काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी आज अनावरण गरिएको छ । धरहरा परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका हुन्।
क्यानले सार्वजनिक गरेको उक्त ट्रफीको सबैभन्दा माथि एउटा ढुंगा देखिन्छ । यही ढुंगाले सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ ।
क्यानका अनुसार, ट्रफीमा राखिएको ढुंगा सगरमाथा क्षेत्रस्थित कालापत्थरको हो । क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुंगा राखिएको प्रस्ट पारे । उनले यो ट्रफीले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनले बताए।
आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका थिए। ट्रफी अनावरण कार्यक्रममा उनीहरुलाई खादा ओढाएर सम्मानसमेत गरिएको छ।
एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि सुरु भई पुस ६ गते सम्पन्न हुने छ।