ललितपुर महानगरका मेयर भन्छन्,–‘सुरेन्द्र भण्डारी जाली, फटाहा, धुर्त र बद्मास मान्छे रहेछ’ [अन्तर्वार्ता]

[अन्तर्वार्ता]

diyopost.com
दियो पोस्ट  शुक्रबार, कार्तिक १२, २०७८ | १८:१९:३१

ललितपुरको कुपण्डोल–जावलाखेल सडक अन्तर्गत पुल्चोकमा रहेको श्री लालीगुँरास बहुउद्देश्यीय सहकारीले लामो समयदेखि ऐतिहासिक समय् फल्चाको भग्नावशेष हडपेको थियो । २०६ वर्ष पुरानो ऐतिहासिक पाटी निर्माण अभियान थालेपछि ललितपुर महानगरपालिका र सहकारीबीच विवाद शुरु भयो । उनीहरुबीचको विवाद अदालतदेखि सडकसम्म पुगेको थियो । आखिर यो विवाद के हो ? दियोपोस्टले यही विषयमा महानगरका मेयर चिरिबाबु महर्जनसँग अन्तर्वार्ता गरेको छ ।

समय् फाल्चा भनेको के हो ? फल्चा निर्माणको विवाद कसरी शुरु भयो ?

समय् फल्चा लगभग २ समय् ५/६ बर्ष पुरानो पाटी हो । राजा विरेन्द्रको राज्य अभिषेकको हाराहारीमा भत्काइयो । त्यसपछि २०३८÷३९सालमा यहाँ छुटनापी भयो । त्यो छुट नापी हुदाँ पाटी देखिएन तर कित्ता नम्बर ३२७ क्षेत्रफल एक आना एक दाम छ । त्यहाँ समय् फाल्चा थियो । हामी त्यही पाटीको हारहारीमा बसेर जाडो महिनामा गुच्चा खेल्थ्यौँ घाम ताप्थ्यौँ तर त्यो पाटी राजा विरेन्द्रको कोडिनेसनको समयमा शाही अतिथिहरुलाई गोदवरीको रोयल बोटानिकल गार्डेनमा लगेर वृक्षारोपण गराउने चलन थियो । त्यो बेला र यही बाटो भएर लानुपर्ने कारणले यो अलिकति असोभनिय पाटी जस्तो देखिएको हुनाले यसलाई भतकाइयो । र यसमा रहेका टुडालहरु, आठ नौ वटा मूर्तिहरु नजिकैको पुलिस चौकीमा लगेर राखियो । त्यो अहिले छँदैछ हामीले फेरि त्यसलाई पूनस्र्थापना गर्न खोजिरहेका छौं ।

श्री लालीगुराँस सहकारी बसेको घरजग्गा कित्ता नम्बर ४५६ र ४५७ यो दुईटा कित्ताको घरजग्गा लालीगुरासले खरिद गर्नु अगाडि यो अनिलराज भण्डारी भन्ने व्यक्तिको थियो र अनिलराज भण्डारीले यो समय् फाल्चा पाटी नबनाइयोस् भनेर लाग्नु भयो । तर यसमा स्थानिय व्यक्तिहरुको जीत भयो भनाईको मतलब सर्वोच्चले यसमा अन्तिम फैसला गरिदियो त्यसमा माननीय न्यायाधीश ताहिर अलि अन्सारी र बलराम केसीको संयुक्त बेन्चले यो पाटी बनाउने ठहर छ भनेर निर्णय गरिदियो र पाटी बनाउने सुरसार पनि गरेको हो । पछि त्यो भवन सहकारीले किन्यो । त्यहाँ अथाह पैसा खर्च गरेर पाटी बनाउन नदिनँ सहकारी लागिप¥यो । तत्कालीन अवस्थामा हामीसंग मेजर पोइन्ट थिएन त्यसले गर्दा बनाउन सकिएन । र यो पाटी बनाउने सन्दर्भमा पुरातत्व विभागले पनि स्विकृती दियो । स्विकृति दिदाँको अवस्थामा त्यसको बनावट जुन किसिमको पुरातात्विक शैलीमा हुनुपर्छ भन्यो त्यसमा बढी खर्च लाग्दथ्यो त्यसले गर्दा पनि तत्कालको अवस्थामा बनाउन सकिएन तर अब हामी स्थानिय चुनावमा जितेर आएपछि ललितपुर महानगरपालिकामा अहिलेसम्ममा ७० वटा पाटी पौवा हामीले बनाई सक्यौँ । जसको प्रमाण सर्वोच्चमा पनि छ । ऐतिहासिक तस्बिरहरु छन् ति राखेका मुर्तिहरु छन् । समय् फल्चा रहेको कित्ता नम्बर ३२७ क्षेत्रफल एक आना एक दाम हो । हामी सम्पदा संरक्षण गर्ने मान्छे, कुनैपनि किसिमको सम्पदा नास हुनु हुँदैन । मूर्त र अमूर्त सम्पदालाई हामीले संरक्षण गर्नुपर्छ भन्ने मान्यता राखेको मान्छे त्यसैले यो बनाउन खोज्दा हाम्रा विरुद्ध लालीगुराँस सहकारीले नगरेको केही छैन ।

