काठमाडौं । नेपालको सुरक्षा निकायका उच्च अधिकारीहरु कतिसम्म दुरुपयोग हुन्छन् भन्ने पछिल्लो उदाहरण हुन् एआइजी सन्दिप भण्डारी ।
मलेशिया जान लागेका हतियार बोक्ने म्यानपावर दलाल रघु पुरीलाई विमानस्थलको भिआइपी कक्षमा पुर्याउन पुगेका भण्डारीबारे थप तथ्य फेला परेको छ । उनले अर्का एक विवादास्पद व्यक्तिलाई पनि सँगै विमानस्थलको भिआइपी कक्षको दुरुपयोग गरेको खुलेको छ । उनले मलेशियामा रहेर अवैध हुण्डीको कारोबार गर्दै आएका रणधिर सिंहलाई पनि पुरीसँगै विमानस्थलको भिआइपी कक्षबाटै मलेशिया यात्राको सहजीकरण गरिदिएको खुलेको हो ।
तस्विरमा देखिएको एआइजी भण्डारीको दायाँ तर्फ रहेका व्यक्ति रणधिर सिंह हुन् । उनी मलेशियाबाट नेपालमा हुण्डीको अवैध कारोबारको नाइके हुन् । प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामासँग विवाह गरेका उनले एआइजी भण्डारीलाई विभिन्न उपहार दिने गरेको समेत खुलेको छ । यसअघि विमानस्थल प्रहरी प्रमुख रहँदा देखि नै भण्डारीले मलेशियामा रहेर हुण्डीको कारोबार गर्ने रणधिर सिंहसँग निकटता बढाएका थिए । उनै सिंह र पुरीलाई पुर्याउन उनी केहीदिन अघि विमानस्थल पुगेका थिए । विमानस्थलको भिआइपी कक्षको दुरुपयोग गर्नु भएछ नी भन्ने दियोपोस्टको प्रश्नमा उनले उक्त कक्ष भिआइपी नभएको बताएका थिए । तर, विमानस्थल स्रोतसँग यो तस्विर भिडाउँदा उक्त कक्ष भिआइपी नै रहेको पाइयो । एआइजी भण्डारीले संचार माध्यम मार्फत आम जनतालाई समेत झूट बोलेको पुष्टि भएको छ ।
सैनिक हवाई उड्डयन ऐन, २०१५ अनुसार पर्यटन मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भिआइपी कक्ष प्रयोग गर्ने व्यक्तिहरुको सुची राजपत्रमा प्रकाशित गरेको छ । मापदण्ड अनुसार भिआइपीको सुचीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री÷सरकार प्रमुख, प्रधानन्यायाधीश, सभामुख, पूर्वराष्ट्रप्रमुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख÷उपसभामुख, राज्यमन्त्री छन् ।
त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञाप्रतिष्ठानका कुलपति÷उपकुलपति, सर्वाेच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, सहायक मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख तथा सदस्य, महान्यायाधिवक्ता, मुख्यसचिव, प्रधानसेनापति, संसद्का महासचिव, उच्च अदालतका मुख्य न्यायाधीश, योजना आयोगका सदस्य, गभर्नर, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीले पनि भिआइपी कक्ष प्रयोग गर्न पाउँछन् ।
यसबाहेक नेपालस्थित विदेशी राजदूत, नेपाली राजदूत, सार्कका महासचिव, सर्वाेच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, पुनरावेदन अदालतका न्यायाधीश, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक, सुरक्षा निकायका विशिष्ट श्रेणीका कर्मचारी र राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिका सदस्यसचिवले भिआइपी कक्ष प्रयोग गर्न पाउने उल्लेख छ ।
निर्णयमा नभए पनि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुखलाई पनि भिआइपी कक्ष प्रयोग गर्न दिने गरिएको छ । तर, भण्डारीले प्रहरीको बर्दिको आडमा भिआइपी कक्षको दुरुपयोग गर्दा समेत गृहमन्त्रालयले कुनै कारबाही गर्न सकेको छैन ।
भण्डारीले हातहतियार खरखजनाका अभियुक्त समेत रहेका द रिभर ओभरसिजका मालिक समेत रहेका पुरीलाई विमानस्थलको भिआइपी कक्षसम्म पुर्याएको तस्विर फेला परेको थियो ।
तत्कालिन अपराध अनुसन्धान महासाखाका प्रमुख धिरज प्रताप सिंह (पछि प्रहरी महानिरिक्षक)ले पुरीसहित विभिन्न व्यक्तिबाट अवैध हतियार जफत गरेको थियो । उनको साथबाट जिएिसजी ५ नामक सर्ट गन फेला परेको थियो । अर्धस्वचालित रहेको यो हतियार बोक्ने पुरीबाट शान्ति सुरक्षामा खलल पुगेको आरोप थियो ।