंगमञ्चको कार्याशाला निकै पट्यारलाग्दो हुन्छ । यस्तो कार्याशालामा प्रवेश गरेपछि घर, परिवार व्यक्तिगत जीवन भन्दा माथि उठ्नुपर्छ । उनलाई अभिनयको भोक थियो । निरन्तरको कार्याशाला पछि उनले पहिलो नाटकमा अभिनय गर्ने मौका पाए । “किनारको कथा” उनले अभिनय गरेको पहिलो नाटक हो । “नाटकमा म टिमुरेको भूमिकामा थिएँ । आफनै लेखाई र आफनै लवजमा तयार गरेको कथामा काम गर्दा मलाई निकै खुशी लागेको थियो,” शंकर सम्झन्छन्,‘महाभारतको पात्र शकुनीको जस्तैजस्तै दहिचिउरे भूमिका भएपनि टिमुरेको भूमिका निभाउँदा मलाई मज्जा आयो ।’
शंकरले अभिनय गरेको नाटक मध्ये उनलाई सबैभन्दा मनपरेको नाटक नै किनारको कथा हो । किनारको कथामा अभिनय गर्दाको एउटा डायलग उनको मानसपटलमा ताजै छ । अभिनयमा गाँउका मानिसहरु झगडा गरिरहेका हुन्छन् र पराजुली एकदमै जङ्गिएर उफ्रँदै उतै फर्किएर भन्छन्,‘तिमीहरु आफैं जुध्ने, बजार्ने गर्ने हो भने किन गाँउलेलाई डाक्नुपर्यो, किन डाक्नुपर्यो मजेवालाई । जे निर्णय गर्छ गाँउ भेलाले गर्छ ।”
पराजुलीको यो डाइलगसंगै रंगमञ्च दर्शकको तालीले गुन्जायामान भएको थियो । यो घटना सम्झँदा उनलाई अहिले निकै आनन्द लाग्छ ।
पराजुली आफैले माझी बस्तीका गीतहरु जम्मा गरेका थिए । किनारको कथामा जाल हान्ने , डुङगा खिआउँदै उनले गाएको गीत लय उनलाई सम्झना छ,‘ “फर्सीमा फल्यो गान्डाङ गुन्डुङ तोरीमा तोर्ल्याङ” ।
उनले अभिनय गरेको त्यो पहिलो नाटक आफ्नै गाउँ इन्द्रावती नदी किनारमा बस्दै आएका माझी बस्तीमा आधारित थियो । आफ्नो गाँउको माझी बस्तीलाई प्रतिनिधित्व गरेको “किनारको कथा” मा अभिनय गरेको ९ वर्ष भयो । माझी बस्तीमा उनले रंगमञ्चको संस्कार बसाउने , त्यहाँका कथा व्यथाहरुलाई नाटक मार्फत देखाउँदै समाज परिवर्तनमा पनि आफ्नो भुमिका खेलिरहेका छन् । आज उनी जय नेपाल द्धारा संचालित स्कुल अफ सोसियल डेभलपमेन्ट मा नाटक प्रशिक्षकको रुपमा काम गर्दै आफ्नै माझी बस्तीमा रमाइरहेका छन् ।
अभिनय यात्राको सफलता:
रंगमञ्चमा उदाएका कलाकारहरु चलचित्रमा देखिन्छन् । शंकरकोे पनि रंगमञ्च हुँदै चलचित्रसम्म पुग्ने चाहना थियो । किनारको कथा अभिनय गरेको पहिलो नाटकदेखि नै उनले चलचित्रमा अवसर पाउनेवाला थिए । २०२३ सालको मदन पुरस्कार बिजेता महाकाव्य “मानव”मा आधारित टेलिसिरियलमा उनले माइलाको भूमिका निभाए । किनारको कथाका वरिष्ठ निर्देशक बद्री अधिकारीले निर्देशन गरेका थिए र पराजुलीले माइलाको भूमिकासंगै सहनिर्देशकको रुपमा पनि काम गरेका थिए । अहिलेसम्म उनले किनारको कथा, कोहि किन बर्बाद होस् , बौलाहा काजीको सपना, कपट, चप्पल, धरहरा, हामी बसन्त खोजिरहेछौ, छिद्र क्यानभास , रोल नम्बर ९ र जिम्दा सपना लगायत नाटकहरु रंगमञ्चमा र देशव्यापी रुपमा अनगिन्ती चेतनामूलक सडक नाटक र कचरी नाटकहरु गरेका छन् ।
सामाजिक चेतना मुलक सडक नाटकहरु नयाँ घर, इन्भारोमेन्टल प्ले, खबरदार, वास, प्रजनन स्वास्थ्य र बाल विवाहको साथ साथै अन्तराष्ट्रिय प्रोजेक्ट अन्तरगत “द लेडी र साउण्ड अफ ड्रिम्स” चलचित्रमा समेत काम गरेका छन् । रंगमञ्च र चलचित्रमा केही फरकपन पाएका छन् पराजुलीले । उनी भन्छन् , “नाटकमा अभ्यासका क्रममा निर्देशन अनुसार अभ्यास भएता पनि प्रस्तुतिको क्रम भनेको कलाकारको आफ्नै हातमा हुन्छ । चरित्रहरु पनि आफ्नै धारमा सजीलै संग बगाउन सक्छौं तर चलचित्रमा टेक्निकल प्रयोगहरु धेरै हुने हुनाले हामीले निभाउने चरित्रमा धेरै वाधाहरु आउँछन् र चरित्रलाई आफ्नो धारमा बगाउने कुरामा अलि असहज महसुस हुन्छ , इमोसन बिग्रिन्छ ।”
जीवनमा बाँच्न नसकेका, बाँच्न नपाउने चरित्र र चरित्रका जिन्दगीहरु रंगमञ्चमा जीवन्त बाँच्न पाइन्छ यही कुराले शंकर पराजुली रंगमञ्चबाट प्रभावित छन् । जीवन जिउन हामी जे गर्छौं नाटकमा ठ्याक्कै त्यही नै हुन्छ भन्दै पराजुली रंगमञ्चमा रमाइरहेका छन् । उनी सर्वनाम थिएटरमा आबद्ध भएपनि स्वतन्त्र रुपमा जुनसुकै रंगमञ्चमा पनि काम गरिरहेका हुन्छन् ।