साम दाम दण्ड भेद सबै प्रयोग गरेर उहाँहरुले बनाउन नदिन खोज्नु भयो । उहाँ (सुरेन्द्र भण्डारी)ले उच्च अदालतमा निवेदन हाल्नुहुन्छ,‘हामीलाई महानगरले दुख दियो पूर्वतिरको बाटो छेकिदियो, पाटी बनाउन लाग्यो रोक्का गरी पाउँ’ भनेर निवेदन दिन्छ अनि हामी जवाफ दिन जान्छौं सर्वोच्चलाई निर्णय देखाउछौं र पूनरावेदनमा सर्वोच्चले गरेको निर्णय पनि देखाउछौं । प्रमाण देखाउदा उहाँलाई पिक्चर क्लियर हुने रहेछ । हामीले पहिल्यै निर्णय गरेको यो बनाउने ठहर छ भनेर उहाँहरुले आफूले बनाउन दिएको ‘स्टे अर्डर’ छ । त्यसपछि उहाँ फेरि सर्वोच्च अदालत पुग्नुभो त्यहाँ पुग्दा यहाँको यथास्थीति कुरा भनेको भए हुन्थ्यो । उच्च अदालतलाई पनि सर्वोच्चलाई पनि उहाँले (सुरेन्द्र भण्डारी)ले झुठ बोलेर हामीलाई महानगरको मेयरले दुख दियो भनेर ढाँट्नु भयो । नकी उसले हालसालै पनि उच्च अदालत यस्तो भन्यो भनेर भन्नु पर्दथ्यो त्यो पनि भनिएन । सर्वोच्चको २०६५ को जुन निर्णय छ त्यो करा पनि नगरी मात्र मलाई महानगरको मेयर र अन्य व्यक्तिले दुख दियो रोकिपाउँ भनेर त्यहाँ पनि निवेदन दिनुभो। त्यहाँबाट पनि हामीलाई स्टे अर्डर आयो हामी रोकियौँ । हामीले पहिले जस्तै गरी जवाफ दियौं । त्यहाँबाट पनि हामीले छुटकारा पायौं । त्यसपछि उहाँ गृहमन्त्रालय पुग्नुभो । गृहसचिवले फल्चा निर्माण रोक्न सिडियोलाई आदेश दिनुभो । सिडियोले हामीलाई रोक्यो ।

 

 

सिडियोलाई मेरो नै कार्यकक्षमा बोलाएँ अनि कुरा गर्दा उहाँले ‘मेयरसाब ! तपाइँ गृहसचिवसँग कुरा गर्नु’ भन्नु भो । भालिपल्ट १०ः३० मा हामीसँग भएको प्रमाण लिएर म गृह मन्त्रालय गएँ । तस्बिर र सर्वोच्चको निर्णय पनि देखाएँ र उहाँले ‘मेयरसाब ! पुग्यो’ भन्नुभयो । अनि उहाँले फोन टिपेर सिडिओलाई जानकारी गराउनु भयो । र ‘तपाईले दिएको रोका फुकुवा गर्नु भन्नुभयो । त्यसपछि उहाँले तस्बिरले हजार शब्द बोल्छ भन्नुभयोे । त्यसपछि छुटकारा पायौं । टोल छिमेक सबै बसेर पाटी निर्माण गर्ने निर्णय अघि बढायौँ । गएको भदौको ३ गते शिलान्यास गर्ने भनेर हामीसंग भएका बाजागाजा यहाँको स्थानिय, आमा समुह, छिमेक सबै भएर लाग्यौँ तर फेरि उहाँले जिल्ला अदालतबाट २ वटा स्टे अर्डर ल्याउनु भयो । हस् ठिक छ भनेर ३ गतेको शिलान्यास रोक्यौँ । फेरि जिल्ला अदालत पुगेर त्यहाँ पहिले झै प्रमाण देखाएपछि त्यहाँ पनि उहाँले दिनुभएको स्टे अर्डर फिर्ता भयो । फिर्ता भएको अवस्थामा हामीले भदौ २४ गते जग खनेर काम सुरु ग¥यौँ । कुरा यही हो ।

गैरकानुनी ढगंले छापामार शैलीमा फल्चा निर्माण थाल्नु भयो भन्ने सहकारीको अरोप छ नी ?

