
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका अभिव्यक्तिमा जबाफ दिएका छन् ।
माओवादी अध्यक्ष दाहालले केही समयअघि प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको आरोप लगाएका थिए।
भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै ‘चिनियाँ कार्ड’ को आरोप लगाएका हुन्।
‘हाम्रो स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा गर्दै विदेश नीतिलाई सन्तुलित गर्छौं। कतिले के-केन व्यवसाय भेट्टाएजस्तो गरेर, पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो..! कस्तो हुन्छ परिपक्व भनेको? कता जानुपर्ने? धर्मशास्त्रमा लेखेको छ कि, संविधानमा लेखेको छ कि, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनुभयो, यी बाहियात र कायर कुराहरू हुन्!,’ प्रधानमन्त्री ओलीले भने।
अध्यक्ष दाहालको उक्त अभिव्यक्तिलाई लक्षित गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार दरबारमार्गको जागरण सभाबाट जबाफ दिएका हुन्।