अब उहाँ (सुरेन्द्र भण्डारी)ले फल्चा नबनाओस् भनेर गरेको गैरकानुनी छापामार शैलीका कुराहरु उहाँले भन्नु हुन्न । उहाँ निकै धनाढय मान्छे , पहुच भएको मान्छे । पहुच र धनको उहाँलाई धङधङी छ । यो सबैको समिश्रण पाटी नबनाउनको लागि गरिएको प्रयोग भएको औजारहरु हुन् । हामीले बिहान ६ बजेतिर जेसीबी लगाएर जग खनेका हौं । यो भनेको मध्यरातमा , छापामार शैलीमा गरेको काम भनेर भन्न मिल्दैन । उहाँले यसको लागि के कति गर्नु भो भन्ने त जगजाहेर हुँदै आएको छ । उहाँको आर्थीक क्षेत्र सहकारीभित्र नै छापामार शैलीमा कति काम गर्नु भएको छ भन्ने कुरा अहिले सर्वत्र छताछुल्ल भएको छ तर हामीले हाम्रो ठाँउमा र कानुन बमोजिम मुलुकको सर्वोच्च निकायले दिएको निर्णयलाई कार्यन्वयन गर्दा त्यसलाई छापामार शैली भन्न लाज लाग्दैन ?

उहाँले महानगरमाथि सडक मापदण्ड पालना नगरेको आरोप लगाउनु भएको छ नी ?

होइन यसलाई कसरी बुझ्नुपर्छ भने उहाँले सडक मापदण्ड मिचियो भनेर मुद्धा हालेको होइन । उहाँले सडक विभाग नापी विभाग डिर्पाटमेन्ट अफ आर्कोलोजीमा निवेदन हालेको हो । यहाँ नजिकै अशोकस्तुपा छ । जुन राजा अशोकले आज भन्दा २४ सय वर्ष पहिला बनाएको सम्पदा हो । त्यो सम्पदा क्षेत्र नेपाल सरकारले सम्पदा उपक्षेत्र भनेर घोषणा गरेको ठाँउ हो । सम्पदा उपक्षेत्रमा नेपालको अन्य कुनै कानुन लाग्दैन त्यसमा सम्पदाको मात्रै कानुन लाग्छ । तसर्थ सम्पदाको मात्र कानुन लाग्ने ठाँउमा सडकको कानुन लाग्दैन । यो सर्वोच्चले राम्रोसंग व्याख्या गरेको छ । यहाँ ११ मिटरको सडकको दायाँबायाँको जुन राइट अफ वे छ त्यो यो ठाँउमा लाग्दैन । यही कारणले गर्दा अहिले वडा नम्बर २७ सुनकोटीको ११ मिटरको सेन्टर लाइनबाट चार पाँच मिटरको पूर्वतर्फ ऐतिहासिक पाटी छ त्यो पाटी बनाउने ठहर छ भनी अन्तिम निर्णय गरेको थियो र त्यो पाटी अहिले बनेको छ । र त्यसले गर्दा त्यो सडक त्यहाँ नेर साँघुरिएको छ । त्यस्तै गरी यहाँपनि सम्पदा उपक्षेत्र भएको कारण सडक विभागको कानुन लाग्दैन ।

 

यो पनि सर्वोच्चले व्याख्या गरेको छ । दोस्रो कुरा यहाँ सडक छ र सडक पछि फुटपाथ छ तर हाम्रो समय् पाटीले सडकको कुरा नगरौं फूटपाथ पनि टच गर्दैन । नहुने कुरा गर्न मिल्छ । उहाँले एक किसिमले कानुनको निकायहरुलाई आफ्नो पहुच पु¥याउनका लागि भए नभएका कुरा गरेको हो । अहिले हामीले पाटी बनाएका छौँ । त्यहाँ गएर हेर्नुस् । त्यसको पूर्वतिरको सिमानाले फूटपाथमा टच पनि गर्दैन । फूटपाथपछि जावलाखेल जाने हाइवे छ त्यहाँ टच गर्ने त झन कुरा नै भएन । उसले जाली फटाहा कुरा गरेर नेपाल सरकारको विभिन्न अफिस सडक विभाग नापी विभाग डिर्पाटमेन्ट अफ आर्कोलोजीलाई हाता लिन खोज्यो र लियो पनि तर हामीले सर्वोच्चको निर्णय देखाएर त्यसपछि नेपाल सरकारका जति पनि स्टकहोल्डरहरु छन् उहाँहरु पछाडि फर्कन बाध्य हुनुभो कुरा यही हो ।

 

 

 

अदालतमा विचाराधिन मुद्दा हुँदा हुँदै फल्चा निर्माण गर्नुभएको होइन र ?

अब अदालतमा विचाराधिन भनेर भन्न मिल्दैन । सर्वोच्चको फैसला छ त्यो काटनु पर्यो नि त । सर्वोच्चको फैसला नै नमान्ने हो भने देखि राजा ज्ञानेन्द्रले गठन गरेको शाही आयोग तगडा नै थियो नी । नेपालका ठूल्ठूला नेताहरुलाई थुनेको नै हो । अब सर्वोच्चले शाही आयोग विघटन गरेपछि पो राजा ज्ञानेन्द्र कोल्याप्स भयो नि त । भनेपछि उहाँले पनि सर्वोच्चको निर्णय मान्नु प¥यो नी । निर्णय काट्न नसक्ने अनि उच्च अदालतमा अरु निकायहरुमा मुद्धा हाल्ने र त्यो मुद्धा टुङ्गिएको छैन भनेर भ्रम छर्न पाइन्छ ? सबैभन्दा पहिला सर्वोच्च अदालतले गरेको निर्णय जबसम्म काटिएको हुदैँन त्यो त हामी सबैले मान्नु प¥यो नी । सर्वोच्चको निर्णयमा पहिला एकपटक फेरि हेरिदिउँ न भन्थ्यो तर अहिले त्यो पनि छैन । भनेपछि यो त अन्तिम निर्णय हो । अन्तिम निर्णय उसले कुनै हालतमा संसोधन गर्ने, काट्ने वा नमान्ने चान्स छैन । त्यो नभएपछि सडक विभागमा मैले निवेदन हालेँ त्यो निवेदन यथावतै छ भनेर हुन्छ ? सर्वोच्च भन्दा धेरै तलको अङ्गले पत्र लेख्यो भनेर निर्णय काट्न पाइन्छ ? त्यो संस्थाले पत्र लेख्दा पनि थाहा पाउनु पर्दैन ? सबलाई भूलभुलैयामा पारेको छ । कुनै जानकारी पनि गराएको छैन अनि उसले भन्या कसले मान्छ ?

गृहमन्त्रालय र सिडिओलाई पनि फैसलाबारे जानकारी हुदैँन र ?

गृह मन्त्रालय वा सिडिओ कार्यालयमा पदाधिकारीहरु छिन÷छिनमा हुन्छ । त्यो अवस्थामा सम्भवत उहाँहरुले पनि यसकोबारेमा दिलचस्पी लिएर अध्ययन गर्नु हुन्नहोला । जब त्यहाँको पदाधिकारी परिवर्तन हुन्छ अनि लालीगुराँसको सिइओ सुरेन्द्र भण्डारी कानेखुशी गर्दा रहेछन् । अब कानेखुशी गर्दा उहाँले राम्रै किसिमले स्पष्टिकरण गरेको भए हुने तर उहाँले ललितपुरको मेयर चिरीबाबु महर्जन र स्थानियबासीले मेरो अगाडिको बाटो पुरै छेकेर मलाई दुख दिन खोज्यो भनेर झुक्याउनु हुँदो रहेछ ।

कमसेकम सर्वोच्चले यस्तो निर्णय ग¥यो तसर्थ अहिले मलाई मर्का प¥यो यसमा केही न केही सहयोग गर्नु भनेको भए सिडियोबाट अन्य पदाधिकारीबाट पनि सहानुभुति निस्कन्थ्यो होला तर ती कुरा उहाँ भन्नुहुन्न र त्यो कुराको प्रमाणित गर्न म पुग्नु पथ्र्यो । सिडियोलाई नि त्यसको सब वृतान्त सुनाएँ, गृहसचिवलाई नी सुनाएको छु । अब उहाँहरु यता लाग्नुहुन्न भन्ने मेरो ठमाइ हो । अब पनि उहाँहरु यता लाग्नु भनेको उहाँलाई पनि मुद्धा लाग्न सक्छ । किनभने सर्वोच्चले गरेको निर्णयमा आँच पु¥याएको देखिन्छ । तसर्थ उहाँहरु लाग्नुहुन्न भन्ने मेरो ठमाइ होे ।

अदालतको मानहानी वा अवहेलनाको मुद्दा सिडिओलाई मात्रै लाग्ने हो की सुरेन्द्र भण्डारीलाई पनि लाग्नुपर्ने हो ?

सुरेन्द्र भण्डारीलाई त अहिले नै लाग्नुपर्ने हो । त्यसमा एक त उहाँले सर्वोच्चको निर्णय अदालतको फैसला अवहेलना ग¥यो भनेर लाग्नुपर्ने हो तर हामीले यस्ता कुरामा अब किन तान्ने भनेर त्यता लागेनौं । हाम्रो उद्देश्य पाटी बनाउने हो र त्यो हामी अहिले बनाइरहेका छौं तर अब फेरि धेरै दुख दियो भने हामी त्यता पनि लाग्नुपर्छ तर अहिलेसम्म हामी लागेका छैनौं ।

तपाईंले समय फल्चा पाटी बनाउँदा नगरपालिकाबाट नक्सा पास गरेर वैधानिक रुपमा बनाएको घरलाई जाने बाटो दिनु पदैन ?

त्यो वैधानिक होइन त्यो अवैधानिक हो । वैधानिक भएको भए पहिला महानगरपालिकाबाट गरेको निर्णयमा उसले त्यसको विरुद्ध जान्थ्यो होला नि । जिल्ला अदालत गयो उच्च अदालतमा गयो वैधानिक नभएको कारण हा¥यो । त्यस्तै सर्वोच्चले पनि वैधानिक नभएकोले हरायो नि त । र उसले यहाँ नक्सा पेस गरेको सन्दर्भमा पूर्वतर्फ जब कित्ता नम्बर ३२७ क्षेत्रफल एक आना एक दामको जग्गा नेपाल सरकारको नाममा दर्ता हुदाँहुँदै त्यहीबाटो प्रयोग गरेर उसले नक्सा पास गर्न त मिलेन नि । उसले नक्सा पास गर्न पूर्वतर्फ बाटो नै छैन । बाटो भनेको दक्षिण तर्फ लाछी जाने त्यहाँ १२÷१३ फिटको बाटो छ । त्यही नै बाटो हो । उसले बाटो पनि खोलेकै छ । भविष्यमा म यहीबाट जानुपर्छ भनेर खोलेको त होला नी । अहिले पूर्वतिर बाटो पाउन उसले जुन रोइकराई गरेको छ । आफूसंग भएको साम दाम दण्ड भेद जति प्रयोग गरेको छ त्यो सब असफल भयो नि त । कारण पूर्वतिर बाटो छैन । नक्सा पासमा पनि छैन । अझै अर्को कुरा सम्पदा क्षेत्रमा बेसमेन्ट बनाउन पाइदैन । अन्डरग्राउन्ड बनाउन पाइँदैन तर उसले बनाएको छ । उसले अनैतिक रुपमा बनाएको छ । पहिला कसरी बनाउन दियो भनेर हेर्न बाँकी नै छ ।

 

अब यो धेरै नै मात्तिएर हामीलाई दुख दियो भने सम्भवत हामीले त्यता पनि हेर्नुपर्ने अवस्था आँउछ । सम्पदा क्षेत्रको वरिपरि त्यसरी बेसमेन्ट बनाउन पाइदैन । अन्डरग्राउन्ड बनाउन पाइँदैन । जग्गा पासमा त्यो बेसमेन्ट छैन पूर्व तर्फ बाटो छैन । र उत्तर तर्फको अशोक स्तुपा तिर पनि उसको भित्तामा पानी पर्यो भनेर ¥यापिङ गरेको (सिसा लगाएको ) त्यो पनि अवैधानिक हो । त्यसैले उसले धेरै अवैधानिक काम गरेका छन् त्यता तिर गसकेका छैनौं । अब यो जुन पाटी बनाउने छौं अब यसमा हामीलाई उसले दिनु दुख दियो तर हामीले पाटी बनाउने काम सकेका छैनौं अब सिध्याउने छौं । तर उसले त्यही रफतारमा दुख दिन खोजेमा हामीले उसले गरेका कुकर्महरु अझै धेरै छन् त्यता लाग्नेछौं ।

यो भन्दा बढी तपाईंहरुसंग अझ द्धन्द र दुख बाँकी छ र ?

म जनप्रतिनिधी हुँ । महानगरपालिकाको मेयर मैलै एउटै व्यक्तिलाई हामीले जुन उद्धेश्य राखेर अगाडि बढेका थियौं अब त्यो उद्धेश्य प्राप्त हुने अवस्थामा हामीले त्यस्तो रिस पाल्नु हुन्न भन्ने मान्यता म राख्छु । त्यसैले अहिले जुन प्रोजेक्ट सफल हुँदैछ त्यसलाई सफल पार्न उसले जेजति दुख दियो त्यसको कारण हाम्रो टोल छिमेकमा सबै एक्यबद्धता रुपमा लाग्न सफल भए तसर्थ अब उसले यो भन्दा धेरै दुख दिने अवस्था त छैन होला । तरपनि छ सात पटक मुद्धा त हाल्यो नै र असफल भयो । हामीले यति काम त गरेका छौं त्यसैले अब हामी उसलाई दुख दिईस् तलाईपनि भने बदला लिने कुरामा त हामी छैनौं ।

काठमाडौंमा दुरदराज बाट आएर त्यसरी काम गरेको मान्छेलाई जातिय विभेद हुनेगरी तपाईहरुले स्थानिय एकजुट भएर तर्साएको धम्काएको भन्ने कुरा पनि छ नि ?

जहाँसम्म यो हामीलाई नलगाउनु पर्ने आरोप लगाउन खोजिएको मात्रै हो । हाम्रो नियत उहाँलाई दुख दिने हायल कायल पार्ने होइन । हाम्रो नियत भनेको सम्पदा समय् पाटी हो यो मैले अगाडि पनि निवेदन गरे हामीले ७० वटा पाटी बनायौँ यो ७१ औं पाटी हो । हामीले यस्तो किसिमको काम गर्दा उहाँले किन रोक्ने र उहाँले बनाउन नदिन जुन दुख हामीलाई दिनु भयो त्यो कारणले सबै एकताबद्ध हुन बाध्य भएको हो । यदि सरासर बनाउन दिएको भए उहाँ सबैको प्यारो हुनुहुन्थ्यो होला तर उहाँले ध्रुवसत्य कुरामा पनि यस्तो कुरा गर्दै हुनुहुन्छ त्यसैले सबै टोलबासीहरुको चित्त दुख्यो र सबै एकजुट भएर यो काम गरेको हो तर यसलाई उहाँले सबै मिलेर दुख दियो भन्न पाउनु हुन्न । हामीले अराजक काम त केही गरेका छैनौं । कित्ता नम्बर ३२७ छ । सर्वोच्चको निर्णय छदैँछ जिल्लाको निर्णय छदैँछ । महानगरपालिकाको निर्णय छदैँछ । हामीले निर्णय विपरित कुनै काम गरेको हो भने उहाँले भन्नुपर्छ । तपाईंले यस्तो किसिमको नहुने काम गर्नुभयो भन्न सक्नुपर्यो नि । उहाँमा भन्न सक्ने ल्याकत क्षमता छैन । तसर्थ हामीले जे गरेका छौं त्यो कानुन संवत विधि संवत नियम संवत र सम्पदा संरक्षणका लागि गरेका छौँ ।

 

 

स्थानिय जनता सडकमा आएका छन् । भोलि त्यो अप्रिय घटना भए के गर्ने ?

त्यो अप्रिय घटना हामीबाट घट्दैन । उहाँको तर्फबाट घटन् सक्छ । किनभने हामीले सिलान्यास गर्ने भनेर जुनबेला हामी बस्यौँ तर स्टे अर्डर आएपछि रद्द गरेका थियौं तर प्रचार प्रसार धेरै भैसकेको र हामीले सबैलाई रद्द भयो भन्न नसक्दा जमघट भयो यहाँ जमघट हुदाँ अप्रिय घटना घट्ला जस्तो भयो । श्री लालीगुराँसको कर्मचारी र सबैलाई मैदानमा उतारेको थियो भनेपछि त्यहाँ घटना होला जस्तो देखियो । स्थानियले मेयरसाब् ! दायाँबाँया केही भयो भने हामीलाई नै नराम्रो हुन्छ तपाईं आएर मिलाइदिनु भन्नु भयो । म आइपुगेँ र त्यहाँको अवस्था हेर्दा राम्रो थिएन । त्यसैले सबैलाई बुझाउने गरी भाषण गरेँ । शिलान्यास रोकेको भनेर बताएँ । हाम्रो तर्फबाट त्यस्तो हुन्छ भन्ने मलाई लाग्दैन तर उहाँले नहुने गर्नुभयो । उहाँहरुले नराम्रो कुरा केही गर्दा टोलकालाई चित्त दुख्ला त्यतिबेला नराम्रो हुन सक्छ ।

अशोक स्तुपा नजिकै सहकारीको भवन रहँदा सम्पदा ऐन आकर्षित हुँदैन ?

त्यसमा पनि मुद्धा छ । टुङ्गो लागेको छैन । अब टुङ्गो लागेबमोजिम त बान्छनिय नै हुन्छ । अब यो पनि प्रतिक्षामा छ हेर्नैपर्ने छ । एउटा सर्वोच्चमा छ । उहाँहरुले नै दायर गर्नुभएको । उहाँले प्रोजेक्सन निकालेर ८÷९ इन्च जग्गामा ऐनाले छोपिएको छ । आफ्नो जती जग्गा छ त्यसको उत्तर तर्फ उहाँले अकुपाई गरेको छ । त्यहाँ गारो लगाइएको छ । तर फेरी त्यहाँको ८÷९ ईन्चको प्रिटेक्सन निकालेर कबर गरेको छ, त्यसको विरुद्धमा मकहाँ ठूलो डेलिगेसन आएको थियो । सो डेलिगेसनमा हामीले ललितपुर महानगर क्षेत्रका कहलिएका राजनितिज्ञहरु थिए । पुर्वमेयर लगायतका विभिन्न अहोदामा रहेका व्यक्तिहरु आउनुभएको थियो । उहाँहरु आउनुभएपछि मुद्धा पर्यो, मुद्धा परेपछि सहकारीले हा¥यो तर उनले हारिसकेपछि पनि तात्कालिन अवस्थामा उच्च अदालतबाट जानुभोे, तर फेरी त्यो फाईल उहाँले सर्वोच्चबाट झिक्नुभयो । तर सर्बोच्चले फैसला गरीसकेको छैन, त्यो मुद्धा अझैँ बाकीँ नै छ ।

तपाईले भिष्मप्रतिज्ञा गरेर फल्चा निर्माण सुरु गर्नुभयो, तपाईं संलग्न भएको पाटी (नेपाली कांग्रेस)कै मान्छेहरुले घेराबन्दी गरे भन्ने सुनियो नी ?

होइन । अहिले त्यो नाम नतोकौँ । म जसरी हुन्छ काम हुनुपर्छ भन्ने मनसायका मान्छे हुँ, त्यसको नतिजा देखिनेगरी काम होस् भन्ने चाहन्छु, त्यसकारण अहिले हामीले जुन काम गरिराखेका छौँ, त्यसको काम भईरहेको छ । तर यो लालीगुराँस बहुउदेश्यिय सहकारी संस्थाका सिईओ सुरेन्द्र भण्डारी यस्तो किसिमको चलखेल गर्ने, मान्छे जुटाउँन फुटाँउन, गलत गलत विश्लेषण गर्न सिपालु रहेछन्, तसर्थ हाम्रा नेपाली कंग्रेस खेमाका नेतागण देखि लिएर जिल्लाको नेतागणसम्म र कार्यकर्ताहरुसम्म उहाँले पहुँच राखेको थाहा छ । जसरी उहाँले मलाई प्रभाव पार्न चलखेल र हारगुहार गर्नु भएको छ, त्यसले मलाई कुनैपनि प्रभाव परेको छैन । नेपाली कंग्रेसका थुप्रै केन्द्रीय सदस्यहरुलाई पनि भेटेँ, मैले एक दुई जना नेताहरुलाई बेस्मरी गाली पनि गरेँ, ‘तपाई जस्तो पाटीको जिम्मेवार सदस्यले यस्तो बदमास्, फटाह, चर्तुयाई गर्ने, धुर्त मान्छेको पक्ष लिएर मलाई आदेश गर्ने ?, तपाईको यो आदेश मानेँ भने त मैले भोली यो क्षेत्रबाट कुनै पनि चुनाव जित्न सक्दिनँ, त्यसैले यस्तो आदेश नगर्नुस् ।’

 

उहाँहरुको आदेश के थियो ?

‘सुरेन्द्र भण्डारी नेपाली कंग्रेसकै एउटा कार्यकर्ता हो, हामीलाई बैंकिङ क्षेत्रमा उहाँले सहयोग गर्नु हुन्छ । उहाँको सहकारीको बाटो नै बन्द हुनेगरी काम नगर्नुस्, उहाँलाई काम गर्ने वातावरण बनाईदिनुस्,’ भन्ने आदेश दिएका थिए तर मैले उहाँहरुलाई सुरेन्द्र भण्डारीको फट्याईका श्रृङ्खलाहरु सबै भनिदिएँ । कुनैपनि हालतमा उहाँलाई बाटो दिन सक्ने अवस्था छैन, उहाँको बाटो भनेको दक्षिणतिर लाछि जानेतर्फ नै उहाँको मुल बाटो त्यही हो, नक्सा पनि त्यही हिसाबले पास भएको छ । सरकारी जग्गा कित्ता नम्बर ३२७ तय भएको छ, त्यसकारण उहाँको लागि धेरै पहल नगर्नुहोला,’ मैले यसो भनेपछि त्यसपछि उहाँहरु पनि केही बोल्न सक्नु भएन ।

अहिले बनीरहेको समय् फल्चा ३८ साल अघिको स्थान भन्दा अझै अगाडी बन्यो भन्ने छ नी ?

यसमा चाहीँ त्यति डिटेलमा गएनौँँ । किनभने श्री लालिगुराँसको सुरेन्द्र भण्डारीको चहना के हो भने, ‘यो चिरिबाबु महर्जन नभएको अवस्थामा कसैलेपनि बनाउन आँट गर्दैन, यसको म्याद सक्किन लागेको छ । अब ९ महिना बाकीँ छ, अबको यो ८÷९ महिनामा आलटाल गरेर दिन कटाउन सकियो भने सहजै जितिन्छ भन्ने ठानेको छ तर त्यो लालिगुराँसको भवन जुन कित्ता नम्बर ४५६ मा बनेको छ । त्यो भवनले फल्चाको जमिन अतिक्रमण गरेकै छ । त्यसको मुख्य पिल्लर जुन त्यो पिल्लर पनि बढ्दो होला, अहिले मैले ठ्याक्कै भन्न सक्ने अवस्था छैन । तर अब त्यतातिर गयो भने यो सम्पन्न हुन अझै समय लाग्छ । कित्ता नम्बर ३ सय २७ मा उहाँको जुन बाटोहरु थिए, त्यो भर्याङ हामीले भत्कायौं, त्यस्तै ललिगुँरासको मुख्य प्रवेशद्धार पनि भत्कायौं र मुख्य गारो छ त्यसलाई पनि भत्काउने हो भने देखि सबै जान्छ, तसर्थ हामी त्यता तिर गएनौँ ।

पाटीको छानो बढाउने हो भने त भवनको सिसाहरु समेत फुटाउनु पर्ने देखिन्छ । त्यसलाई के गर्ने गर्ने विचार गर्नुभएको छ ?

हामीले एकतर्फी छानो लगाउने बिचार गरेका छौँ । पुर्वतर्फ पानी झर्ने तरिकाले बनाएका छौ, पस्छिम तर्फ फर्काउदैनौ । तर बनाउँदै जाँदा पस्चिम तर्फको जुन गारो छ त्यसलाई सुहाउँदो त बनाउनु पर्यो नि हैन र ? र पछि बनाउँदै जाँदा पाटीको उचाई अनुसार बढाउँदै जादाँ जहाँसम्म बनाउँनुपर्ने हुन्छ त्यो सबै भाग भत्काईन्छ र भत्काउनै पर्छ ।

 

अन्त्यमा हामीले सोध्न छुटाएका र तपाईले भन्न चाहेका केही छ त ?

पाटी बनाउने सन्दर्भमा भन्नुपर्ने खासै केही छैन तर मलाई दुःख लाग्छ की, यस्तो धेरै प्रमाण भएको, अदालतले समेत प्रमाणित गरेको र स्थानिय जनताले समेत बनाउनुपर्छ भन्ने मानसिकताले निमार्णकार्य भईरहको कुरामा पनि नेतागणहरुले प्रभाव पर्न खोजेको देखियो, त्यसको नेक्सस के हो भन्ने कुराले पिरोल्छ । जनताको पक्षमा बोल्नुपर्ने नेतागणहरुले यस्तो झुटो व्यक्तिको पक्ष लिएको देख्दा मन वास्तवमै पिरालेको छ ।

 

उहाँहरुले यसरी प्रभावीत पर्नुहुन्न भन्ने मेरो भनाई हो । तपाईहरुले मलाई प्रभावमा पार्न सक्नुहुन्न । म प्रभावित हुने मान्छेपनि होइन । मैले यहाँले भनेजस्तै भिष्मप्रतिज्ञा गरेकै हुँ, हामी सबै स्थानियवासी, वडावासी र टोलबासीहरु मिलेर उपभोक्ता समिति गठन गरेका छौँ । जसको अध्यक्ष रोविन महर्जन हुनुहुन्छ । सुरेन्द्र साक्य, सामाजिक अभियान्ता बालकृष्ण महर्जन लगायतका टोलका दाजुभाई दिदि बहीनिहरुले जसरी यसमा सहयोग गर्नुभएको छ । यो राम्रो कुरा हो, तसर्थ पनि यो काम सफलिभूत हुने बिन्दुमा पुगेको हो ।

 

सम्बन्धित खबर